arrow

अप्ठेरोमा पर्दै प्रचण्डः सभामुखको निर्वाचनअघि मन्त्रालयको भागबण्डा नहुने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
prachanda-tension-2079-06-10.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहयात्री दलहरुबाट अप्ठेरोमा परेका छन् ।  बिहीबार दिउँसो ३ः३० बजे सहयात्री दलहरुको संयुक्त बैठक बस्ने कार्यक्रम तय गरिएको तर उनीहरुले मन्त्रालयको भागबण्डा नमिलेको भन्दै संयुक्त बैठक अस्वीकार गरेपछि प्रचण्ड अप्ठेरोमा परेका हुन् । 

सहयात्री सात दलले समय अभाव रहेको, मन्त्रालयमा दुई दल नेकपा एमाले र माओवादी हावी भएको भन्दै दुई नेताहरु बसेर त्यसलाई सहजीकरण गरेको सन्देश दिएपछि मात्रै बैठकमा सहभगी हुने सन्देश पठाएकाले साँझ दुई अध्यक्षको मात्रै बैठक बसेको स्रोतको दाबी छ । 

प्रचण्डले सरकारको नेतृत्व लिएको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार नभएको र सरकार सञ्चालनमा असर परेको भन्दै बुधबार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका प्रचण्डलाई बिहीबार जसरी पनि टुंग्याउने वचन दिएका थिए । 

तर बिहीबार पनि सहमतिको खाका बन्न सकेन । ‘सभामुखको निर्वाचन अघि मन्त्रिपरिषद विस्तार हुन्न जस्तो छ’, एमालेका एक पदाधिकारीले भने । उनका अनुसार गठबन्धनभित्र कहीँ न कहीँ समस्या आएकाले सभामुखको निर्वाचन कुर्न लागिएको हो ।

 ‘एमाले सकेसम्म गठबन्धन बचाउन चाहन्छ तर माओवादीको एउटा जिम्मेवार पक्ष गठबन्धन टुटाएर हिँड्न चाहन्छ यसले कही कही समस्या ल्याएको महसुस गरेका छौँ’, ती पदाधिकारीले भने । 

ओलीको प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन उपप्रधानमन्त्री र तीन बिना विभागीय मन्त्री लिएर सरकार सञ्चालन गरिरहेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारी र कार्यविभाजन भए पनि अन्य तीन मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन ।  

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र अन्य दलहरुले पठाउने संख्याको बारेमा अन्यौल हुँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । तत्काल सरकारमा सहभागी नभएको तर केही दिनअघि सरकार जाने निर्णय गरेको राप्रपाले समेत मन्त्री पठाउने भएपछि शक्ति बाँडफाँडमा समय लागेको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल त भयो तर उनीहरुको छलफल बिना निष्कर्ष टुंगिएको थियो । 

उनीहरुबीच मन्त्रिपरिषद विस्तार र सभामुखको निर्वाचन लगायतका विषयमा छलफल भए पनि गठबन्धनका अन्य सहयात्रीको व्यवस्थापनमा केन्द्रीत हुँदा मन्त्रिपरिषद विस्तारको विषय पछि धकेलिएको स्रोतको दाबी छ । 

यसअघि बुधबार साँझ सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । पृथ्वी जयन्तीलाई छलेर गोरखा महोत्सवको उदघाटन गर्न पुगेका प्रचण्ड बुधबार साँझ आफ्नी छोरीसहित त्यहाँ पुगेर प्रदेश १ मा माओवादी सरकारमा सहभागी हुने वातावरण तयार गरेका थिए । 

प्रदेश १ मा एमाले सरकारमा माओवादीका इन्द्र आङबोले जान आनकानी गरेपछि बालकोट पुगेर प्रचण्डले फोन गरेका थिए । प्रदेश १ को सरकार निर्माणमा उनले ओलीलाई सहयोग गरेका थिए । त्यहाँ आज दिउँसो प्रचण्डका ज्वाइँसहितलाई मन्त्रीमा सपथ गराइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ