arrow

हरवाचरवाको अधिकार यात्रा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार

जनकपुरधाम । नागरिक समाजका अगुवा एवं अधिकारकर्मी श्याम श्रेष्ठको नेतृत्वमा सात सदस्यीय दबाब समूह बनाउने निर्णय गर्दै मुक्त हरवाचरवाको जनकपुरधाम केन्द्रित अधिकार यात्रा सम्पन्न भएको छ । 

जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलले न्यायिक पुनःस्थापनाका केन्द्र सरकारलाई दबाब दिनका लागि श्रेष्ठको नेतृत्वमा दबाब समूह गठन गरिएको जानकारी दिए । 

दबाब समूहमा संविधानसभा सदस्य हरि श्रीपाइली, अधिकारकर्मी गणेश विक, मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनार, मुक्तकमैया समाजका अध्यक्ष पशुपति चौधरी, मुक्त कमलरीको तर्फबाट विषनीदेवी थारु र राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदा रहनुभएको छ । 

‘मुक्त हरवाचरवाको न्यायिक पुनःस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ चैत २५ गतेदेखि सप्तरीको राजविराज र पर्साको वीरगञ्जबाट एकसाथ अधिकार यात्रा सुरु भई बुधबार जनकपुरमा समापन भएको हो । 

अधिकार यात्राका क्रममा प्रदेशका आठ जिल्लाका २५ स्थानमा कोणसभा गरी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई आफ्ना मागबारे जानकारी गराइएको अधिकार मञ्चका अध्यक्ष मण्डलले बताए । 

अधिकार यात्रा समापन भएको घोषणा गर्दै अध्यक्ष मण्डलले हरवाचरवा बाहुल्य २४ वटा पालिकामा एकैदिन आगामी नीति, कार्यक्रम तथा बजेटमा लिखित सुझाव पेश गर्ने, प्रदेश सरकार मातहतको दलित विकास समितिसँगको सहकार्यमा बृहत् अन्तरक्रिया गरी प्रदेश सरकारलाई सुझाव दिने, आगामी नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाका सवाल सम्बोधनका लागि प्रधानमन्त्री समक्ष तत्काल ध्यानाकर्षण प्रस्ताव पेश गर्ने र यसरी पनि मागको सुनुवाइ नभए तेस्रो चरणको आन्दोलनअन्तर्गत जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रा गर्ने सहमतिसहित अहिलेलाई अधिकार यात्रा समापन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ