arrow

मधेस प्रदेश: सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम मङ्गलबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
madesh-pradesh-province-2.jpg

जनकपुरधाम। मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मङ्गलवारका लागि तय गरिएको छ । 

आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण सङ्घीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोलि मङ्गलवार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए। 

मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली  र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिए ।  

गत बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ