arrow

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले के लेखे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
Prachanda-parliament-PM.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन् । उनले भनेका छन्, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।”

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, “तपाईँहरूको यो विश्वासप्रति इमानदार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ।”

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलबार भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले यही पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रूपमा सदनमा छ ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी , जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ