कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ९ बिजगौरीका मेघराज घर्ती १६ किलो लागु औषध (चरेस) सहित पक्राउ परेका छन् । घरमा लागु औषध चरेस लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा बाट संयुक्त रूपमा खटी गएको टोलीले उक्त चरेस बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराइएको हो । घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध चरेस जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारी मेघराज घर्ती मगरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले बताए । घर्तीलाई थुनामा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।