arrow

प्रचण्डलाई भारतको निम्तो, बैशाख तेस्रो साता जाने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो प्राप्त भएको छ । गत सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्रीलाई भेटेर सो निम्तो दिएका हुन् । 

निम्तो प्राप्त भएपछि उनी मुलुकको कार्यकारी प्रमुख भएको पाँच महिनापछि भारत भ्रमणमा जाने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने सरकारी स्रोतले जनाएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएकाले भ्रमणमा जान लागेको हो । 

प्रधानमन्त्रीको भारत भ्रमणका लागि पूर्व अर्थमन्त्री जनार्दन शर्मा दुई साता भारतमै बसेका थिए । प्रधानमन्त्रीलाई भारत भ्रमण गराउने वातावरण बनाउने उनको योजना भएपनि सफल हुन सकेको थिएन ।

नेपालमा राष्ट्रपतिको निर्वाचनपछि भने भारतले प्रधानमन्त्रीलाई निम्तो दिएको थियो । राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए । गत आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा निम्ता दिएका हुन् । 

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिएनन्  । पछिल्लो पटक भने भारतले निम्ता दिएपछि प्रधानमन्त्री प्रचण्ड निकै उत्साहित भएका छन् । 

स्रोतका अनुसार बैशाख तेस्रो साता दिल्ली जाने भएका छन् । स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्ने भएको छ । 

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी शुरू गरेको छ ।  एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि नै प्रचण्डले भारत भ्रमण चाहेका थिए । अहिले भने भ्रमणको तयारी भैरहेको छ । प्रधानमन्त्रीको सचिवालयले पनि भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ । 

प्रधानमन्त्री प्रचण्डलाई चीनको हुनान प्रान्तमा चैत १४ देखि १७ सम्म सम्पन्न भएको कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर निम्तो दिएका थिए ।

तर उनी दक्षिणी मुलुक भारतमै जानका लागि बोआओ फोरममा सहभागी नभई बसेका थिए । प्रधानमन्त्रीले गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएलगत्तै पुस १२ मा भारतीय सञ्चारमाध्यमलाई अन्तवार्ता दिँदै आफ्नो पहिलो भ्रमण भारतबाटै हुने बताएका थिए । 

भारतीय राजदूतले निम्ता दिएपछि प्रचण्डले परराष्ट्र मन्त्री नियुक्त गरेर भारत भ्रमणमा जाने तयारी गर्न लागेका हुन् । सोही अनुसार नेपाली कांग्रेसका सांसद एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् । 

साउदले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ