arrow

देउवालाई कार्यकर्ताको हैसियतले १० प्रश्न

logo
वशिष्ठ अधिकारी,
प्रकाशित २०७९ पुष २७ बुधबार
basistha-adhikari-congress-lalitpur.jpg

वर्तमान राजनीतिक परिदृष्यका घटनाक्रमलाई देखेर म नेपाली कांग्रेसको एउटा जिम्मेवार कार्यकर्ताको हैसियतले मेरो पार्टीको केन्द्रीय सभापति माननीय शेरबहादुर देउवाज्यूलाई समसामयिक सन्दर्भमा केही साझा प्रश्नहरू गर्न चाहन्छु । किनकि नेपाली कांग्रेसको संगठन सम्बन्धमा प्रश्न राख्ने मेरो हक छ र मैले आजसम्म नेपाली कांग्रेसको हीत विपरीत कुनै पनि कार्य गरेको छैन । 

वास्तवमा मैले सुनेको, देखेको, बुझेको, खोजेको र चाहेको कांग्रेस यस्तो होइन । म लोकतान्त्रिक पार्टीको कार्यकर्ता हुनुको नाताले पार्टीका केही कदमहरू चित्त नबुझेर यी प्रश्नहरू राखेको हुँ र यो मेरो अधिकार हो भन्ने मलाई लाग्दछ । 

म केही पाउनु र गुमाउनुसँग त्यति सरोकार राख्दिन । विचार र स्वाभिमानलाई बन्धक बनाएर कुनै सम्झौता पनि गर्दिन । बाँकी सहुँला ! बुझाउँला !

प्रश्नहरूः–
१, हिजो पाँच दलीय गठबन्धनले नेकपा एमालेलाई प्रतिगमनकारी भनेर प्रचार गर्यो, कार्यकर्तालाई गर्न लगायो र प्रतिगमनका विरुद्ध गठबन्धन भनेर निर्वाचनमा गयो । आज निर्वाचनको परिणाम पश्चात्  गठबन्धनकै दल माओवादीले कांग्रेस लगायतसँगको गठबन्धन तोडेर त्यही प्रतिगमन भनिएको दल एमालेको सहकार्य र समर्थनमा सरकार गठन गर्यो । आज त्यही प्रतिगमनसँग मिलेर बनेको नयाँ गठबन्धनको सरकारलाई नेपाली कांग्रेसको बहुमतले फेरि विश्वासको मत दियो । त्यसो हो भने हिजो प्रतिगमनको हवाला दिँदै किन गठबन्धन गरियो ? आज गठबन्धन तोड्नेहरूलाई नै के कति कारणले समर्थन गरियो ? जिम्मेवार प्रतिपक्षमा बस्छौं भन्दा के बिग्रन्थ्यो ? सभापति माननीय शेरबहादुर देउवाज्यू, जिज्ञासा भयो ?

२, नेपाली कांग्रेसको चौधौं महाधिवेशनको नारा उत्साह, एकता र रुपान्तरण तथा स्थानीय निर्वाचन अगाडिको अभियान ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ कार्यक्रमले पार्टीमा एउटा नयाँ उर्जा र रक्तसञ्चारको काम गरेको थियो । तर जब स्थानीय निर्वाचनका क्रममा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र लगायतका दलहरूसँग गठबन्धन गरेर जाने निर्णय गर्यो तब संगठन भत्कने र ओरालो लाग्ने प्रक्रियाको शुरुआत भयो । के यस्तो होइन भन्ने आधार छन् ? के यही हो कांग्रेसको सिद्धान्त, आदर्श र संगठनको मर्म ? सभापति माननीय शेरबहादुर देउवाज्यूबाट जान्न चाहन्छु । 

३, महामानव वीपीले पदका लागि कसैसँग सम्झौता गरेनन् । लौहपुरुष गणेशमान सिंहले पद त्याग गरे । सन्तनेता कृष्णप्रसाद भट्टराईले निष्ठाको अनुशरण गरे । तर हाल आएर एउटा ऐतिहासिक विरासत बोकेको पार्टी नेपाली कांग्रेस विचार, आदर्श र सिद्धान्त भन्दा पनि पद र स्वार्थको गणितमा रुमलियो । केही पनि नमिल्दो विपरत ध्रुबसँग गठबन्धन गरेर नेपाली कांग्रेसका आस्थावान कार्यकर्ता र मतदातालाई रुख बाहेक अन्यत्र मत हाल्न लगाउन बाध्य पार्ने यस्तो कार्य गम्भीर ऐतिहासिक भुल हो भन्ने मलाई लाग्दछ । सायद यो कदमलाई इतिहासले क्षमा गर्दैन होला । के तपाईंलाई गठबन्धन गरेर ठूलो उपलब्धि गरेँ भन्ने लाग्छ हो सभापति माननीय शेरबहादुर देउवाज्यू ? प्रष्ट गरिदिनुहोला ।

४, राणा, पन्चायत र राजतन्त्रविरुद्ध आवाज बुलन्द गरेको कांग्रेस आममतदातालाई आफूतर्फ आकर्षित गर्न छोडेर दुईतिहाईको सरकार फेल भएर पछारिएको कम्युनिष्टको अवशेष र घटकहरूलाई च्यापेर चुनावी गणितको हिसाब गर्दै ‘म र मेरो’ स्थानलाई सर्वोपरी ठान्दै निर्वाचनमा जान्छ भने यस्तो नेतृत्वले धोका नखाए कसले खान्छ ? एमालेविरुद्ध पाँच दलीय सत्ता गठबन्धन गरी एमालेलाई शक्तिशाली बनाउने पनि कांग्रेस हो भने सिद्दिएको माओवादीलाई काखी च्यापेर यो शक्तिमा पुर्याउने पनि कांग्रेस नै हो । के यस्तो होइन भन्न सक्नुहुन्छ र सभापति माननीय शेरबहादुर देउवाज्यू ? 

५, देशको एकमात्र लोकतान्त्रिक शक्ति कांग्रेसले कम्युनिस्टसँग साँठगाँठको गठबन्धन गरेपछि विरक्तिएका र गठबन्धनका कारण कांग्रेसले उम्मेदवारी नपाएका स्थानमा कम्युनिष्टलाई मतदान गर्न नचाहने ठूलो हिस्साले नयाँ दलको घण्टी, लौरो र राप्रपाको हलोलाई मतदान गरेको कारण पनि यो स्थिति आएको हो यसको जिम्मेवारी नेपाली कांग्रेसको वर्तमान नेतृत्व अझ तपाईं वर्तमान सभापतिज्यूले लिनुपर्दैन र ?

६, यो गठबन्धनले संख्यात्मक रूपमा ठूलो पार्टीको हैसियत देखिए पनि वास्तवमा संगठन नराम्ररी धसिएको छ । समानुपातिक मत मात्र होइन प्रत्यक्षको मत पनि स्वात्तै घटेको छ । के अब हरेक निर्वाचनमा यस्तै बैशाकीको सहारा लिनु हाम्रो लक्ष्य हो ? आज कांग्रेसकै क्रियाकलापले कम्युनिष्टहरू एक हुने स्थिति सृजना भएको छ भने वैकल्पिक शक्तिहरू ह्वात्तै मूलधारमा आएका छन् । यसको दीर्घकालीन असरको बारेमा हामीले केही सोचेका छौँ ? के आजको गणितीय हिसाबले भोलिको घाटाको क्षतिपूर्ति हुनसक्छ सभापति शेरबहादुर देउवाज्यू ?

७, प्रत्येक जिल्लाको वस्तुस्थिति, उम्मेदवारको अवस्था र सम्भावना, रणनीति, प्रचार शैली र तरीका कुनै पनि विषयमा जिल्लाहरूसँग केन्द्र र प्रदेशले समन्वय गरे जस्तो मलाई लागेन । गरेको भए म जिल्ला सचिवले केही थाहा सूचना पाइन किन ? मलाई लाग्छ, सांसदको टिकट वितरण गर्ने केन्द्रीय संसदीय समितिसमेत गठन नै नगरी टिकट वितरण भए । के यस्तो कार्य वैधानिक र संस्थागत हो त ? विधि र पद्धति भन्दा पनि व्यक्तिगत ढंग र सम्बन्धले काम गरिनु लोकतान्त्रिक पार्टीको विधान र प्रक्रियाको विपरीत होइन र ? यस्तो गर्नुलाई लोकतान्त्रिक पद्धति भनिन्छ र सभापति माननीय शेरबहादुर देउवाज्यू ?

८, देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीको केन्द्रीय पदाधिकारीहरूबीच महत्त्वपूर्ण एजेन्डा र विषयमा सरसल्लाह नहुनु, एउटा केन्द्रीय सदस्यको अर्कोसँग बोलचाल नहुनु, मिलाउन कसैले पहल नगर्नु, पार्टीका उम्मेदवारलाई पार्टीकै नेताले हराउन लाग्नु, गलत गर्ने आफ्नो गुटको र आफु अनुकुल मान्छे पर्यो भने उसैलाई संरक्षण गरिनु, शक्तिको उन्माद र आर्थिक चलखेल व्यापक हुनु, विधि र पद्धतिले काम नगर्नु ! के यही हो त हाम्रो राजनीति ? कांग्रेसको ऐतिहासिक मूल्य र मान्यता खोइ ? जान्न चाहन्छु सभापति माननीय शेरबहादुर देउवाज्यू !

९, अनि अन्त्यमा, यो केन्द्रीय समितिको बैठक चाहिँ किन सरेको सर्यै हो हजुर ?

१०, मनमा कुरा गुम्स्याएर राख्नु भन्दा त प्रश्न राख्नु नै राम्रो हो नि ! होइन र सभापतिज्यू ? जो मर्जी ! 
जय नेपाल ! (अधिकारी नेपाली कांग्रेस जिल्ला कार्य समिति, ललितपुरका सचिव हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ