arrow

एसीसी प्रिमियर कप

आज नेपालले एसिया कप क्रिकेटको ढोका खोल्ने दिन

यूएईले ९ विकेटको क्षतिमा १०६ रनबाटै अगाडि खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
tu-cricket-ground-raining-audience.jpg

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलको बाँकी इनिङ्स अहिले बिहान ९ बजेदेखि शुरु हुँदैछ । हिजो नेपाल र यूएईबीच त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेल दुई पटकसम्म वर्षाले रोकिएपछि पूरा हुन पाएको थिएन । 

उक्त खेलको बाँकी इनिङ्स अहिले बिहान ९ बजेदेखि हुन लागेको हो । हिजो वर्षाले खेल रोकिनुपूर्व यूएईले पहिले ब्याटिङ गर्दै २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनमात्र बनाएको थियो । आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । 

नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए । 

आज बिहान यूएईले ९ विकेटको क्षतिमा १०६ रनबाटै अगाडि खेल्नेछ । 

नेपालले सनसनीपूर्ण बलिङ गरेकाले यूएईलाई जतिसक्यो छिटो अलआउट गर्दै आफूले पाएको चुनौती पूरा गर्ने आशासहित मैदानमा उत्रने छ । 

आजको मौसम पनि त्यति सहज छैन । तर जति समय खेल्न पाइन्छ त्यसको नेपालले भरपूर फाइदा उठाउनु पर्नेछ । किनकि नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ । 

एसिया कपको ढोका खोल्ने दिन
यो खेल जित्दा नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाउनेछ । एसिया कपमा यो प्रतियोगिता जित्ने टिमले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने पाउनेछ । 

यसकारण नेपाल निकै नै उत्साही रहेको छ । यूएईले भने यसअघि दुई पटक एसिया कप खेलिसकेको छ । त्यसकारण पनि नेपालले एसिया कपमा डेब्यु गर्नका लागि यो खेलमा नतिजा ल्याउनु पर्ने हुन्छ । 

नेपाललाई एसिया कप खेल्नका लागि आजको दिन जत्तिको महत्वपूर्ण र सहज केही पनि हुने छैन । 

पानी नै परे के हुन्छ ?
शुरुआतमा त खेल निर्धारित कार्यक्रमअनुसार नै चल्नेछ । तर वर्षाले खेल हुन पाएन भने अन्तिम समयमा सुपरओभरबाट निर्णय हुन्छ । 

त्यो पनि हुन सकेन भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसीय वरीयताअनुसार विजेता घोषणा गरिने छ । वरीयताअनुसार नेपालको १४ औँ र यूएईको १९ औँ वरीयता छ । 

यो अर्थमा नेपाललाई फाइदा छ । जताबाट पनि नेपाललाई उपाधि जित्ने सुनौलो अवसर छ । 

हिजोको खेलमा बलरले कमालको बलिङ गरिसकेका छन् । अब कमालको ब्याटिङ पनि हुने आशा गर्न सकिन्छ । 

यस्तो छ यूएईको इनिङ्स– 
यूएईले ३.१ ओभरमा १७ रन बनाउँदा पहिलो विकेट गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए । 

यूएईले ४.५ ओभरमा २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए । 

यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे । 

यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे । 

यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

यूएईले २२.५ ओभरमा ९० रन जोड्दा छैटौं विकेट गुमाएको छ । बसिल हमिद १० रन बनाएर आउट भएका छन् । उनलाई गुल्सन झाले आउट गरे ।  

यूएईले २५.४ ओभरमा १०३ रन जोड्दा सातौं विकेट गुमाएको छ । आयान अफ्जल खान ५ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् । 

यूएईले २७।२ ओभरमा १०६ रन जोड्दा आठौं विकेट गुमाएको छ । आसिफ खान सर्वाधिक ४६ रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिएका हुन् । 

यूएईले २७।३ ओभरमा १०६ रन जोड्दा नवौं विकेट गुमायो । जहुर खान डकआउट भएका छन् । ललित राजवंशीले विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ