arrow

बागमती प्रदेशसभाको पहिलो बैठक : पाँच वटा अध्यादेश टेबल

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ पुष १९ मंगलबार
bagamati-pradeshsabha.jpg

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबारका लागि ११ औँ अधिवेशनको आह्वान गरेपछि सोमबारदेखि बैठक शुरु भएको छ । प्रदेशसभा दोस्रो कार्यकालको पहिलो प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाको अध्यक्षता चलेको बैठकमा सभामुख र उपसभामुख चयनको मिति तोक्नेलगायत पाँच वटा अध्यादेश टेबल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानु नमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश-२०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश-२०७९ टेबल गरेका थिए।

संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन-२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश-२०७९ टेबल गरेका थिए।

कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश-२०७९ पेस गरेका थिए।

बैठकले प्रदेशका सभामुख र उपसभामुखको चयनका लागि पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ । बैठकमा प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्य उर्मिला नेपाल, भारती पाठक, ठाकुरप्रसाद ढकाल, लक्ष्मी घिमिरे तथा राजेन्द्रमान श्रेष्ठलाई मनोनीत गरेको छ । प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।



लोकप्रिय समाचार
नयाँ