arrow

नेपाल र पीएनजी मैदानमा, टस हारेर नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
nepal-png-2023-03-09.jpeg

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम श्रृंखला आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अहिले नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ । 

खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दैछ । यही प्रतियोगितापछि नै विश्वकप छनोटमा पुग्ने तीन टोली, एक दिवसीयमा रहने पाँच टोली र एक दिवसीयबाट बाहिरिने दुई टोलीको टुंगो लाग्नेछ । 

नेपाललाई विश्वकप छनोट खेल्ने सबैभन्दा ठूलो अवसर छ । घरेलु मैदान र घरेलु दर्शकको साथले गर्दा बलियो देखिएको नेपालले सबै चार खेल जित्ने हो भने विश्वकप छनोट खेल्नेछ । 

१२ औं खेलाडीका रुपमा दर्शकलाई लिने गरिन्छ । र एसोसिएट राष्ट्रमा सबैभन्दा बढी दर्शक भएको देश नेपाल नै हो । नेपाललाई यो भन्दा बढी अवसर कुनै पनि हुनै सक्दैन । 

तसर्थ आज हुने पहिलो खेलबाट नेपालले जित हासिल गर्नुपर्नेछ । आज नेपालले सात टोली सहभागी लिग २ को सबैभन्दा कमजोर टिम पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।

 खेल कीर्तिपुर मैदानमा बिहान ९ः३० बजेदेखि शुरु हुनेछ । 

यसअघि यूएईमा यसै साता खेलेर नेपाल फर्किएको छ । त्यहाँ पीएनजीलाई दुवै खेलमा र यूएईलाई एक खेलमा हराएर नेपाल घरेलु मैदानमा फर्किएको हो । 

‘नो इफ नो बट’
नेपाली टिम ‘नो इफ नो बट’ अर्थात् यदि र तर जस्ता कुनै पनि संयोजक नलगाइकनै जित निकाल्न मैदानमा उत्रनु पर्नेछ । 

हिजोको तुलनामा आजको मौसम राम्रो छ । यदि वर्षा भयो र खेल अवरुद्ध भएर अंक बाँड्ने अवस्था आयो भने त्यो नेपालमा लागि दुर्भाग्य हुनेछ । 

किनकि एक अंकमात्र कम हुँदा पनि नेपाल विश्वकप छनोटबाट बाहिरिने सम्भावना प्रवल हुनेछ । तसर्थ मौसमले पनि साथ दिनु पर्नेछ । 

नेपाली टिमले भने आफूले सतप्रतिशत नतिजा दिन सक्नुपर्नेछ । यो श्रृङ्खलामा रिजर्भ डे नभएकाले गर्दा खेल पूरा हुन नसके स्वतः अंक बाँडिने छ । 

अंक तालिका
सात राष्ट्रमध्ये पुछारका तीन टिम बाहेक सबैले आफ्नो सबै खेल खेलेका छन् । शीर्ष स्थानको स्कटल्याण्ड ३६ खेलबाट ५० अंकसहित च्याम्पियन बनिसकेको छ । ४४ अंकबाट दोस्रो स्थानको ओमान पनि विश्वकप छनोटमा सुरक्षित भैसकेको छ । 

तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 
पाँचौं स्थानको नेपालको ३२ खेलबाट ३२ अंक छ । यूएईको ३२ खेलबाट ३१ अंक छ भने पीएनजीको ३२ खेलबाट ९ अंक छ । 

अब पुछारका तीन टिमले आपसमा २–२ खेल खेल्नेछन् । नेपालले सबै चार खेल जित्दा ४० अंक हुनेछ र तेस्रो स्थानमा रहेर जिम्बावेमा हुने छनोट खेल्नेछ । यदि मौसमका कारण कुनै एक खेलमा बराबरी गरी अंक बाँडेर बाँकी सबै खेल जित्यो भने रन रेटमा नामिबिया भन्दा माथि हुनुपर्नेछ । अन्यथा कुनै एक खेल हार्नासाथ विश्वकप छनोटमा सिधै खेल्ने अवसरबाट बाहिरिने छ । 

त्यस्तै यूएईले पनि सबै खेल जितेरमात्र हुँदैन रन रेट राम्रो भएमात्र नामिबियालाई पछाडि पार्दै विश्वकप छनोटमा सिधै छानिने छ । 

त्यस्तै नेपाल र यूएईले एक दिवसीयमा रहिरहनका लागि दुई खेल जित्नैपर्ने हुन्छ । किनकि शीर्ष पाँचमा रहने टिममात्र एक दिवसीयमा रहन पाउने छन् । पुछारका दुई टिम बाहिरिने छन् । 

पीएनजी एक दिवसीयबाट बाहिरिएको छ भने अब अमेरिका, यूएई र नेपालमध्ये एक टिम बाहिरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ