arrow

फ्ल्यासब्याकः जागते रहो

logo
कृष्ण शर्मा, 
प्रकाशित २०७९ चैत २५ शनिबार
flashback-jagteraho-krishna-sharma.jpg

सायद त्यस साँझ सूर्य डुब्न करिब एक प्रहर मात्रै बाँकी थियो । धानका खराइ अनि परालका टौवाका लामा लामा छायाँहरु जमीनको सतहबाट क्रमशः हराउँदै थिए । हामी स्कुलबाट फर्किएपछि हतार हतार खाजा खाएर गाउँको त्यो साझा खलियानमा पुगी आसपास अर्थात् लुकामारी खेल्दा खेल्दै थाक्ने उपक्रममा थियौं । 

ठीक त्यही बेला उनीहरु दक्षिणको बाटो हुँदै गाउँ पस्नुअघि हामी खेलिरहेको ठाउँमा आए । त्यो समयमा दक्षिणको गाडा हिँड्ने चौडा बाटोबाट गाउँ पस्ने अर्को निकास नभएकाले खलियान हुँदै छिर्नुको विकल्प थिएन । दिपावली पर्व भर्खर सकिएको थियो । खलियान धानका खराइ र परालका टौवाहरुले खचाखच भरिँदै थियो । 

मलाइ अझै पनि याद छ उनीहरु सबैले त्यो दिन टाउकोमा सुती कपडाको फेटा बाँधेका थिए। लामा लामा जुँगा पालेका थिए। केहीको त दाह्री पनि थियो कि जस्तो लाग्छ। गरिबीले खोपल्टिएका चाउरी परेका गालालाई केही हदसम्म उनीहरुको जुँगाले लुकाइदिएका थिए । 

केहीको हातमा बन्दुक थिए भने केहीको हातमा बाँसका लौरा अनि जुटका बोरा थिए । सबैले खरानी रंगका तर फोहर र धुलोले मैलिएका कुर्था अनि धोती लगाएका थिए । सबैका खुट्टामा सस्ता तर जीवन नै फटाल्दिने बलिया टायरका चप्पल थिए।

उनीहरुलाई देखेपछि मैले सोचेँ यिनीहरु मेरी आमाले हामी रातमा कतै नजाउँ भनी डर सृजना गराउन वर्णन गरेका डरलाग्दा पात्र अर्थात् धोकरकस हुन् । सोचाइले मात्र पनि मेरो डरको उचाइले सगरमाथा नाघ्न थाल्यो । 

मलाई लाग्यो उनीहरुले हामी सबैलाई ती जुटका बोरामा बाँधेर लैजाने छन् र भारतमा कतै बन्दै गरेको पक्की पुलको दीर्घायुका लागि बलि दिने छन् । मलाई अनायास आफ्नो मृत्यु सम्झेर रुन मन लाग्यो । 

तर ठीक त्यही बेला ती मध्येको नाइके जस्तो देखिने एक अग्लो जुँगामुठे मानिस हामी नजिकै आयो र मायालाग्दो लवजमा एउटा ठाउँ देखाउदै भन्यो, ‘बच्चोँ, तुम सब इस जगह पर इकठ्ठे हो जाओ। हम गीत गाएंगे और तुम सब नाचो।’

त्यसपछि उसले त्यसबेलाको तराइको लोकप्रिय भोजपुरी गीत गायोः 
‘गोर कि पतर कि रे...
मारे गुलेलिया जियरा उड उड जाए...
सैयां सवंरका रे तोरे नजरिया जियामे गड गड जाए...।’ 

उसले एक मात्रा गाएपछि अर्को मात्रामा उसका अरु साथीहरुले पनि टुसुक्क भुइँमा बसेर हातमा सुर्ती माड्दै उसको गीतमा साथ दिए । उनीहरु सबैले गीत गाएको सुनेपछि मेरो मनमा रहेको शंका हट्यो र उनीहरुको गीतमा म पनि नाचेँ। हामी सबै केटाहरु जानी नजानी धुलो उडाउँदै नाच्यौं ।

दुई तीन वटा गीत सकिएपछि, ‘बहुतखुब...बहुतखुब’ भन्दै ‘बच्चोँ ये लो...तोहफा...भन्दै हामी सबैलाई एक एक वटा पाँच पैसाका सिक्का दिए र भने, ‘अब सब अपने अपने घर जाओ। कल मिठाइ खरिदके खा लेना।’

मैले सिक्का थाप्ने क्रममा देखेको थिएँ त्यो नाइकेले कुर्था बाहिर कम्मरमा गोलीहरु भएको एउटा छालाको पेटी बाँधेको थियो । पैसा पाएपछि हामी खुशी हुँदै देब्रे हातको मुठ्ठीमा पैसा कँसेर बुरुक बुरुक खुट्टा उचाल्दै दौडेर घर पुग्यौँ । 

त्यसताका साहुको पसलमा पाँच पैसामा पाँच वटा सुन्तला मिठाइ किन्न पाइन्थ्यो । हामी दौडिँदै घर पुग्दा लगभग अँध्यारो भैसकेको थियो । अँध्यारोमै पालै पालो गर्दै घर अगाडिको साझा चापाकलबाट पानी तान्दै दाहिने हात र दुवै खुट्टा धोएर हामी दाजु भाइ सिधै भान्सामा छिर्यौं । बायाँ हातमा पैसा भएकाले खसेर हराउला भनी मैले त्यो हात धुने चेष्टा गरेको थिइन । 

परालको चकटीमा बसेर लाल्टिनको मधुरो उज्यालोमा खाना खान शुरु गरेका मात्रै के थियौँ बन्दुक पड्केको ठूलो आवाजले हामी मात्र होइन सारा गाउँलाई नै तर्साइदियो ।

कहाँ के भयो भन्ने जिज्ञासामा हामी दुवैले आमाको मुखमा हेर्यौं । आमासँग जवाफ थिएन । बुबा, हजुरबुबा र कान्छो हजुरबुबा माथि आँटीमा बसेर तमाखु तान्दै हुनुहुन्थ्यो । 

हजुरआमा, दिदी, दाजुहरु भर्खरै मात्रै पहाडबाट आएकी फुपू दिदीसँग आँटीको अर्कोपट्टि बसेर कुरा गरिरहनु भएको थियो । 

बुबा र कान्छो हजुरबुबा तुरुन्तै तल झर्नुभयो र सानो स्वरमा भन्नु भयो, ‘गाउँमा डाका लागे जस्तो छ। तिमीहरु सबै पश्चिम बगियाको बुढो आँपको रुखमुनि गएर हामी लिन नआउन्जेलसम्म बस । हामी डाँकाहरुलाई भगाएर आउँछौं ।’

मैले पाँच पैसाको सिक्कालाई चकटी मुनि राखेँ र हजुरआमा, आमा, फुपू दिदी, दाजु सबैको पछि लागेर गाउँ भन्दा अलिक पर पश्चिम पट्टि रहेको आँपको बगियातिर गयौँ ।

कुकुरहरु धेरै बेरसम्म भुकिरहे । तर मानिसहरुको आवाज केही सुनिएन । अन्य गाउँलेहरु पनि सुटु सुटु हामी जस्तै ज्यान बचाउन आ–आफ्ना घर छोडेर खेततिर, आँप एवं अम्बाका बगैँचातिर भागेका रहेछन् । 

पल्टु र बड्कानेको परिवार त हामी पुग्दा आँपको बगैँचामा आइसकेको थियो । मलाई ती हामीलाई नचाउने फेटा बाँधेका धोती कुर्था लगाएका मानिसहरु नै डाँकाहरु हुनु पर्छ भन्ने लागेको थियो । 

किनभने मैले त्यो हामीलाई नाच्न लगाउने मान्छेको काँधमा बन्दुक र कम्मरमा गोलीको पेटी देखेको थिएँ । तर मैले पल्टु बड्काने कसैलाई केही पनि सोधिन । 

केही बेरपछि रामबहादुर थापाको परिवार पनि पश्चिम कुलोको छेउँ हुँदै त्यहीँ आयो । रामबहादुर हामी भन्दा कम्तीमा पाँच वर्ष जेठो हुनुपर्छ। 

हामीले ३ कक्षामा पढ्दा उनले आठ कक्षामा पढ्दथे । उनले भने, ‘मालिकको घर घेरेर बन्दुक पड्काउनु अघि खलियानमा बच्चाहरुलाई नचाउन गीत गाइरहेका थिए रे डाँकाहरुले।’

 उनले त्यो भनेपछि मेरो मुटु घाँटीमा आएर अड्किए जस्तो भयो । मलाई एकदमै डर लाग्यो । हजुरआमाले ‘नडराउ न नाति हामी सबै यहीँ त छौं नि’, नभन्दासम्म उहाँको काखमा टाँसिइरहेँ ।

हामी साना केटाहरुले केही थाहा नपाइकनै डाँकाहरुलाई भेटिसकेका थियौं । ‘डाँकाहरुले हामीलाई बन्दुकले त्यतिबेलै मारिदिएको भए...’ म त्यसपछि सोच्नै सकिन । डरले कापिरहेँ ।

बुबा र कान्छो हजुरबुबाहरु हाम्रो गाउँको पूर्वतिर पर्ने तुक्तुकिया भन्ने गाउँमा जानु भएछ । त्यहाँ बर्माबाट आउनु भएको हामीलाई असाध्यै माया गर्ने हाम्रो बुढोमावली ठूलोबुबाको परिवार थियो । 

उहाँको घरमा बन्दुक पनि थियो । उहाँहरु त्यहाँ पुगेपछि ठूलोबुबा बन्दुकसहित त्यो गाउँका धेरै मानिसहरु लिएर बुबाहरुसँगै आउनुभयो । 

गाउँको पूर्वपट्टि रहेको दुर्गादेवीको मन्दिर नजिकैबाट उहाँहरुले ठूलो स्वरमा खबरदार ! भन्दै बन्दुक पड्काउनुभयो। 

तर डाँकाहरु त सके जति र भेटे जति पैसा एवं अन्य बहुमुल्य गर गहना एवं सर–सामान लिएर बन्दुक पड्किनुअघि नै भूत जस्तै भागिसकेका रहेछन् । 

अर्को दिन बिहान थाहा भयो डाँकाहरुले  त्यस रात मालिकलाई मार्ने सुपारी लिएर आएका रहेछन् । 

मालिक सेमरा बजारबाट घर फर्कंदै गर्दा बेवरी गाउँका मालिकले हाट बजारमा धेरै रक्सी पिएकोले घर पुग्न सक्नु हुन्न कि बरु यतै बस्नुस् भोलि पल्ट बिहानै जानु होला भनी रोकेका रहेछन् । 

मालिकलाई घरमा नभेटेपछि डाँकाहरुले त्यहा काम गर्ने एक बुढो नोकरलाई ‘मालिकको सामान त्यसै लैजान पाउँदैनौ’ भने पछि भर्यागंबाट खसाली घाइते बनाइदिएका रहेछन् ।

त्यसको करिब एक सातापछि रेडियो नेपालबाट रुपन्देही जिल्लाको मक्रहर गाउँमा डाँकाहरुले आक्रमण गरेको समाचार प्रसारण भयो ।

यो कुरा सन् १९७७ तिरको हो । त्यसताका तराईका सबै गाउँहरुमा नजिकै प्रहरी चौकी नभएकोले, आदिवासीहरुमा एक्लै प्रतिकार गर्न सक्ने साहस नभएकोले र हामीजस्ता पहाडबाट भर्खर मात्र बसाइ सराइ गरेकाहरुले केही भ्याउ पाइ नसकेकोले डाँकाहरुलाई आक्रमण गरी सुपारी अनुसारको काम गरी सम्पत्ति लुटेर लैजान सजिलो थियो।

त्यस घटनाको दोस्रो दिन दुर्गा मन्दिर अगाडिको चौरमा गाउँ भरिका मानिसहरुको उपस्थितिमा ठूलो कचहरि बस्यो। 
आदिवासी अनि पहाडिया सबै मिलेर गाउँलाई भारतीय डाँकाहरुको आतंकबाट बचाउन रातभर पालै पालो पहरा दिने निर्णय भयो । 

त्यसपछि हरेक रात सात जना बयस्क सदस्यहरुको टोलीले गाउंको वरिपरि हिँड्दै ‘जागते रहो’ भन्न थाले । 

हामी केटाहरु जसले डाँकाहरुबाट नाचे बापत पैसा पाएका थियौँ कसैले पनि मिठाइ किन्ने कुरा गरेनौं । मैले चकटी मुनिको पाँच पैसा खोज्ने आँट पनि गरिन । युवा नहुँदासम्म यो कुराको बयान कसैले पनि गरेन । कम्तीमा पनि मेरो ध्यान चाहिं कहिले बयस्क भएर ‘जागते रहो’ भन्दै गाउँको सुरक्षा दिन सकिने भइएला भन्ने मै केन्द्रित थियो ।

पछि मालिकलाई मार्न कसले सुपारी दिएको थियो होला भन्ने बारे धेरै कन्स्पिरेसि थ्यौरीहरु अर्थात् षडयन्त्रका कथाहरु सतहमा आए । 

मैले पनि ती थ्यौरीहरु सुनेँ तर ती थ्यौरीहरुले भन्दा बढी मलाई त्यस घटनाले तेर्साएका केही अनुत्तरित प्रश्नहरुले आज पर्यन्त झक्झकाइरहन्छन् ।

मालिकले त्यो सोमबारको दिन सेमराको बजारमा धेरै रक्सी नपिएका भए र मालिकलाई बेवरिका मालिकले देखेर त्यस साँझ नरोकेको भए के डाँकाहरुको हातबाट मालिक मारिन्थे होला ? मालिक मारिएको भए त्यो गाउँ के त्यस्तै रहन्थ्यो जस्तो रह्यो ?

के मालिकका छोराछोरीहरु नातिनातिनाहरुलाई हामीले त्यस्तै रुपमा देख्न पाउथ्यौँ जसरी पायौं ? मेरो मस्तिष्कले मालिक मारिएका भए त्यो खलियानको घटना, त्यो नाच, त्यो गीत, त्यो ढल्दै गरेको साँझको परिवेश र त्यो पूरा गाउँलाई कसरी पस्कन्थ्यो होला ? 

मालिक त्यस घटनापछि धर्म कर्ममा लागेको, कम बोल्न थालेको म स्वयम्ले देखेँ । 

कुनै पनि मान्छेको मृत्यु कहिले र कसरी हुने भनेर कसले निर्धारण गर्दो हो ?
 
आफ्नै बारेमा कुरा गर्नु पर्दा नवलपरारी चोरमारा नजिकै रात्रिबस दुर्घटना हुँदा म किन मरिन ?

सेफ्टि ब्याग नै निस्कने गरी आफैँले चलाएको गाडी दुर्घटना हुँदा म किन मरिन ?

समुद्रमा हाइ टाइड आएर मैले टेकेको जमीन मुनिको बालुवा सबै बगेर जाँदा म कसरी पौडेर किनारमा आउन सकेँ ?

साँच्चै हाम्रो जीवनको लेखक को होला जसले हाम्रो मृत्युलाई कसरी, कहिले अनि कहाँ घटित गराउने भनी सधै रहस्यमयी र रोमान्चकारी कथा बनाइरहन्छ ?

यीलगायत यस्तै प्रश्नहरुले म सुत्न नसकेका धेरै रातहरुमा मेरो कान नजिकै आएर साउती मारिरहन्छन् ‘जागते रहो...।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ