arrow

गण्डकीका सात स्रष्टा सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
Tirtha shrestha.jpg

पोखरा । गण्डकी प्रज्ञा-प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा यस क्षेत्रका सात स्रष्टालाई सम्मान गरिएको छ । 

कला, साहित्य, संस्कृति, सङ्गीत तथा लोकगायन क्षेत्रमा विशिष्टरुपमा योगदान पुर्याएको भन्दै प्रतिष्ठानले शुक्रबार कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । 

गण्डकी प्रज्ञा साहित्य सम्मान २०७९ बाट पर्वतका स्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संस्कृति सम्मान २०७९ बाट पोखराका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मान २०७९ बाट स्याङ्जाका स्रष्टा अम्मर गुरुङ र गण्डकी प्रज्ञा कला सम्मान २०७९ बाट तनहुँका स्रष्टा आलोक गुरुङ सम्मानित भएका छन् । 

उनीहरुलाई जनही रु एक लाख, दोसल्ला र सम्मानपत्रद्वारा उच्च अदालत पोखराका मुख्य नयायाधीश डिल्लीराज आचार्यले सम्मान गरेका हुन् । 

लोकगायिका हरिदेवी कोइराला, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदी, गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्यखड्का विखर्ची, गण्डकी प्राविधि शिक्षा तथा तालीम केन्द्रका निर्देशक डा सोमलाल सापकोटाले लगायतले उनीहरुलाई सम्मान अर्पण गरेका हुन् । 

यसैगरी गण्डकी प्रज्ञा-प्रतिष्ठान नारी सम्मान २०७९ बाट लमजुङ निवासी लोकगायिका माया गुरुङ रु ५० हजारसहित सम्मानित भएकी छन् ।

गण्डकी प्रज्ञा युवा सम्मान २०७९ बाट मोतीबहादुर कार्की र प्रज्ञा प्रोत्सहनबाट लक्ष्मी थापा सम्मानित भएका छन् । उनीहरुलाई जनही रु २५ हजारसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको छ ।   

प्रतिष्ठानका कुलपति सूर्य खड्काको संयोजकत्वमा गठित छनोट समितिले स्रष्टा छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए। 

गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ स्रष्टाको ‘बायोग्राफी’समेत तयार पारेको छ ।

परम्परागत गीत संरक्षणको र स्रष्टा स्वास्थ्य बीमा कार्यक्रमको समेत थालनी गरिएको छ । प्रतिष्ठानको स्थापना विसं २०७८ वैशाख १५ गते गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ