arrow

क्रिकेटको संयोग

भारतको सिनियर टिमलाई हराउने नेपालको लक्ष्य

एसीसी प्रिमियर कपको उपाधि भिडन्त सोमबार, नेपाल र यूएईबीच खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
nepal-kuwait-kirtipur-2080.jpg
तस्बिर – नेपाल र कुवेतबीच शनिबार भएको खेल ।

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल सोमबार बिहान त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । फाइनलमा नेपाल र यूएई खेल्दैछन् ।

नेपाल र यूएई चिरपरिचित प्रतिस्पर्धी हुन् । विश्वकप लिग २ मा नेपाल र यूएईबीचको खेल भएको थियो । जसमा नेपालले शानदार प्रदर्शन गरेपछि यूएईलाई विश्वकप छनोटमा सिधै छानिनबाट रोकेको थियो । तर यूएई प्लेअफबाट भने छानिन सफल भएको छ । 

यूएईले लगातार खेलिरहेकाले फर्ममा देखिएको छ । फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुवै टिम आपसमा राम्रोसँग कमजोरी र सशक्तपन दुवैबाट परिचित छन् । 

यसरी पुग्यो नेपाल फाइनलमाः सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि समूह विजेताको हिसाबले नेपाल फाइनलमा पुगेको हो । वर्षाका कारण ४२ ओभरमा झारिएको खेल पनि पूरा हुन नपाएपछि अन्ततः नेपाल समूह विजेताको हिसाबले फाइनलमा पुगेको हो । 

४२ ओभरमा झारिएको खेलमा नेपालले आफ्नो इनिङ्स पूरा गरे पनि कुवेतले ८.३ ओभरमात्र खेलेपछि खेल अगाडि बढ्न नसक्दा नेपाल फाइनलमा पुगेको हो । नतिजा आउन कुवेतले कम्तीमा २० ओभर खेल्नुपर्ने थियो । 

तर आधा पनि खेल्न नपाएपछि बाहिरिन पुग्यो । नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने समूह बी बाट उपविजेता कुवेत अन्तिम खेलमा हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको थियो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । 

कुवेतको इनिङ्सः त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा वर्षाले ४२ ओभरमा झारिएको खेलमा कुवेतलाई नेपालले २८२ रनको चुनौती दिएको थियो  । तर फेरि पनि वर्षाले खेल रोकिएसँगै नेपालले कम योगफलमै रोक्ने सपना चकनाचुर भयो । 

फराकिलो रन पछ्याएको कुवेतले ८.३ ओभरमा ३७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । तर त्यसपछि वर्षा भएपछि खेल रोकिँदा रद्द नै हुन पुग्यो । कप्तान मोहम्मद अस्लामले सर्वाधिक १४ रन बनाए । 

नेपालका लागि करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए । 

नेपालको इनिङ्सः यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो । २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा वर्षाले खेल एक घण्टा बढी समय रोकिएपछि ४२ ओभरमा झारिएको थियो ।

नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । उनले ९५ बलमा ३ छक्का र ७ चौकाको मद्धतले उक्त योगफल तयार गरेका हुन् । चौथो विकेटका लागि रोहितसँग मिलेर १०९ रनको साझेदारी गर्ने क्रममा कुशल मल्लले ४४ बलमा ४ छक्का र ४ चौकाको मद्धतले ४४ बलमा ५७ रन बनाए । 

यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए भने आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भए । पहिलो विकेटपछि लगातार तीन विकेट गुमे पनि नेपालका लागि रोहित र कुशलले उत्कृष्ट साझेदारी गरेका थिए । आरिफ शेखले १९ तथा सोमपाल कामीले ११ बलमा अविजित रहँदै १३ रन बनाए । 

ओमानलाई हराएर यूएई फाइनलमाः यूएई ओमानलाई हराएर फाइनलमा पुगेको हो । ओमानविरुद्धको खेल वर्षाले अवरुद्ध भएसँगै डकवर्थ लेविस नियमअनुसार यूएई २ रनले विजयी भएको हो । 

मूलपानी क्रिकेट मैदान (एमसीजी) मा भएको खेलमा ओमानले २३७ रनको चुनौती पछ्याइरहँदा वर्षा हुँदा डक वर्थ लेविस नियमले २ रनले यूएईले जित्यो । ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाएपछि पानी परेको थियो । कश्यप प्रजापतिले ४९ तथा जतिन्दर सिंहले ४२ रन बनाएका थिए । कार्तिक मयाप्पनले ३ विकेट लिएका थिए । 

यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनायो । कप्तान मुहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए । निशान मसूद र बिलाल खानले ४–४ विकेट लिए । 

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् ।

नेपाल र यूएईसँगै ओमानले टेष्ट मान्यताप्राप्त एसियाली राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाको यू–२३ टिमसँग खेल्न पाउने छन् । 

भारतको सिनियर टिमलाई हराउने नेपालको लक्ष्य 
नेपालले एसीसी इमर्जिङमा भारतसँग खेल्न पाउनु नेपालका लागि नौलो होइन । उमेर समूहमा नेपालले यसअघि भारतलाई हराइसकेको छ । यो प्रतियोगितामा पनि नेपालले भारतलाई हराउन सक्छ । 

तर नेपालको लक्ष्य त एसिया कपमा भारतलाई हराउनु हो । यूएईलाई हराएर एसिया कपमा छानिनुपूर्व नै यो परिकल्पमा गर्नु मुर्ख्याइँ भए पनि लक्ष्य बिनाको खेलको पनि मजा हुँदैन । 

सोमबार वर्षा भए मंगलबार रिजर्भ डे मा खेल खेलिन्छ । त्यसमा पनि निर्धारित ५० ओभरको खेल सम्भव भएन भने सुपर ओभर खेलिन्छ । सुपर ओभर पनि जम्मा दुई ओभरसम्म खेल्न सकिन्छ । त्यसबाट पनि नतिजा नआए अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरीयताअनुसार विजेता घोषणा गरिन्छ । आईसीसी वरीयतामा नेपाल १४ औँ र यूएई १९ औँ स्थानमा छ । यो अवस्था आए नेपाल विजेता हुनेछ । 

विश्वकप लिग २ को नतिजा र अहिलेको नेपालको बढेको मनोबलले नेपालले यूएईसँग हार्ने कहीँ कतै पनि सम्भावना छैन । त्यसबाहेक हुन सक्ने सम्भावनालाई थाँतीमा राखेर हेर्ने हो भने नेपालले यसपालि एसिया कप खेल्नेछ र भारतलाई हराउने छ । 

नेपालले यसअघि सिनियरतर्फको एसिया कप खेलेको छैन । तर यसपालि खेल्न पायो भने भारतलाई हराउने ल्याकत नेपालले राख्नेछ । किनकि नेपालले भारतलाई यू–१९ एसिया कपमा हराइसकेको छ । 

मलेसियाको क्वालालम्पुरमा सन् २०१७ को नोभेम्बर १२ तारिखमा भएको एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएको थियो । 

खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रनमात्र बनाएको थियो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले १०१ बलमा ८८ रन बनाएका थिए । त्यस्तै ओपनर जितेन्द्र ठकुरीले ३६ रन बनाएका थिए । भीम सार्कीले १५ रन बनाएको इनिङ्समा त्यसबाहेक कसैले दोहोरो स्कोर खडा गरेनन् । 

जवाफी ब्याटिङमा उत्रेको भारत ४८.१ ओभरमा सबै विकेट गुमाएर केबल १६६ रनमात्र बनाउन सक्यो 

नेपालका लागि दिपेन्द्रले अलराउन्ड प्रदर्शन गर्ने क्रममा १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए । उनले दुई वटा क्याचसमेत लिएका थिए । 

पवन सर्राफ र शहाब आलमले २–२ तथा सन्दीप लामिछाने र कमल ऐरीले १–१ विकेट लिएका थिए । 

नेपालको अहिलेको सिनियर टोलीमा तिनै भारतलाई हराउने त्यो अन्डर–१९ टोलीका सदस्यहरु ऐरीसहित, आशिफ शेख, रोहित पौडेल, भीम सार्की, सन्दीप लामिछाने रहेका छन् । रोहितले कप्तानी गरिरहेका छन् । 

त्यतिबेला यू–१९ टिमको भारतीय टिमका मुख्य प्रशिक्षक थिए राहुल द्रविड । द्रविडले त्यतिबेला नेपाली टोलीसम्म पुगेर बधाइ दिएका थिए । 

तिनै द्रविड अहिले भारतको सिनियर टिमका मुख्य प्रशिक्षक छन् । नेपालले एसिया कप खेल्न पाउँदा द्रविड पनि एकपटक अवस्य झस्कने छन् । किनकि उनकै पालामा नेपालले भारतलाई हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ