arrow

‘पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
tribhuwan.jpg

पोखरा । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गरेको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।

पौडेलको निधन भएको आज आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आज पोखरामा आयोजना गरेको शोकसभामा पौडेलले पत्रकारितामा गरेको योगदानबारे चर्चा गरियो । 

पौडेल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य थिए । प्रेस स्वतन्त्रता सेनानी एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कोमलनाथ बरालले छोटो समय बाँचेर पनि पौडेलले पत्रकारितामा धेरै कुरा दिएको बताए ।

विशेषगरी गण्डकी प्रदेशमा जनपक्षीय पत्रकारिताको विकाससँगै पत्रकार महासङ्घका भौतिक पूर्वाधार निर्माणमा पौडेलले नेतृत्वदायी भूमिका खेलेको बरालले बताए ।

बरालले भने, “पौडेल छोटो समय बाँच्नुभयो तर उहाँले पत्रकारितामा सधँै स्मरण हुने काम गरेर जानुभएको छ ।” पौडेलले कक्षा १० मा पढ्दादेखि नै पत्रकारिता क्षेत्रमा रुची राखेको र मेहिनत गरेर स्थापित बनेको बरालको स्मरण छ । 

स्व पौडेल पत्रकार महासङ्घ कास्कीको दुई कार्यकाल सचिव थिए । सोही बेला नै महासङ्घको सुविधा सम्पन्न दुई तलाको भवन निर्माण गरिएको थियो । पौडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बनेर पहिलो कार्याकालमा नै प्रदेश समितिको पक्की कार्यालय भवन बनाए । 

प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेलले गण्डकी प्रदेश र केन्द्रमा स्थापित पत्रकार पौडेलको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताए । उनले गण्डकीको पत्रकारितामा पौडेलको अभाव खट्किन दिन नहुनेमा जोड दिए ।

विसं २०४३ भदौ ७ गते पर्वतको आर्थर डाँडाखर्कमा जन्मिएका पौडेलको बाल्यकाल पोखरामा नै व्यतित भएको थियो ।

पोखराको जनप्रिय माविमा विसं २०५८ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा उनी स्वाभिमान साप्ताहिक पत्रिकामार्फत सानो उमेरमा नै पत्रकारितामा प्रवेश गरेका थिए । 

काठमाडौँबाट पोखरा फर्किने क्रममा यती एयरलाइन्सको विमान सेती नदी खोचमा दुर्घटना हुँदा पत्रकार पौडेलसहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेका एक जना अझै फेला पर्न सकेका छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ