arrow

म्याग्दीमा दुईवटा मोटरेबल पुल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
belibridge-myagdi.jpg

म्याग्दी । मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले मङ्गला-२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका-४ फापरखेतबाट मङगला गाउँपालिका-३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो । 

पुल बनेपछि जिल्लाको मुख्य बेनी-दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मङ्गला गाउँपालिकाका-३ का वडाध्यक्ष याम रोकाले बताए । 

“पखेरको पुलले जिल्ला सदरमुकाम बेनी र पोक-माटेबगरको पुलले गाउँपालिकाको केन्द्र बाबियाचौरलाई तीन वडासँग सिधा यातायात सम्पर्क स्थापित गरेको छ”, उनले भने, “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”

बरंजाका बासिन्दालाई म्याग्दी नदी पारि रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनीबजार पुगेर ४० किलोमिटरभन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो । 

मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरंजा तथा वडा नं ५ अर्मनका दुई हजार पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

मङ्गला गाउँपालिका-५ अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भए पनि पुलबाट यातायातका साधन आवतजावत गरेका बताए । 

“म्याग्दी नदीबाट जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ”, उनले भने, “स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ ।” 

भरियामार्फत झोलुङ्गे पुल तारेर सामान वारपार गराउनुपर्ने बाध्यता हटेको छ । अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट बञ्चित थिए ।

बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको पखेरका बासिन्दा समबहादुर थापाले बताए । पुल बनेसँगै पखेरमा यसअघि प्रतिमिटर रु ४० हजारका दरले बिक्री हुने घडेरीको मूल्य बढेर प्रतिमिटर रु दुई लाख पुगेको उनले बताए । 

तीन पिलर भएको माटेबगरऔपोक ८० र चार पिलर भएको फापरखेतऔपखेर जोड्ने पुल एक सय १७ मिटर लामो छन् । दुईवटै पुल ११-११ मिटर फराकिला छन् । रङरोगन भइसकेको पुललाई जोड्ने पहुँचमार्गलाई अन्तिम रुप दिने काम भइरहेको छ ।

दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी-प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच रु २२ करोडमा ठेक्का सम्झौता भएको थियो । विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य थियो । 

निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी पुल निर्माण सकिन लागेको हो ।

विसं २०७८ माघमा फापरखेत-पखेर पुल ढलानका क्रममा फर्मासँगै पुल दबेपछि विवाद र छानबिन गर्नुपर्दा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ