arrow

धोका दिने प्रचण्डलाई साथ दिने देउवाको आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachanda-deuba-dhumbarahi-meet-pm.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । सोमबार बेलुकी प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

त्यसबारे आधिकारिक निर्णय भने मङ्गलबार बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहितको सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णयअनुसार प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही गएका थिए । 

प्रतिनिधि सभाको पहिलो बैठक आज बसेको थियो । मंगलबार पुस २६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई अहिलेसम्म सत्तारूढ दलबाट १६९ सांसदको समर्थन छ । 

पुस १० गते तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भङ्ग गरेर एमालेसँग मिलेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो । 

यसअघि भने प्रचण्ड र देउवाबीच प्रचण्डको शपथ र संसदमा भेट भएको थियो । 

तर सत्तागठबन्धनमा रहेकाबेला दुवै नेताले कम्तीमा पाँच वर्षसम्म गठबन्धन नतोडिने बचन दिएका भए पनि प्रचण्डको कुर्सीमोहका कारण गठबन्धन तोडेर एमालेसँग सहकार्य गरी नयाँगठबन्धन बनाएका थिए । 

अहिले फेरि तिनै प्रचण्डलाई साथ दिने देउवाको वचनले विभिन्न शंका उपशंका जन्माएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ