arrow

नेपालको अहिलेसम्मकै उच्च स्कोर, आसिफको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
aasif-seikh-100-2023-03-09.jpeg

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर खडा गरेको छ । आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यूगिनीविरुद्ध २९७ रनको उच्च स्कोर बनाएको हो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनायो । आसिफले ११० बलमा ११० रन नै बनाए । उनले २ छक्का र १२ चौका प्रहार गरेका थिए । आसिफ तीन पटक क्याच आउट मिस भएका थिए । आसिफले योसँगै एक हजार रनसमेत पूरा गरेका छन् । आसिफ रोहित पौडेलपछि एक दिवसीयमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । त्यस्तै आसिफ एक दिवसीयमा शतक प्रहार गर्ने पाँचौं खेलाडी बनेका छन् । 

पहिलो विकेटका लागि आसिफसँग मिलेर कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । उत्कृष्ट साझेदारी गर्ने क्रममा कुशलले ४५ रन बनाए । भीम सार्कीले ३८ बलमा ४४ तथा कप्तान रोहित पौडेलले ३० रन बनाए । 

पीएनजीका लागि सेमो कामेअले ५ तथा रिले हेकुरेले ३ विकेट लिए । पीएनजीले आधा दर्जन भन्दा बढी क्याच ड्रप गरेको थियो । 

कठिन चुनौती लिएर पीएनजी मैदानमा उत्रिएको छ । 

अबको समीकरण 
यही प्रतियोगितापछि नै विश्वकप छनोटमा पुग्ने तीन टोली, एक दिवसीयमा रहने पाँच टोली र एक दिवसीयबाट बाहिरिने दुई टोलीको टुंगो लाग्नेछ । 

नेपाललाई विश्वकप छनोट खेल्ने सबैभन्दा ठूलो अवसर छ । घरेलु मैदान र घरेलु दर्शकको साथले गर्दा बलियो देखिएको नेपालले सबै चार खेल जित्ने हो भने विश्वकप छनोट खेल्नेछ । 

१२ औं खेलाडीका रुपमा दर्शकलाई लिने गरिन्छ । र एसोसिएट राष्ट्रमा सबैभन्दा बढी दर्शक भएको देश नेपाल नै हो । नेपाललाई यो भन्दा बढी अवसर कुनै पनि हुनै सक्दैन । 

यसअघि यूएईमा यसै साता खेलेर नेपाल फर्किएको छ । त्यहाँ पीएनजीलाई दुवै खेलमा र यूएईलाई एक खेलमा हराएर नेपाल घरेलु मैदानमा फर्किएको हो । 

‘नो इफ नो बट’
नेपाली टिम ‘नो इफ नो बट’ अर्थात् यदि र तर जस्ता कुनै पनि संयोजक नलगाइकनै जित निकाल्न मैदानमा उत्रनु पर्नेछ । 

हिजोको तुलनामा आजको मौसम राम्रो छ । यदि वर्षा भयो र खेल अवरुद्ध भएर अंक बाँड्ने अवस्था आयो भने त्यो नेपालमा लागि दुर्भाग्य हुनेछ । 

किनकि एक अंकमात्र कम हुँदा पनि नेपाल विश्वकप छनोटबाट बाहिरिने सम्भावना प्रवल हुनेछ । तसर्थ मौसमले पनि साथ दिनु पर्नेछ । 

नेपाली टिमले भने आफूले सतप्रतिशत नतिजा दिन सक्नुपर्नेछ । यो श्रृङ्खलामा रिजर्भ डे नभएकाले गर्दा खेल पूरा हुन नसके स्वतः अंक बाँडिने छ । 

अंक तालिका
सात राष्ट्रमध्ये पुछारका तीन टिम बाहेक सबैले आफ्नो सबै खेल खेलेका छन् । शीर्ष स्थानको स्कटल्याण्ड ३६ खेलबाट ५० अंकसहित च्याम्पियन बनिसकेको छ । ४४ अंकबाट दोस्रो स्थानको ओमान पनि विश्वकप छनोटमा सुरक्षित भैसकेको छ । 

तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 
पाँचौं स्थानको नेपालको ३२ खेलबाट ३२ अंक छ । यूएईको ३२ खेलबाट ३१ अंक छ भने पीएनजीको ३२ खेलबाट ९ अंक छ । 

अब पुछारका तीन टिमले आपसमा २–२ खेल खेल्नेछन् । नेपालले सबै चार खेल जित्दा ४० अंक हुनेछ र तेस्रो स्थानमा रहेर जिम्बावेमा हुने छनोट खेल्नेछ । यदि मौसमका कारण कुनै एक खेलमा बराबरी गरी अंक बाँडेर बाँकी सबै खेल जित्यो भने रन रेटमा नामिबिया भन्दा माथि हुनुपर्नेछ । अन्यथा कुनै एक खेल हार्नासाथ विश्वकप छनोटमा सिधै खेल्ने अवसरबाट बाहिरिने छ । 

त्यस्तै यूएईले पनि सबै खेल जितेरमात्र हुँदैन रन रेट राम्रो भएमात्र नामिबियालाई पछाडि पार्दै विश्वकप छनोटमा सिधै छानिने छ । 

त्यस्तै नेपाल र यूएईले एक दिवसीयमा रहिरहनका लागि दुई खेल जित्नैपर्ने हुन्छ । किनकि शीर्ष पाँचमा रहने टिममात्र एक दिवसीयमा रहन पाउने छन् । पुछारका दुई टिम बाहिरिने छन् । 

पीएनजी एक दिवसीयबाट बाहिरिएको छ भने अब अमेरिका, यूएई र नेपालमध्ये एक टिम बाहिरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ