arrow

कोशी प्रदेश

सबैभन्दा बढी जनसङ्ख्या मोरङमा, कम तेह्रथुममा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
population-2078-final-nepal.jpg

कोशी ।  कोशी प्रदेशको मोरङमा सबैभन्दा बढी र तेह्रथुममा सबैभन्दा कम जनसङ्ख्या रहेको छ । 

कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै यस्तो विवरणमा देखिएको हो । 

प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या मोरङमा ११ लाख ४८ हजार एक सय ५६ जना छन् भने सबैभन्दा कम जनसङ्ख्या तेह्रथुममा ८८ हजार सात सय ३१ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो र तेस्रो धेरै जनसङ्ख्या भएका जिल्ला हुन् भने कम जनसङ्ख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ क्रमशःदोस्रो र तेस्रो स्थानमा छन् ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसङ्ख्या ४५ लाख ३४ हजार नौ ४३   थियो । जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको सङ्ख्या दुई हजार नौ सय २८ (शून्य दशमलव शून्य एक प्रतिशत) मध्ये प्रदेशमा यसको १० दशमलव चार प्रतिशत छ ।

प्रदेशमा वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ८५ प्रतिशत छ । जसमा झापामा सबैभन्दा बढी एक दशमलव ९७ प्रतिशत र सबैभन्दा कम खोटाङ छ । जनगणनाअनुसार प्रदेशको कूल जनसङ्ख्याको ६२ दशमलव आठ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् भने १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लोको उमेर समूहका जनसङ्ख्या क्रमशः २६ प्रतिशत र ११ दशमलव दुई प्रतिशत छ ।

प्रदेशमा पाँच वर्ष वा सोभन्दा बढी उमेर समूहको कूल जनसङ्ख्यामा ७९ दशमलव सात प्रतिशत साक्षरता रहेकोमध्ये पुरुषको ८६ दशमलव एक प्रतिशत र महिला ७३ दशमलव छ प्रतिशत छ ।

 प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको सङ्ख्या ३० दशमलव तीन प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ (५१ दशमलव २८ प्रतिशत) छ भने पुरुष २४ लाख १७ हजार तीन सय २८ (४८ दशमलव ७२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशमा ५३ दशमलव चार प्रतिशत परिवारले खाना पकाउन काठ÷दाउराको प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । खाना पकाउन एलपी ग्यास, गुइँठा, बायोग्यास, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवाको क्रमशः ४१ दशमलव दुई, तीन दशमलव चार, एक दशमलव तीन, शून्य दशमलव पाँच, शून्य दशमलव शून्य चार र शून्य दशमलव दुई प्रतिशत छ ।

जनगणनाअनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार पाँच सय ५६ परिवारमध्ये ३० दशमलव नौ प्रतिशत परिवारको मूली महिला छन् । जुन अघिल्लो जनगणनाको तुलनामा चार दशमलव छ प्रतिशत बढी छ ।

प्रदेशका कूल जनसङ्ख्याको दुई दशमलव चार प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेकोमध्ये पुरुष ५३ दशमलव नौ प्रतिशत र महिला ४६ दशमलव एक प्रतिशत छन् ।

प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने २० दशमलव एक प्रतिशत, एसइई वा सोसरह उत्तीर्ण गर्ने ११ दशमलव तीन प्रतिशत र एसइईभन्दा माथिल्लो तह उत्तीर्ण गर्ने १६ दशमलव सात प्रतिशत छन् । 

प्रदेशमा पाँच वर्ष वा सोभन्दा कम उमेरका कूल चार लाख ६२ हजार छ सय २५ जना बालबालिकामध्ये ७० दशमलव आठ प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २९ दशमलव दुई प्रतिशतको जन्मदर्ता नभएको देखिन्छ ।

प्रदेशमा पहिलो विवाह गर्दाको औसत उमेर २० वर्ष रहेको छ । जसमा पुरुषको २२ वर्ष र महिला १९ वर्ष छ । प्रदेशमा विद्युत् प्रयोग गर्ने परिवारको सङ्ख्या ९३ दशमलव सात प्रतिशत छ । जुन २०६८ को जनगणनामा यस्तो सङ्ख्या ६५ दशमलव आठ प्रतिशत थियो । प्रदेशमा स्मार्टफोन भएका परिवार ७४ दशमलव दुई प्रतिशत रहेको छ भने साधारण मोबाइल फोन भएका परिवार ७२ दशमलव छ प्रतिशत छ ।

महिलाका नाममा घर वा जग्गा वा दुवै हुने परिवारका सङ्ख्या २८ दशमलव चार प्रतिशत छ । जुन २०६८ को तुलनामा शून्य दशमलव पाँच प्रतिशत बढी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ