arrow

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रचण्डलाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
prachanda-2079-05-03.jpg

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन  स्थायी समितिमा रहेका नेताहरूले सुझाव दिएका छन् । पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकले प्रचण्डलाई कांग्रेस र एमालेसहित सबैको सहमति गरेर राष्ट्रपति बनाउन सुझाव दिएको हो  ।

“राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने विषयमा नै अधिकांश स्थायी समिति सदस्यले आफ्ना धारणा राख्नुभएको छ । हामीले दलहरूसँग छलफल गर्छौ । कहाँ राष्ट्रिय सहमति हुन्छ ।” प्रवक्ता कृष्णबहादुर महराले भने ।  

प्रधानमन्त्री प्रचण्डले स्थायी कमिटीका सदस्यहरूसँग राष्ट्रपतिको विषयमा सुझाव माग गरेका थिए । सत्ता गठबन्धन दल एमाले र सत्ताबाहिर रहेको कांग्रेसले राष्ट्रपतिमा दावी गरिरहेका छन् । कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएसँगै प्रचण्ड कांग्रेस तिर नजिकिएका छन् ।

वर्तमान सत्ता गठबन्धन एमालेकै जगमा बनेका कारण एमालेबाट बाहिर जान कठिन रहेको तर राष्ट्रिय सहमति बन्ने अवस्थामा कांग्रेस लगायतका दलहरूको पनि सहभागी हुने भएपछि माओवादी अध्यक्ष प्रचण्डले बैठकको सुरुवातमै राजनीतिक प्रतिवेदन पेश गर्दा राष्ट्रपतिबारे पनि सुझाव दिन आग्रह गरेका थिए ।

पार्टीको बैठकमा अधिकांश पदाधिकारीहरूले एमालेप्रति अझै शङ्काको दृष्टिले हेर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले राष्ट्रपतिको निर्वाचनमा झन् बढी नै शङ्का गर्नुपर्ने भएकाले एमालेकै पात्र भए पनि वाम आन्दोलन र वामगठबन्धप्रति सहज हुने व्यक्ति छान्न सुझाव दिएका थिए ।

बैठकमा विभिन्न पार्टीसँग पछिल्ला दिनमा भएका पार्टी एकतासम्बन्धी छलफलका क्रममा भएका विषयमाथिको प्रतिवेदन उपाध्यक्ष महराले पेश गरेका थिए । 

बैठकमा पार्टीको सङ्गठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गरेका थिए । माओवादीको स्थायी समिति बैठक यही माघ १६ गते बिहान ११ बजे पुन बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ