arrow

बागमती प्रदेश

मुख्यमन्त्रीमा जम्कट्टेलले दाबी पेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
salikram-jamarkattel.png

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले आज दाबी पेश गर्ने भएका छन् ।

बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका जम्कट्टेलले आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्दैछन् । 

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले बागमतीमा पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएपछि जमरकट्टसलले दाबी पेश गर्न लागेका हुन् । प्रदेशमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएको हो ।

केन्द्रमा गठबन्धन गरेका सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरूको बैठकमा बागमती प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 

उनी प्रदेशको कामचलाउ आर्थिक मामिला तथा कानुन मन्त्रीसमेत हुन् । प्रदेशसभाको पहिलो कार्यकालमै तत्कालीन नेकपा सरकारमा जम्मकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । बागमती प्रदेशसभाको सभामुख राप्रपाले पाउने भएको छ । एमालेले उपसभामुख लिने सहमति भएको बताइएको छ ।

प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० सिट सङ्ख्या रहेकोमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा बागमतीमा सहजै सरकार बन्नेछ ।



नयाँ