arrow

एसीसी प्रिमियर कप

उपाधि भिडन्त नेपाल र यूएईको, निर्णय मौसमको

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
acc-final-nepal-uae1.jpg

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । फाइनलमा नेपाल र यूएई खेल्दैछन् । 

नेपाल र यूएई चिरपरिचित प्रतिस्पर्धी हुन् । विश्वकप लिग २ मा नेपाल र यूएईबीचको खेल भएको थियो । जसमा नेपालले शानदार प्रदर्शन गरेपछि यूएईलाई विश्वकप छनोटमा सिधै छानिनबाट रोकेको थियो । तर यूएई प्लेअफबाट भने छानिन सफल भएको छ । 

यूएईले लगातार खेलिरहेकाले फर्ममा देखिएको छ । फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुवै टिम आपसमा राम्रोसँग कमजोरी र सशक्तपन दुवैबाट परिचित छन् । 

घरेलु मैदान र १२ औँ खेलाडी (दर्शक) को अपार समर्थनले नेपाल घरेलु मैदानमा जहिले पनि बलियो नै हुने गरेको छ । 

कसरी पुगे दुवै टिम फाइनलमा ?

सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि समूह विजेताको हिसाबले नेपाल फाइनलमा पुगेको हो । वर्षाका कारण ४२ ओभरमा झारिएको खेल पनि पूरा हुन नपाएपछि अन्ततः नेपाल समूह विजेताको हिसाबले फाइनलमा पुगेको हो । 

४२ ओभरमा झारिएको खेलमा नेपालले आफ्नो इनिङ्स पूरा गरे पनि कुवेतले ८.३ ओभरमात्र खेलेपछि खेल अगाडि बढ्न नसक्दा नेपाल फाइनलमा पुगेको हो । नतिजा आउन कुवेतले कम्तीमा २० ओभर खेल्नुपर्ने थियो । 

तर आधा पनि खेल्न नपाएपछि बाहिरिन पुग्यो । नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने समूह बी बाट उपविजेता कुवेत अन्तिम खेलमा हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको थियो । 

यता, यूएई ओमानलाई हराएर फाइनलमा पुगेको हो । ओमानविरुद्धको खेल वर्षाले अवरुद्ध भएसँगै डकवर्थ लेविस नियमअनुसार यूएई २ रनले विजयी भएको हो । 

मूलपानी क्रिकेट मैदान (एमसीजी) मा भएको खेलमा ओमानले २३७ रनको चुनौती पछ्याइरहँदा वर्षा हुँदा डक वर्थ लेविस नियमले २ रनले यूएईले जित्यो । ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाएपछि पानी परेको थियो । 

फाइनलमा मौसम निर्णायक
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्मै वर्षा हुने सम्भावना छ । जसका कारण खेल सहजै ५० ओभरको हुनेमा शंका छ । सोमबार बिहान पनि समयमै खेल शुरु हुने छैन । किनकि मैदान गिलो छ । 

वर्षाको सम्भावना उत्तिकै छ । महाशाखाले मंगलबार पनि वर्षा हुने जनाएसँगै सोमबार खेल नहुँदा मंगलबार रिजर्भ डे हो । मंगलबार पनि खेल सम्भव हुन्छ । 

त्यतिमात्र हैन अन्तिममा सुपर ओभरबाट पनि निर्णय गर्न सकिन्छ । सुपर ओभर भने बढीमा दुई ओभरसम्मको हुनेछ । 

तर त्यो सुपर ओभरबाट निर्णय हुने सम्भावना पनि नरहे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरीयताका आधारमा निर्णय हुनेछ । आईसीसी वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । अन्तिम आधारमा निर्णय हुँदा नेपाल उपाधि विजेता हुनेछ । 

यो अवस्थाबाट गुज्रिरहनु पर्दासमेत नेपालले पहिलो पटक एसिया कप खेल्ने लगभग पक्काजस्तै देखिन्छ । तर क्रिकेटमा भविष्यवाणी गर्नु उचित हुँदैन । त्यसैले पनि परिणाम भने जे पनि हुन सक्छ । 

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् ।

तेस्रो स्थान ओगटेको ओमानले नेपाल र यूएईसँगै टेष्ट मान्यताप्राप्त एसियाली राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाको यू–२३ टिमसँग एसीसी इमर्जिङ कप खेल्नेछन् । 

मौसमले उत्साह कम प्रतिक्षा बढी 
फाइनल भनेसँगै सबैको प्रतिक्षा मैदानको भिडन्तमा हुनुपर्ने हो । तर मौसमका कारण उत्साह कम प्रतिक्षा बढी भएको छ । प्रतिकूल मौसमले त्यो जोश र जाँगर खाइदिएको हो । 

सवाल एउटै छ कि मौसम सफा भए ५० ओभरको खेल हुनेछ । दुवै टिमले आफ्नो प्रतिभा देखाउने छन् । सुपर ओभरमा खेल गए जे पनि हुन सक्छ । सुपर ओभरको ६ बलमा जस्तोसुकै पनि परिणाम आउन सक्छ । त्यसैले दुवै टिम त्रासमा छन् । खेलै नभए नेपाल भाग्यमानी ।

खासमा कीर्तिपुर मैदानमा दर्शकको चिच्याहटबीच नेपाली टोली जित हासिल गर्दै एसिया कपमा जान चाहन्छ । त्यसले मान र प्रतिष्ठा पनि बढाउँछ । यसका लागि खेलाडीहरुलाई मुख्य प्रशिक्षक मोन्टि देसाईले तयार पारेर राखेका छन् । 

तर जसरी नेपालले यसअघिका दुई खेल पूरा खेल्न पाएन वर्षाकै कारण त्यसले भने निराशा बनाएको छ । 

समूह चरणको एक खेलमा नेपाल मैदानमा उत्रनै पाएन भने सेमिफाइनल पनि कुवेतविरुद्ध पूरा हुन पाएन । 

फाइनलसमेत पनि खेल्न नपाउँदा भने पक्कै निराशा छाउने छ । खेलाडीहरु ब्याट र बल चलाएरै आफ्नो ल्याकत देखाएर एसिया कपमा जान तयार देखिएका छन् । 

नेपाल–यूएई आपसी भिडन्त 
नेपाल र यूएईबीच पछिल्लो समय निकै खेल भए । छ महिनाको अवधिमा दुवै आपसमा भिड्न लागेको सोमबार आठौँ एक दिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । 

नोभेम्बरमा नेपालले घरेलु मैदानमा यूएईसँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो । गएको महिना नेपालले यूएईसँग विश्वकप लिग २ मा चार खेल खेल्यो । दुबईमा भएको खेलमा नेपालले एकमा जित र एकमा हार बेहोर्यो । त्यस  लगत्तै काठमाडौँमा भएको विश्वकप लिग २ का अन्तिम दुवै खेलमा नेपाल विजयी भयो । 

मोन्टि देसाई प्रशिक्षक भएर आएपछि नेपालको खेल चामत्कारिक रुपले अगाडि बढिरहेको छ । पछिल्लो तीन महिनामा नेपालले खेलेका १७ मध्ये १५ खेल जितेको छ । 

नेपालले अहिलेसम्म एसिया कप खेलेको छैन । यूएईले सन् २००४ र सन् २००८ मा खेलिसकेको छ । 

त्यसो त यसपालि नेपालले एसिया कप खेल्नेमा सबै आशावादी छन् । रोचक त के भने नेपालले एसिया कप खेलेर भारतलाई हराउने आशासमेत पालेको छ । 

त्यसको कारण भनेको विगतको खेल नै हो । 

भारतको सिनियर टिमलाई हराउने नेपालको लक्ष्य 
एसीसी इमर्जिङमा भारतसँग खेल्न पाउनु नेपालका लागि नौलो होइन । उमेर समूहमा नेपालले यसअघि भारतलाई हराइसकेको छ । टेष्ट खेल्ने राष्ट्रहरुको यू–२३ टिमसँग खेल्दा पनि नेपालले भारतलाई हराउन सक्छ । 

तर नेपालको लक्ष्य भने भारतको सिनियर टिमलाई हराउनु नै रहेको छ ।  नेपालको लक्ष्य त एसिया कपमा भारतलाई हराउनु हो । यूएईलाई हराएर एसिया कपमा छानिनुपूर्व नै यो परिकल्पमा गर्नु मुर्ख्याइँ भए पनि लक्ष्य बिनाको खेलको पनि मजा हुँदैन । 

यसपालि एसिया कप खेल्न पायो भने भारतलाई हराउने ल्याकत नेपालले राख्नेछ । किनकि नेपालले भारतलाई यू–१९ एसिया कपमा हराइसकेको छ । 

मलेसियाको क्वालालम्पुरमा सन् २०१७ को नोभेम्बर १२ तारिखमा भएको एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएको थियो । 

खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रनमात्र बनाएको थियो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले १०१ बलमा ८८ रन बनाएका थिए । त्यस्तै ओपनर जितेन्द्र ठकुरीले ३६ रन बनाएका थिए । भीम सार्कीले १५ रन बनाएको इनिङ्समा त्यसबाहेक कसैले दोहोरो स्कोर खडा गरेनन् । 

जवाफी ब्याटिङमा उत्रेको भारत ४८.१ ओभरमा सबै विकेट गुमाएर केबल १६६ रनमात्र बनाउन सक्यो 

नेपालका लागि दिपेन्द्रले अलराउन्ड प्रदर्शन गर्ने क्रममा १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए । उनले दुई वटा क्याचसमेत लिएका थिए । 

पवन सर्राफ र शहाब आलमले २–२ तथा सन्दीप लामिछाने र कमल ऐरीले १–१ विकेट लिएका थिए । 

नेपालको अहिलेको सिनियर टोलीमा तिनै भारतलाई हराउने त्यो अन्डर–१९ टोलीका सदस्यहरु ऐरीसहित, आशिफ शेख, रोहित पौडेल, भीम सार्की, सन्दीप लामिछाने रहेका छन् । रोहितले कप्तानी गरिरहेका छन् । 

त्यतिबेला यू–१९ टिमको भारतीय टिमका मुख्य प्रशिक्षक थिए राहुल द्रविड । द्रविडले नेपाली टोलीसम्म पुगेर बधाइसमेत दिएका थिए । 

तिनै द्रविड अहिले भारतको सिनियर टिमका मुख्य प्रशिक्षक छन् । नेपालले एसिया कप खेल्न पाउँदा द्रविड पनि एकपटक अवश्य झस्कने छन् । किनकि उनकै पालामा नेपालले भारतलाई हराएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ