arrow

प्रचण्डले भने- देउवासँग कुनै पनि सहमति भएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
prachanda-deuba-dhumbarahi-meet-pm.jpg

काठमाडौं ।  नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको छ । सोमबार बेलुकी प्रधानमन्त्री प्रचण्ड सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेका थिए । भेटसँगै  सभापति देउवाले पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएका थिए ।  र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिलाउन सभापति देउवा सफल पनि भए । 

प्रधानमन्त्री प्रचण्ड सभापति देउवाबीच आपसी सहमति भएको पनि कुरा बाहिर चुहिएको छ ।  यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा कांग्रेससँग कुनै पनि सहमति नभएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका हुन् ।

आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, “मैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिए । त्यो अनुमानमा आधारित थियो तर, मंगलबार भने यथार्थतामा परिणत भयो । यसले मलाई ऊर्जा दिएको छ ।

यता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समग्र मुलुकको परिस्थितिको मूल्याङ्कन गरेर आफूहरूले विशिष्ट निर्णय लिएको बताए । उनले विसं २०५१ मा पनि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई विश्वासको मत दिएको सन्दर्भ जोड्दै अहिले पनि त्यस्तै विशिष्ट निर्णय लिएको जानकारी दिए ।

उनले सरकार जोगिने वा नजोगिनेभन्दा पनि मुलुकको आर्थिक अवस्था, संविधानको रक्षा, शान्ति प्रक्रियालाई पूर्णता दिनेलगायतका विषय निर्वाचनको समयमा समेत आफूहरूले गरेको गरेकाले त्यसलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सहयोग गरेको बताए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सदनमा आफूहरूले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्रीलाई विश्वासको मत किन दिने भन्नेबारेमा सभापति शेरबहादुर देउवाले नै स्पष्ट पारेको उनको भनाइ छ ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन ‘हाइज्याक’ भएकाले त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएको प्रतिक्रिया दिए । 

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि पनि सरकारलाई समर्थन गरेको बताए । उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको तथा आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएको उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलबार भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ