arrow

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित भारतमा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
prachanda-india-visit-2080-02-17.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको पाँच महिनापछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा गएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएको केही दिनमा भारतले नक्सा जारी गरेको भए पनि नेपालले त्यो विषयमा कुनै एजेण्डा तय नगरी प्रधानमन्त्री भएको पाँच महिनापछि उनी पहिलो पटक भारत भ्रमणमा गएका हुन् । 

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमार्फत प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन् । प्रचण्डसँगै भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित भारत जानेछन् ।  भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो । 

तर प्रधानमन्त्रीसँग जानेहरुको संख्या ११५ नाघ्ने स्रोतले बताएको छ । ४७ जनाभन्दा बढी पाहुनाको खर्च भारतले नव्यहोर्ने भएको छ । भारत भ्रमणमा जानेमध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रिपरिषदले स्वीकृत गरेको छ । उनीहरुमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् । 

प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल, निजी चिकित्सक युवराज शर्मा भारत जाने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एकएक जना सुरक्षा गार्ड पनि प्रधानमन्त्रीको टीममा परेका छन् ।  

मन्त्रिपरिषद्ले ५ जना मन्त्रीको भ्रमण स्वीकृत गरेको थियो । कृषिमन्त्री बेदुराम भुसाल थपिएको स्रोतले बतायो । भ्रमण टोलीमा समावेश मन्त्रीहरुमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुषाल रहेका छन् ।

मुख्यसचिव शंकरदास बैरागी टोलीमा रहने छन् । भ्रमण टोलीमा समावेश ८ सचिवहरुमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका दिनेशकुमार घिमिरे, गृह मन्त्रालयका दिनेश भट्टराई, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मधुकुमार मरासिनी, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका गोविन्द शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केशव शर्मा, वन तथा वातावरण मन्त्रालयका रेवतीरमण पौडेल रहेका छन् ।

के छ कार्यक्रम ?

प्रचण्ड बुधबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका एक जना राज्यमन्त्रीलगायत विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नेछन् । 

विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड सिधै भ्रमण दलका लागि बस्न तय गरिएको होटल आईटीसी मौर्य पुग्नेछन् । त्यहीँ बुधबार नै प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री मोदीको खासगरी छिमेक नीतिमा मन्त्रीकै हैसियतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल निर्णायक मानिन्छन् । बुधबार नै भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पनि सोही होटलमै प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्ने कार्यतालिका रहेको छ । 

त्यसपछि उनी बुधबार साँझ दिल्लीस्थित नेपाली राजदूतावास पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री प्रचण्डको सम्मानमा दूतावासले ‘रिसेप्सन’ आयोजना गरेको छ । जहाँ प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका प्रवासी नेपालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने । 

भ्रमणको दोस्रो दिन अर्थात् जेठ १८ गते बिहीबार भने प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । मोदीसँग बिहीबार दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

हैदराबाद हाउसमा हुने औपचारिक भेटवार्ता बिहान ११ बजेका लागि तय भएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहानै महात्मा गान्धीको समाधी स्थलमा श्रद्धाञ्जली अर्पण गर्न जाने कार्यक्रम बनेको छ ।

प्रधानमन्त्री प्रचण्डकाका प्रेस सल्लाहकार गोविन्द आचार्यले मोदीसँग बिहान ११ बजे भेट तय भएको बताए । उनले मोदीसँगको भेटमा दुई पक्षीय र बुहपक्षीय वार्ताहरू हुने बताए । हैदराबाद हाउसको दुई पक्षीय वार्तापछि त्यहीँ संयुक्त पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले सम्बोधन गर्ने कार्यक्रम पनि बनेको छ ।

संयुक्त सम्बोधनपछि मोदीले प्रधानमन्त्रीको सम्मानका लागि दिवा भोजको आयोजना गर्नेछन् । त्यसपछि बिहीबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । 

बिहीबार साँझ प्रधानमन्त्री दाहालले होटल मौर्यमै नेपाल र भारतका उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम बनेको छ । 

भ्रमणको तेस्रो दिन शुक्रबार भने प्रधानमन्त्री प्रचण्ड भारतको मध्यप्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको दर्शन र इन्दोर शहरको भ्रमणमा निस्कने छन् । दिल्लीबाट करिब डेढ घण्टाको उडान दूरीमा रहेको इन्दोरमै त्यसदिन प्रधानमन्त्री प्रचण्डले रात बिताउने तयारी छ। 

भारतको सबैभन्दा सफा शहरको रुपमा चिनिने इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई फोहरमैला व्यवस्थापनबारे जानकारी दिने कार्यक्रम तय भएको छ । 

शनिबार इन्दोरबाट दिल्ली आएपछि विमानस्थलबाटै प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्केने तय भएको छ । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा रक्सौल–वीरगञ्ज–सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल हुने भएको छ ।

विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि नेपालले भारतीय पक्षसँग प्रधानमन्त्रीको भ्रमणका क्रममा जोड दिने तयारी गरेको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए ।

 

SAVE_20230531_131308 (1).jpg
SAVE_20230531_131244 (1).jpg
SAVE_20230531_131125.jpg
SAVE_20230531_131323 (1).jpg
SAVE_20230531_131109 (1).jpg
SAVE_20230531_131118 (1).jpg
SAVE_20230531_131058 (1).jpg
SAVE_20230531_131341 (1).jpg
SAVE_20230531_131207 (1).jpg
SAVE_20230531_131129 (1).jpg
SAVE_20230531_131118.jpg
SAVE_20230531_131308.jpg
SAVE_20230531_131244.jpg
SAVE_20230531_131109.jpg
SAVE_20230531_131129.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ