arrow

बागमतीका १३ जिल्लामा १८ हजार गाईमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
lumpy-virus-cow.jpg

बागमती ।  बागमती प्रदेशभित्र पर्ने १३ जिल्लामा संक्रामक विषाणुजन्य रोग लम्पीस्किनबाट पहिलो चरणको तथ्याङ्कबाट १८ हजार तीन सय २४ गाईमा संक्रमण भएको पाइएको छ । देशभर फैलिएको लम्पीस्किन रोग गाई र भैँसीमा देखापरेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको जनाइएको छ ।

बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार प्रदेशमा सबैभन्दा बढी मकवानपुरमा देखिएको बताए । मकवानपुरमा चार हजार आठ सय ३५ वटा गाईमा उक्त रोग देखापरेको छ भने एक सय ९७ गाईको मृत्यु भएको डा पाण्डेले बताए । 

सिन्धुली जिल्लामा नौ हजार छ सय ३४ संक्रमण र ४७ को मृत्यु, रामेछापमा एक हजार नौ सय ६५, चितवनमा एक हजार ६० वटा गाईमा उक्त रोगको संक्रमण भएको सचिव पाण्डेले बताए । उनका अनुसार प्रदेशको रसुवा र दोलखाका रोग पुष्टि नभएकाले संक्रमित सङ्ख्या शून्य रहेको छ भने धादिङको विवरण मन्त्रालयमा आइनसकेको बताए ।

हालसम्म गाईमा मात्र संक्रमण भएको र भैँसीमा उक्त रोग संक्रमण नभएको सचिव पाण्डेले बताए । काठमाडौँमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा छ र भक्तपुरमा एक गाईमा लम्पीस्किन रोग देखापरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मकवानपुरको सबैभन्दा बढी मकवानपुरगढी गाउँपालिका, मनहरि गाउँपालिकासहित अन्य पालिकामा संक्रमित पाइएको छ । रोगबाट पशुमा हुने मृत्युदर कम (करिब पाँच प्रतिशत) भए पनि दुहुना पशुको दूध उत्पादनमा उल्लेख्य ह्रास (८० प्रतिशतसम्म) हुने भएकाले कृषकलाई ठूलो आर्थिक क्षति पुगेको सचिव पाण्डेले बताए ।

मन्त्रालयले रोग नियन्त्रण गर्न रोगको कारण, लक्षण, यसबाट कृषकमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामबारेमा कृषक र सबै सरोकारवालामाझ जनचेतना फैलाउनुका साथै रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशीघ्र सुरु गर्न जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइसकिएको सचिव पाण्डेले बताए ।

हाल मकवानपुर जिल्लाको मकवानपुरगढी गापा वडामा नं ५ मा एक हजार पाँच सय डोज खोप लगाउने कार्य सञ्चालन भइरहेको छ र रोगग्रस्त क्षेत्रमा गई तत्काल निःसंक्रमण, उपचारलगायतका नियन्त्रणका कार्य सञ्चालन गर्न तत्काल रोग नियन्त्रण समिति बनाई कार्य अघि सारिएको उनले बताए । उनका अनुसार रोग नियन्त्रण र रोकथाम कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले केही दिनभित्रै लम्पीस्किन डिजिज नियन्त्रण र रोकथाम रणनीति, २०८० तयार गरी कार्यान्वयन गर्ने तयारीमा मन्त्रालय रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ