arrow

'शोक–बिदा'मा लञ्च मिटिङको पाँच घण्टा: राष्ट्रपतिको भागबण्डामै गलफती

प्रचण्डको प्रमुख लक्ष्य शान्ति प्रक्रिया चाँडो टुङ्गोमा पुर्‍याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
Prachanda-Oli-Balkot.jpg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहान बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँच घण्टा बिताए । बिहानै पुगेका प्रचण्डले ओलीसँगै बसेर लञ्च समेत गरे । 

आइतबार बिहान पोखरामा चालकदलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सोमबार देशभर ‘शोक–बिदा’ दिने निर्णय गरेको थियो । त्यही बिदाको सदुपयोग गर्दै प्रचण्डले ओलीसँग मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा पाँच घण्टा छलफल गरेका थिए । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवण्डाको विषय चाडै टुंगिएपनि राष्ट्रपतिमा व्यक्ति छनौटदेखि निर्वाचनसम्मको विषयमा लामो समय खाएको थियो । 

सोमबार बिहानै बालकोट पुगेका उनले अहिले सतहमा देखिएका भन्दा फरक विषयमा कुराकानी गरेका थिए । सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेका प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई कसरी टुङ्गोमा पुर्‍याउने भन्ने विषयमा छलफल गरेका थिए । ‘सत्य निरूपण तथा मेलमिलाप आयोगबाट हुने र कार्यसम्पादन गर्नसकिने प्रक्रियाको विषयमा लामो समय छलफल भएको थियो’, बालकोट स्रोतले भन्यो । 

त्यसमा एमाले अध्यक्ष ओलीले एमालेकै तर्फबाट राष्ट्रपतिमा बनेमा शान्ति प्रक्रियालाई टुङ्ग्याउन सकिने आश्वासन दिएका थिए ।  पछिल्ला केही दिनयता प्रचण्ड र ओलीबीचको सम्बन्धमा धेरथोर चिसोपन छिरेको बेला बालकोट बैठकले सम्बन्धलाई अझ कसिलो बनाएको स्रोतको दाबी छ । 

प्रचण्डले आफ्नो शक्ति कम हुँदै गएको आङ्कलन गरिसकेका छन् र शान्ति प्रक्रिया टुङ्ग्याउन जति ढिलो हुन्छ उनलाई उति अफठ्यारो पर्दै जाने निश्चित रहेको छ। द्वन्द्वकालीन मुद्दाहरूमा आफू कमजोर भएको स्थितिमा कडा कारबाही भोग्ने पर्ने डर प्रचण्ड र बाबुराम भट्टराईलाई रहेको छ। 

मङ्गलवारको सर्वदलीय बैठकमा घुमाउरो पाराले डा. बाबुराम भट्टराईले एमालेलाई राष्ट्रपति दिन नहुने धारणा राखेका थिए । उनले कि त कांग्रेसले लिनुपर्ने वा त्यसो नभए बाहिरबाट हुनुपर्ने धारणा राखेर आफ्नो पनि चासो रहेको बताएका थिए । उनले नेपालको शान्ति प्रक्रिया अझै नसकिएको र  द्वन्द्वकालीन मुद्दाहरू उठाएर माओवादीलाई धम्क्याउने प्रवृत्ति अझै कायम रहेको भन्दै सत्य तथा मेलमिलाप आयोगबाटद्वन्द्वकालीन मुद्दाहरूटुङ्ग्याउन लागि पनि एमालेबाट राष्ट्रपति हुननहुने धारणा राखेका थिए । 

यद्यपि त्यही विषयमा ओली र प्रचण्डबीच अघिल्लो दिन पाँच घण्टा छलफल भएको थियो । स्रोतका अनुसार एमालेसँग सत्तागठबन्धन गरेर कांग्रेसलाई पनि आफूनजिक बनाइराख्ने माओवादीको  चलाखी रणनीतिपछि ओलीले अहिलेकै अवस्थामा शान्ति प्रक्रियाको विषय उठ्न सक्ने भएकाले पनि त्यसलाई सन्तुलनमा राख्न पनि एमालेकै व्यक्ति राष्ट्रपति हुनुपर्ने जिकिर गरेका थिए । प्रचण्डले भने ओलीलाई राष्ट्रिय सहमतिको सरकार भन्दै ‘फकाउने’ प्रयत्न गरिरहेका थिए तर ओलीले त्यस्तो विषय सुन्न नै चाहेका थिएनन् । 

गत पुस २७ गते गोरखा पुगेका प्रधानमन्त्री दाहाल त्यहाँबाट फर्कँदा सिधै बालकोट हानिएका थिए । सोमबार पनि उनी शोकमा बेपरवाहजस्तै बनेर बालकोट पुगे । गठबन्धनभित्र देखा परेको गडबडीले पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब भइरहेको बाहिर चर्चा चलेको थियो । सोमबार प्रचण्ड  बालकोटबाट बाहिर निस्कदै गर्दा मङ्गलवार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । 

बालकोट छलफलपछि सोमबार साँझ बालुवाटारमा सत्तारूढ दलहरूको संयन्त्रको बैठक बस्यो । बैठकले सत्तासाझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा मोटामोटी सहमति जुटाएपछि मङ्गलवार मन्त्रिपरिषद् विस्तार भयो । तर राष्ट्रपतिमा अझै पनि सत्ता गठबन्धन दलभन्दा बाहिरबाट हुन्छ भन्ने अपेक्षा गरिएको छ । 

‘यो सम्भव छैन, पुस १० गते नै राष्ट्रपति र सभामुखको विषय टुङ्गिएको हो, कहिलेकाहीँ प्रधानमन्त्रीलाई म सबैको प्रधानमन्त्री हुँ भन्ने लागेका कारण कांग्रेसलाई पनि सहमति ल्याउनुपर्छ भन्ने धारणा राख्नु स्वाभाविक होला तर सत्ता गठबन्धन दलको नाताले माओवादी वा अन्य कुनै दलबाट दायाँ बायाँ हुने अवस्था छैन’, एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले भने । 

सरकारलाई पूर्णता दिन र शक्ति बाँडफाँटका अरू विषय टुङ्ग्याउने बेलामा पनि ओलीले सत्ता साझेदार दलहरुलाई राष्ट्रपति र सभामुख एमालेकै भागमा परेको भन्दै बाहिर सार्वजनिक गर्न लगाएका थिए । यसबाट के बुझिन्छ भने अरूले दायाँबायाँ गर्लान् कि भनेर ओलीले बालुवाटारको सोमबार बसेको बैठकबाट  त्यसो अभिव्यक्ति सार्वजनिक गर्न लगाएका हुन् ।

‘आवश्यकता के हो भन्ने महत्वपूर्ण हुन्छ, राष्ट्रपतिको विषयमा एमाले र माओवादी दुवै स्पष्ट छन् दायाँबायाँ हुने अवस्था छैन’, नेकपा माओवादीका उपाध्यक्ष हरिबोल गजुरेलले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ