arrow

प्रचण्डले बढाएको ओझ र थपिएको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
prachanda-deuba-bishwaskomat-2079.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो एकाएक आफ्नो ओझ बढाए । उनले सर्वाधिक विश्वासको मत पाएर मुलुकका लागि तत्कालको अवस्थामा आफू नै एकमात्र अब्बल नेतृत्वकर्ता भएको प्रमाणित गरेका छन् । उनले आफू तेस्रो ठूलो दलको अध्यक्ष भए पनि मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकोसहित २६८ सांसदको विश्वासको मत पाएर सरकार सञ्चालनको अनुमति पाएका छन् । 

नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले कांग्रेसबाट विश्वासको मत पाएसँग सरकार सञ्चालनमा उनलाई केही सहजता मिलेको छ । सरकार सञ्चालनमा एमालेले अप्ठेरो बनाएमा प्रचण्डले कांग्रेसलाई देखाएर बार्गेनिङ गर्ने अवस्था देखिएको छ । 

यसले गर्दा एमालेले सरकारमा आफूले चाहेजस्तो सबै कुरा लागु गर्ने अवस्था देखिँदैन । सरकार बनाउँदा समर्थन गरेका नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सात दल, स्वतन्त्र सांसदसहित कांग्रेसलेसमेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् । 

प्रचण्डले मतदानमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदको मत पाउँदा राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले मात्रै मत दिएनन् । कांग्रेसको मत पाए पनि नपाए पनि बहुमत सदस्यहरुको समर्थनमा गठन भएको सरकारले विश्वासको मत पाउँदा विश्वासको भारीसँगै सहयात्री दलहरुलाई कांग्रेस अगाडि राखेर तर्साउने हतियार पनि सँगै बोकेको देखिन्छ । 

विगतमा माओवादीले एमालेलाई देखाएर सत्ताको मात्रै होइन निर्वाचनमा गठबन्धन गर्ने सवालमा पनि बार्गेनिङ गरेको थियो । निर्वाचनपछि कांग्रेसको मत माओवादीमा ट्रान्सफर नभएको भन्दै शुरुको कार्यकाल आफूले प्रधानमन्त्री पाउनु पर्ने भन्दै अर्को बार्गेनिङ गरेको थियो । 

अहिले सरकारमै रहेका बेला कांग्रेसले विश्वासको मत दिएसँगै पाँच वर्ष नै प्रधानमन्त्री बन्ने वा कांग्रेसलाई पनि सरकारमा ल्याएने धम्की दिएर सत्ता टिकाइरहने प्रपञ्चमा प्रचण्ड लागेको शंका गर्न थालिएको छ । 

राष्ट्रिय पार्टीले समर्थन गरेपछि प्रधानमन्त्री प्रचण्डलाई काम गर्न कति सहज होला भन्ने विषयमा विश्लेषण हुन थालेको बेला यस्तो शंका गर्न थालिएको हो । ‘अस्थिर राजनीतिमा आफूलाई केन्द्रमा राखेर सधै सत्ताको बार्गेनिङ गर्ने प्रचण्डलाई कांग्रेसलाई देखाएर एमालेसँग पनि बार्गेनिङ गर्ने अर्को हतियार प्राप्त भएको छ’, माओवादी भन्दा बाहिर रहेका एक कम्युनिष्ट नेताले भने ।  

कांग्रेसलेसमेत विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डलाई काम गर्न सहज भए पनि संसदीय अभ्यासमा संसद् प्रमुख प्रतिपक्षविहीन हुनु राम्रो मान्न नसकिने अवस्थामा पनि कांग्रेसले दिएको मत स्वयं कांग्रेसकै लागिसमेत घातक हुने अवस्था नआउला भन्न सकिन्न । 

‘काग्रेसले विश्वासको मत दिएर एमालेलाई अप्ठेरो बनाउने रणनीति बनाएको देखिए पनि एमाले झन् मुकदर्शक बन्ने अवस्था देखिदैन, सदनमै केपी ओलीले ढोक्साको कथा हालेका छन्’, एक राजनीतिक विश्लेषक भन्छन् ।   

यदि कांग्रेसले समर्थन फिर्ता लिएमा पनि प्रचण्डसँग बहुमत कायमै रहने भएकाले कुनै समस्या हुनैछैन । तर त्यतिबेला विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने बारेमा अन्यौल कायमै रहन्छ । 

त्यतिबेला सत्ता साझेदार दलहरुले प्रचण्डलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने प्रश्न पनि उठ्न सक्छ । यो विश्वासको मतसँगै उब्जेको अर्को प्रश्न भनेको चाहिँ एमालेले फिर्ता लिएमा कांग्रेस प्रचण्डको सरकारमा सहभागी हुन्छ कि हुँदैन भन्ने पनि हो । 

यद्यपि अहिले नै यो विषयमा छलफल गर्ने बेला भैसकेको भने छैन । साथै सभामुखको निर्वाचन र राष्ट्रपतिको निर्वाचनमा कस्तो किसिमको समीकरण बन्छ भन्ने अर्को प्रतिक्षाको विषय छ । 

संसदीय अभ्यासमा बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने मान्यता भए पनि कांग्रेसले समर्थन गरेपछि सरकारलाई लगाम लगाउने दल नै नहुने अवस्था पनि उत्तिकै छ । अब सरकारले आफ्नो अनुकुल जस्तोसुकै नीति तथा कार्यक्रम ल्याए पनि कांग्रेसले ताली पिटेर समर्थन गर्ला कि नगर्ला अर्को प्रश्न छ । 

यसका साथै कांग्रेसले समर्थन गर्दा प्रचण्डलाई नैतिक रुपले यसअघिको सरकारले ल्याएका कार्यक्रमलाई अघि बढाउने चुनौती पनि थपिएको छ । सरकारको साझेदार एमाले रहने, सरकारको नेतृत्व प्रचण्डले गर्ने र विश्वासको मतमा कांग्रेसको साथ रहँदा अघिल्लो सरकारले ल्याएका विभिन्न कार्यक्रमलाई अविछिन्न उत्तराधिकारीको नाताले अघि बढाउनु पर्ने बाध्यता रहेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ