arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

'सानालाई कारबाही ठूलालाई हाइहाइ बन्द गर' भन्दै मुगुमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
mugu-birodh.JPG

मुगु । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका र अनुसन्धानमा आउन बाँकी रहेका सबैलाई कारबाहीको माग गदै मुगुमा प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासङ्घ मुगु शाखा र नागरिक समाजको अगुवाइमा सोमबार भ्रष्टाचारी माथि कारबाही र विभिन्न प्रकरणका दोषीमाथि कारबाहीको माग गदै सोमबार प्रदर्शन गरिएको हो । 

भ्रष्टाचारीलाई कारबाही गर, ठुला साना भनी कारबाहीमा विभेद नगर, भ्रष्टाचारीको लिङ्ग हुँदैन । प्रधानमन्त्री गृहमन्त्री अघि बढ हामी तिम्रो साथमा छौ, सानालाई कारबाही ठुलोलाई हाइहाइ बन्द गर, ठुला ठुला आयोजना र विकासमा अनियमितताको खोजी गर, सार्वजनिक भएका विभिन्न काण्ड, अनियमिततामा कारबाही अघि बढाउ जस्ता नारा लेखिएका कार्ड बोकेर प्रदर्शनकारीहरूले गमगढी बजार परिक्रमा गरेका थिए ।

सहभागीहरूलाई सम्बोधन गदै नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लले भष्टचारले देश दलदलमा फसेको र अहिलेको आर्थिक सङ्कट आउनुको मुख्य कारण पनि देशमा भष्टचार धेरै भई भ्रष्टाचारीहरूले पैसा घर विदेशमा थन्काएको बताए । 

विभिन्न समयमा अडियो, भिडियो र सहित चर्चा परिचर्चा भएर भष्टचारका दर्जनौँ प्रकरण बाहिर आए पनि कारबाही र अनुसन्धान गर्ने निकाय मौन बसिदिँदा ती काण्ड हराउने गरेको बताउँदै अब ती सबै काण्डमाथि सरकार र मातहतका निकायले अनुसन्धान र कारबाही अघि बढाउनु पर्ने कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ मुगु शाखाका उपाध्यक्ष दान बहादुर बुढाले बताए ।

र्‍यालीमा सहभागी पत्रकार नन्द बहादुर रोकाया नेपाल सरकार, गृह मन्त्रालय , प्रशासन, सुरक्षा निकाय, सम्पत्ति शुद्धीकरण आयोग, अक्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतले जिल्ला देखि केन्द्रसम्मका ठुलो योजनामा अनियमितता बारे सूक्ष्म अनुसन्धान गरि दोषी जो सुकै भए पनि कारबाहीको भागीदार बनाउनु पर्ने बताए।

देशमा एक पछि भष्टचारमा उच्च पदस्थ कर्मचारी र राजनीतिज्ञहरू संलग्न भएका तथ्य बाहिर आई रहँदा कहीँ कतैबाट उनीहरूको संरक्षण नहोस् र उन्मुक्ति नपाओस् सरकार तथा गृह प्रशासनले स्वतन्त्र रूपमा काम गर्न पाओस् भनेर दबाब तथा ऐक्यबद्धता जनाउन नेपाल पत्रकार महासङ्घ मुगु शाखा र नागरिक समाज मुगुको आयोजना र्‍याली निकालिएको नेपाल पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

यसैबीच सोमबारै विपक्ष दल नेकपा एमाले निकट अनेरास्वियु र राष्ट्रिय युवा सङ्घ नेपाल मुगुको आयोजनाका भ्रष्टाचार विरुद्ध नारा लगाउँदै र्‍याली निकालिएको थियो । युवा सङ्घ मुगुका अध्यक्ष नेत्र जङ्ग रावलको अगुवाइमा भएको प्रदर्शनमा एमाले निकट भातृ सङ्गठन, कार्यकर्ता र शुभचिन्तकहरूको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ