arrow

वर्षाले सेमिफाइनल र फाइनल रद्द भए नेपालले एसिया कप खेल्न पाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
nepal-odi-2080.jpeg

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज सेमिफाइनलका खेल भइरहेका छन् । नेपालले कुवेतसँग त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा र यूएईले ओमानसँग मूलपानी क्रिकेट मैदान (एमसीजी) मा खेलिरहेको छ । 

तर नेपाल र कुवेतबीचको खेल वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिनुपूर्व नेपालले २३.२ ओभरमा १ विकेटको क्षतिमा १४१ रन बनाएको छ । 

मूलपानीको खेल भने जारी रहेको छ । 

खेल नै रद्द भए नेपालले एसिया कप खेल्न पाउने, यस्तो छ प्रक्रिया

यदि सेमिफाइनल र फाइनल वर्षाको कारण रद्द भएमा नेपालले एसिया कप खेल्न पाउने छ । तर यसअघि विभिन्न प्रक्रिया भने पूरा भएको हुनुपर्नेछ । 

यदि आज वर्षाले खेल पूरा हुन नसके डकवर्थ लेविस पद्धति हेरिन्छ । डकवर्थ लेविस पद्धति अनुसार ५० ओभरको खेलमा चुनौती पछ्याउने टिमले २० ओभर खेलेको हुनुपर्छ । 

यदि २० ओभर पनि नखेलेको भए डक वर्थ लेविसका आधारमा नतिजा आउँदैन । 

त्यसपछि सुपर ओभरबाट नतिजा निकालिने छ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । अर्थात् दुई सुपर ओभरभित्र जित हार टुंगिनु पर्छ । यदि त्यसबाट पनि टुंगो नलागेमा समूह विजेता फाइनलमा पुग्नेछ । 

यदि त्यस्तो भएमा समूह एको विजेताको आधारमा नेपाल र समूह बीको विजेताको आधारमा यूएई फाइनलमा पुग्नेछन् ।

फाइनल खेल सोमबार हुँदैछ । एक दिन रिजर्भ डे राखिएको छ । सोमबार खेल हुन नसके मंगलबार पुनः खेल हुनेछ । 

यदि रिजर्भ डे मंगलबार पनि वर्षाको कारण नतिजा आउन नसके सुपर ओभर हुनेछ । सुपर ओभर सेमिफाइनलको जस्तै बढीमा दुई पटक हुनेछ । 

यदि सुपर ओभरबाट पनि नतिजा आउन नसके फाइनलमा एक दिवसीय वरीयतामा माथि हुने टोली विजेता घोषित हुनेछ । 

नेपालको वरीयता अहिले खेलिरहेका टिमभन्दा नेपालको माथि रहेकाले च्याम्पियन हुनेछ । 

यसरी नेपालले एसिया कप खेल्न पाउनेछ ।

यदि खेल पूरै भयो भने जित्ने टिम च्याम्पियन हुनेछ । नेपाल एक दिवसीयको १४ औं, ओमान १८ औं र यूएई १९ औं स्थानमा रहेको छ । 

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ । प्रिमियर कपको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । 

सेमिफाइनलमा पराजित हुने दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।

इमर्जिङ टिम्स एसिया कपमा भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको यू–२३ को टोली हुनेछ ।

समूह चरण

नेपाल समूह ए मा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो । कुवेतले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

समूह बी मा यूएई ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंकका साथ शीर्ष स्थानमा रहँदै विजेताको रुपमा स्थान बनाएको हो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ समूह ए को उपविजेताको कारण सेमिफाइनलमा स्थान बनाएको हो ।

एसीसी प्रिमियर कपमा १० टिमले सहभागीता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ