arrow

नाम नभेटेको प्रदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
name-name-pradesh.jpg

विराटनगर । मुलुक संघीयतामा गएर २०७४ सालदेखि छुट्टै प्रदेश सरकार चलिरहेको भए पनि अहिलेसम्म प्रदेश १ ले नामसमेत जुराउन सकेको छैन । नामकै लफडाले ६३ महिना बितिसकेको छ । बिना नाम नै अहिलेसम्म आइपुगेका दलहरु आज नाम तोक्ने बेलामा लफडा भएपछि प्रदेश राजधानीमा तनाव सिर्जना भएको छ । 

प्रशासनले सम्भावित खतरालाई ध्यानमा राखेर दिउँसो ३ बजेदेखि विराटनगरमा निषेधाज्ञा लागू गरिएको छ । प्रदेश संसद सचिवालयमा प्रदेश १ को नामाकरणको प्रक्रिया शुरु भएपछि सम्भावित झडप, जुलुस लगायतका कार्यक्रम गरी अवरोध गर्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक सूचना जारी गरी प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएको जनाउँदै निषेधाज्ञा जारी गरेका हुन् । 

 ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ः ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क)  बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।  

सूचना अनुसार सो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको भनाई छ ।

प्रशासन कार्यालयका अनुसार अपरान्ह दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीका निवास वरपर सो निषेधज्ञा जारी रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ