arrow

आज सोनाम ल्होछार : यो हाम्रो राष्ट्रिय सम्पत्ति हो -प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
Sonam-loshar.jpg

काठमाडौं ।  आज  तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व परेको छ । आज २८५९ ल्होछार  मनाइदै छ । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । 

ल्होछार नेपालमा मात्र नभइ चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल-चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ ।

विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घसंस्थाले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।


 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल्होछार पर्वको अवसरमा एक शुभकामना दिदै यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताएका छन् । 

“सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो”, उनले भने । 

नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ । यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु”, उनले भने । 

प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश–विदेशमा रहने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए । 

“नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो”, प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ ।

यही पद्धति अँगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरु हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकाले यो पर्वलाई सोनाम (किसानको) ल्होछार पनि भन्ने गरिन्छ । 

प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, “ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । राज्यले ल्होछारलगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ