arrow

राशिफलको विश्वसनीयता र सामाजिक सञ्जाल

logo
भरतमणि ज्ञवाली,
प्रकाशित २०८० वैशाख ३० शनिबार
article-bharatmani-gyawali-rashifal.jpg

दैनिक सञ्चारमाध्यममा आउने राशिफलमा हरेक पाठकको नजर पुगेकै हुन्छ । सामाजिक सञ्जाल लतार्दै गर्दा आउने राशिफल प्रायः मानिसको चासोमा रहन्छ । वैदिक परम्परा भएका होउन् या पश्चिमा संस्कृतिका होउन् राशिफल साझा चासोको विषय बनेको पाइन्छ । 

बाहिर कुरा गर्दा आफूलाई विश्वास नभएको भन्दै गरे पनि समय पाउँदा अविश्वास मै किन नहोस् हरेक मानिसले ध्यान दिएकै हुन्छ । आखिर के छ त्यो राशिफलमा जसले मानिसको ध्यानाकृष्ट गर्छ ? राशिफलले भनेजस्तै हुन्छ या भ्रममात्र हो त ? यस्ता कुरा प्रायः चर्चामा आइरहन्छ । 

ज्योतिष विज्ञानले ग्रहहरुको संचारका आधारमा समयलाई ३६० डिग्रीमा विभाजन गरेको छ । ग्रह नक्षत्रहरुको भचक्रलाई ३६० डिग्री मान दिएर त्यसलाई तीस तीस डिग्रीमा विभाजन गरी १२ राशि बनाइएको छ । यो एउटा समग्रताको विभाजन हो । जसमा संसारका सबै प्राणी र बस्तु समेटिएको हुन्छ । 

एउटा राशिभित्र पनि नक्षत्रहरुको भूमिका हुन्छ । नक्षत्रभित्र पनि पदको विभाजन गरिएको छ । यसरी त्यही ३६० डिग्रीलाई १०८ भागमा विभाजित गरिएको छ । अब एउटा राशिमा ३० अंश हुन्छ । प्रत्येक अंशमा ६० कला हुन्छ । प्रत्येक कलामा ६० विकला हुन्छ । यसलाई मसिनो गरी हेर्ने हो भने एक राशिमा १८०० कला हुन्छ भने विकलामा पुगेर हेर्दा १ लाख ८ हजार विकला हुन्छ । एक कलामा एक जना जन्मिएको मान्ने हो भने एउटा राशिभित्र १ लाख ८ हजार फरक–फरक कलाका मानिस जन्मिने भए । 

एउटा राशिको कालचक्रभित्र कोही मरिरहेको हुन्छ भने कोही जन्मिदै गरेको हुन्छ । एउटालाई सुखद अवसर आइरहेको हुन्छ भने अर्कोलाई दुःखद अवसरको सामना गर्नु परिरहेको हुन्छ । झट्ट हेर्दा दुवैको एउटै राशि हुन्छ तर घटना फरक । यसलाई केलाएर हेर्ने हो भने राशिको निर्धारण गर्ने चन्द्रमाका आधारमा हो । 

चन्द्रमा निकै द्रूत गतिको ग्रह हो । यसले एक राशि सवा दुई दिन अर्थात् ५४ घण्टामा यात्रा गरिसक्छ । यसलाई सेकेण्डमा हेर्ने हो भने पनि १ लाख ९४ हजार ४०० सेकेण्ड हुन्छ । अब एक एक सेकेण्डको फरकमा जन्मने मानिसको जीवन पनि समान हुँदैन । यही समयको फरकका आधारमा ग्रहहरुको प्रभाव पनि फरक फरक हुन्छ । समय अर्थात् काल हरेक जीवको फरक फरक हुन्छ । 

राशिफलको सन्दर्भमा कुरा गर्दा हामीले एउटा चन्द्रमालाई आधार मानेर दैनिक फलादेश गर्ने गरिन्छ । यो केबल समग्रतामा समेटिएको हुन्छ । फेरि चन्द्रमा एक राशिमा सवा दुई दिन रहँदा त त्यति अवधिको एउटै हुनुपर्ने हो भन्ने पनि लाग्न सक्छ । तर त्यसो हुँदैन किनकि चन्द्रमाले यो समयमा तीन वटा फरक फरक नक्षत्रमा भ्रमण गर्छ । 

एक नक्षत्रमा एक दिन गोचर या भ्रमण गर्ने भएकाले नक्षत्रका आधारमा दैनिक फल निकालिने गरिन्छ । निकै थोरै समयको अन्तरमा पनि ग्रहहरुको फरक फरक प्रभाव पर्ने हुनाले राशिफलमा आउने थोरै कुरा सबैका लागि समान हुँदैन । तर समग्रमा हेर्दा केही न केही समानता हुने हुनाले राशिफलले धेरैलाई तानिरहेको हुन्छ  ।

ज्योतिष विज्ञानका अनुसार हरेक मानिसको जन्मको समयमा हुने ग्रहहरुको प्रभाव जस्तै सूर्य, चन्द्र, बृहस्पति, शनि लगायतका ग्रहहरु र नक्षत्रहरुको पृथ्वीमा पर्ने प्रभावका आधारमा साना ठूला घटनाहरु बताउने काम राशिफलको हो । 

समग्रमा भनिने राशिफल केहीका लागि मिल्छ तर जन्मका आधारमा गरिने व्यक्तिगत घटनाका लागि यो अत्यन्तै सटिक पनि हुनसक्छ । चन्द्रमालाई केन्द्रमा राखेर १२ राशिहरुको विषयमा गरिने भविष्यफल या राशिफललाई समग्रताको हिसाबले बुझ्न जरुरी छ । चन्द्रमाको गति र स्थितिका आधारमा समग्र राशिहरुमा पर्ने फरकफरक घटना र प्रभावहरु समेटिएको हुन्छ । व्यक्तिगत जन्मका आधारमा राशिफल तयार गर्ने चलन पनि आएको छ । यदि आफ्नो जन्म समयका आधारमा विज्ञ ज्योतिषीबाट राशिफल तयार गराउने हो भने त्यो नितान्त फलदायी हुन्छ ।

राशिफल चन्द्रमाका आधारमा अर्थात् नामका आधारमा हेर्ने गरिन्छ । नामका आधारमा राशि तय हुने भएकाले त्यसो गरिन्छ तर पछिल्लो समयमा मानिसहरुले नामकरण पद्धतिमा शुद्धता खोज्न हेलचेक्र्याई गर्ने गरेका कारण अर्थात् आफैँ नाम राखिदिने भएका कारण राशिफलमा सटिकता नहुन सक्छ । पूर्वीय राशिफल नाम राशि अर्थात् चन्द्रमाको आधारमा गरिन्छ भने पश्चिमाहरु सूर्यका आधारमा राशिफल तयार गर्छन् । 

जुन महिनाको जन्म हो त्यही महिनालाई राशि मानेर राशिफल तयार गर्छन् । चन्द्रमा एक नाम अक्षरमा जम्मा ६ घण्टा रहने हुनाले बढी सटिकता आउँछ । ग्रहहरुको संचारका आधारमा फरकफरक प्रभाव पर्ने भएकाले जन्म समयको सही जानकारी जरुरी छ । ग्रहहरु नक्षत्रमा भ्रमण गर्ने र नक्षत्रका स्वामी ग्रहहरु फरक फरक हुने भएकाले तत्तत् ग्रहको कारकतत्वका आधारमा फल निर्धारण गरिनु अनिवार्य हुन्छ । 

कुनै एउटा राशि र त्यसको अंश हेरेर ग्रहहरुको अवस्था र अंशको तुलना गरी फल निर्धारण हुने भएकाले हरेक ग्रहको सामान्य कारकतत्व जानकारी राख्नुपर्छ । सामान्य रुपमा सूर्य आत्माको कारक हो । यसले उर्जा उत्पादन गर्छ । आत्मसम्मान, पराक्रम, पिताको अवस्था, मुलुकको राजा, व्यक्तिको राजासँगको सम्बन्ध जस्ता कुरा सूर्यको अवस्थाबाट थाहा हुन्छ । ग्रहहरुमा मुख्य ग्रह यसैलाई मानिन्छ । व्यक्तिको जन्म समयमा सूर्य जति बलवान छ व्यक्ति सबल हुन्छ । सूर्य सबै ग्रहहरुको केन्द्रमा छ भने यो हाम्रो शरीरमा पनि मस्तिष्कको बीचमा छ भन्ने शास्त्रमा उल्लेख पाइन्छ ।  

चन्द्रमा हाम्रो मनको कारक हो । चन्द्रको द्रूत गति र हाम्रो मनको गति उत्तिकै छ । जल तत्वको प्रतिनिधित्व ग्रह चन्द्रमा आमाको कारक हो । सूर्य पिता, चन्द्रमा माता यी दुई ग्रहको अवस्था हेरेर माता पिताको अवस्था थाहा पाउने कला ज्योतिष शास्त्रमा छ । यसले हरेक व्यक्तिको जीवनभरको ग्रहहरुको सम्बन्ध तय गर्छ अर्थात् दशा निर्धारण पनि चन्द्रमाले गर्छ । 

मनको कारक चन्द्रमा भएकाले मानिसको मनस्थिति अर्थात् मानसिक अवस्था पनि चन्द्रमाको अवस्था अनुसार नै हुने गर्छ । मानसिक रोगी या मनोचिकित्सक चन्द्रमा कै अवस्थामा भरपर्छ । पाप प्रभावमा भएको चन्द्रमाले मनमा सधै अवसाद सिर्जना गर्छ । डिप्रेसन या मनोरोगी बनाउँछ ।

लडाइँ, झगडा, युद्ध तथा हिम्मत, साहस, पराक्रम, भूमि भवन जस्ता कुरा मंगल ग्रहको अवस्थाबाट थाहा पाउन सकिन्छ । मंगल सकारात्मक अवस्थामा छ या नकारात्मक अवस्थामा छ भन्ने आधारमा फलकथन गरिन्छ । रगतको कारक मंगल हो । 

व्यक्तिको प्रवृत्ति, अचल सम्पत्ति, भाइ, दाम्पत्य जीवनमा यसको प्रत्यक्ष असर हुन्छ । राशिफलमा मंगलको स्थिति विशेष हेरिनुपर्छ । आत्मा, मन, साहस पछि बुद्धिको स्थान महत्वपूर्ण हुन्छ । विद्या, बुद्धि, तार्किक क्षमता, शिक्षा, व्यापार जस्ता कुरामा बुधको भूमिका रहन्छ । बुधको अवस्थाका आधारमा बौद्धिक क्षमता, चातुर्यता तथा मामाको स्थिति थाहा हुन्छ । मानिस बुद्धिले चल्ने भएका कारण अरु ग्रहहरुले सकारात्मक प्रभाव दिँदा दिँदै पनि स्वयम्को बुद्धिले गलत बाटो लाग्ने खतरा बुधको अवस्थाले निर्धारण गर्छ । 

सन्तान, भाग्य, ज्ञानको अवस्था, धर्म, अर्थ, परोपकार जस्ता विषयको निर्धारण गुरु अर्थात् बृहस्पतिले गरेको हुन्छ । शैक्षिक अवस्थाको कारक बुध हो भने ज्ञानको कारक गुरु हो । व्यक्ति कति धर्मात्मा छ, सन्तान कस्ता छन् । भाग्य कति बलवान छ भन्ने गुरुको बलका आधारमा बताउन सकिन्छ भने सम्पदा कति छ ? घर, गाडी, सुविधा या विलासिताको बस्तु कत्तिको उपलब्धता छ ? प्रेम सम्बन्ध तथा दाम्पत्य जीवन कस्तो भन्ने कुरा शुक्र ग्रहको अवस्थाबाट प्रष्ट हुन्छ । दुःख अवसाद, मृत्यु, मेहनत, न्याय जस्ता विषयलाई शनि ग्रहले नियन्त्रण गरिरहेको हुन्छ । 

यिनै ग्रहहरुको कारकतत्वलाई आफ्नो जन्म समयका ग्रहहरुको अवस्थाका आधारमा गहन अध्ययन विश्लेषणपछि गरिने फलादेश या राशिफल सत्य हुन्छ । यति हुँदा हुँदै पनि शतप्रतिशत सुख, आनन्द, या शतप्रतिशत दुःख, पीडा भने कसैलाई हुँदैन । केही सुख या केही पीडा सबैका जीवनमा हुन्छ । मानिस जन्मँदा तय भएका ग्रहहरु र अहिले गोचरमा भएका ग्रहहरुको तालमेलका आधारमा फल निर्धारण हुन्छ । ग्रहले आफ्नो प्रभाव कहिले कुन समयमा देखाउँछ भन्ने दशा, अन्तरदशाबाट प्रष्ट हुन्छ । सुक्ष्मातिसुक्ष्म अवस्थाको अध्ययन गरेर सुक्ष्मातिसुक्ष्म घटनाको निर्धारण गर्न सकिन्छ ।

सामाजिक सञ्जालमा आएका सतही कुरामा विश्वास गरेर जीवनमा ज्योतिषीय साक्षात्कार नगर्दा जनजीवनमा नकारात्मक प्रभाव बढिरहेको छ । युट्युब, टिकटक, फेसबुकमा गरिने ज्योतिषीय चर्चाले समाजमा भ्रम सिर्जना गरेको छ । 

सुक्ष्मातिसुक्ष्म विश्लेषण बिना भ्रामक कुराहरुको प्रचारबाजीले ज्योतिषीप्रति समाजमा नकारात्मकता बढाइरहेको छ । समाजको आँखा मानिएको ज्योतिषीय क्षेत्रलाई भ्रामक बनाइएकाले अहिले समाज दिग्भ्रमित भएको छ । राज्य, सरकार र जनजीवनमा नकारात्मकता बढिरहेको छ । वैदिक सनातन परम्परा लोप हुँदै गएको छ । यस्तो अवस्थामा नेपाल सरकार, संस्कृति मन्त्रालय, पञ्चाङ्ग निर्णायक विकास समिति तथा ज्योतिषीय संस्थाहरुले विशेष पहल गर्नु जरुरी छ । (लेखक ज्ञवाली दक्षिण एसियाली ज्योतिष महासंघका सहमहासचिव हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ