arrow

सम्पादकीय

सरकारले किन्तु परन्तु नभनी क्रिकेटमा लगानी गरोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
acc-premier-cup-winner-nepal-2023-05-03.jpg
तस्बिर– कीर्तिपुर मैदानमा एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेपछि नेपाली टिम ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिनानुदिन प्रगति गर्दै गइरहेको छ । एक दिवसीय मान्यता कायम राखेको र विश्वकप एक दिवसीय क्रिकेटको छनोटमा सिधै छानिएको एक महिनामै एसिया कपमा पनि छानिएर खेलाडीहरुले नेपाललाई विश्वसामु चिनाउन थप मद्धत गरेका छन् । 

मंगलबार त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईलाई हराएर नेपाल एसिया कपमा छानिएको हो । हुनत नेपाल सन् २००२ मै एसिया कपमा छानिएको भए पनि त्यतिबेला भारत र पाकिस्तानबीच चलिरहेको कारगिल युद्धका कारण नेपालले खेल्न पाएन । अहिले भने एसीसीको उपाधि जितेरै छानिने अवसर पाएको छ । 

यो अवसरलाई नेपालले भरपूर प्रयोग गर्न सक्छ । त्यतिमात्र हैन विश्व क्रिकेटले नै नेपालको पछिल्लो प्रदर्शनलाई लिएर निकै चासोका साथ हेरिरहेको छ । नेपाली खेलाडीहरुले एकसे एक प्रदर्शन गरिरहेका छन् । भारतीय मुख्य प्रशिक्षक मोन्टि देसाईले खेलाडीहरुको क्षमतालाई निकै सूक्ष्म ढङ्गले अवलोकन गर्दै त्यसको भरपूर प्रयोग गरेका छन् । 

खेलाडीहरु आफूले पाएको भूमिकालाई निकै कौशलपूर्वक निभाइरहेका छन् । मोन्टिले खेलाडीहरुमाथि गरेको प्रयोग यतिसम्म सफल भएको छ कि अब खेल जिताउने खेलाडी मैदानमा उत्रेका ११ मध्ये जुनसुकै पनि चम्किन सक्छ । 

जसरी मोन्टिले नेपाली खेलाडीहरुको क्षमता बुझेका छन् त्यसरी नै सरकारले क्रिकेट बुझ्नु जरुरी छ । पञ्चायतकालमा खेलकुदलाई मनोरञ्जनको साधनको रुपमा लिइएको भए पनि खेल व्यवस्थापन गर्न उनीहरु सिपालु थिए । बहुदल आएपछि त्यतातर्फ सरकार लागेन । लोकतन्त्र आएपछि त झन् अव्यवस्थित नै भएको छ । 

खेलकुद बुझेका र नबुझेका सबै समूह नै सामाजिक सञ्जालमा दौडिरहेका छन् । एउटा सानो उपलब्धि हासिल गर्दा पनि सामाजिक सञ्जालमा बधाइ दिनेको लर्को लाग्ने गर्छ । पछिल्ला केही महिनालाई मात्रै केलाएर हेर्ने हो भने पनि प्रधानमन्त्रीदेखि लिएर दशका शीर्ष नेताहरु र युवा नेताहरुले क्रिकेटमा खुवै चासो दिएको पाइन्छ । 

तर क्रिकेटको व्यवस्थापनमा भने कहिँ कतै जोड दिएको पाइँदैन । खेलाडीहरुले कसरी खेलिरहेका छन्, उनीहरुलाई कसरी अझ बढी सशक्त बनाउन सकिन्छ भन्ने जस्ता विषयमा सरकार मौन छ । त्यतिमात्र होइन धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्नका लागि एक आपसमा प्रतिस्पर्धा गराउनु जरुरी छ भन्ने विषयमा पनि व्यवस्थापनले सोचेको छैन । 

अर्कातर्फ अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदानहरु नभएसम्म आफूभन्दा ठूला देशहरु आएर क्रिकेट खेल्दैनन् वा ठूला प्रतियोगिताहरु आयोजना गर्न पनि सम्भव छैन भन्ने कुराको ख्याल सरकारले गरेको छैन । 

आफूले चाहँदा जस्तासुकै नहुने कार्यहरु पनि सरकारमा भएका बेलामा गर्ने तर विश्वलाई चिलाउने खेललाई छायाँमा पारेर राजनीति गर्ने परिपाटी रोकेर अब क्रिकेटमा धेरै भन्दा धेरै लगानी गर्नुको विकल्प सरकारसँग छैन । 

पर्यटन उकास्न बालुवामा पानी खन्याएजसरी सरकारले लगानी गरेको तीतो सत्य छँदैछ । तर अन्तर्राष्ट्रिय स्तरका ठूला दुई वटा क्रिकेट मैदान बनाउने हो भने दक्षिण एसियाका राष्ट्रहरुलाई मात्रै ल्याएर प्रतियोगिता गराउँदा पनि नेपालको पर्यटनले चमत्कारी शैलीमा गगन चुम्न सक्छ भन्ने व्रह्म ज्ञान हाम्रा विज्ञहरुलाई नहुनु दुर्भाग्य नै हो । 

अब किन्तु परन्तु केही नभनी अहिले सरकारले गम्भीर भएर सोचोस् र क्रिकेटमा लगानी गर्ने वातावरण बनाओस् । विश्वमै सबैभन्दा बढी क्रिकेटमा लगानी भारतमै भइरहेको छ भने भारतसँग क्रिकेट विकासका लागि राम्रो सहकार्य गरोस् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाली क्रिकेटको विकास पनि एउटा एजेन्डा बनोस् । 

तर ख्याल रहोस् प्रस्ताव गर्नु र एजेन्डा राख्नुमात्र ठूलो कुरा होइन । बुझेर, जानेर यस विषयलाई अगाडि बढाइयोस् । यस्तो नहोस् कि प्रधानमन्त्री प्रचण्डको गत मार्च १७ को ट्वीटर स्टाटस जस्तो । प्रधानमन्त्रीको अफिसियल ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्नुभएको छ ।’

यसबाट के बुझ्ने ? फ्लटलाइट हैन फ्लडलाइट हो । अनि क्रिकेटको ‘डे–नाइट म्याच’ मा मात्र फ्लडलाइटको प्रयोग हुन्छ । यहाँ दिनमै खेल्ने अन्तर्राष्ट्रिय मैदानको अभावमा अहिले फ्लडलाइट किन ? अनि राखेपले पनि यसको जवाफ केही दिन सकेन । त्यसैले त खेलकुदलाई सम्झेर, बुझेरमात्र अगाडि बढौँ । 

तत्काल कीर्तिपुर मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति गरौँ । दर्शकलाई बस्ने प्यारापिटको ब्यवस्था गरौँ । अनि चितवन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण यथासक्य चाँडो पूरा गरौँ । 

सरकारलाई क्रिकेटमा अब त लगानी गर्नैपर्छ भन्ने वातावरण बनाइदिने राष्ट्रिय क्रिकेट टिमलाई धेरै धेरै बधाइ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ