arrow

सम्पादकीय

प्रचण्डमा स्थिरताको अपेक्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएका छन् । २०६३ सालदेखि नेपाली राजनीतिमा नियमित अग्रपंक्तिमा रहेका प्रचण्डले यसअघि २०६५ र २०७३ सालमा पनि सरकारको नेतृत्व गरेका थिए । 

उनी पहिलो कार्यकाल जनताको म्यान्डेटअनुसार नै सरकारको नेतृत्व गर्न सफल भएका हुन् । तर पछिल्ला दुई वटा भने उनको आफ्नो महत्वाकांक्षाले नेतृत्व गर्ने अवसर पाएका हुन् । 

२०७३ सालमा उनले एमालेलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँग सहकार्य गरेर सरकारको नेतृत्व गरे । अहिले उनले कांग्रेससहितको सत्तागठबन्धनलाई तोडेर एमालेसँग मिलेर सरकारको नेतृत्व गरे । 

उनको राजनीतिक यात्रा अस्थिर छ । २०७४ को निर्वाचनमा उनले स्थानीय तहमा कांग्रेससँग सहकार्य गरे । पछि प्रतिनिधि सभा र प्रदेश सभामा एमालेसँग सहकार्य गरे । 

२०७९ को स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेससहितको गठबन्धनसँग सहकार्य गरे । तर सरकार भने कांग्रेससहितको त्यो गठबन्धन बाहेकका एमालेसहितको गठबन्धनसँग मिलेर नेतृत्व गरे । 

यसरी हेर्दा प्रचण्ड कतिबेला कुन डुंगामा चढ्छन् पत्तो हुँदैन । उनले आफ्नो पार्टीलाई जहाँ पनि अवतरण गराउन सक्छन् । उनका स्थानीय नेता कार्यकर्तालाई पत्तोसमेत हुन्न । 

गएको स्थानीय, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तत्कालीन गठबन्धनलाई सहयोग नगर्नेलाई कारबाही गरे । अर्थात् जसले एमालेलाई समर्थन गर्यो आफ्नो पार्टीका तिनै कार्यकर्तालाई कारबाही गरे । अहिले आफैले एमालेको समर्थन लिएर सरकार बनाए । पहिले कांग्रेसलाई धोका दिनेलाई कारबाही गरे । अहिले आफैले कांग्रेससहितको गठबन्धनलाई धोका दिएर सत्ता सम्हाले । 

यस्तै अस्थिर राजनीतिका कारण पनि प्रचण्डले लामो समयसम्म सरकारको नेतृत्व गर्न सकेनन् । यसअघि पहिलो कार्यकाल नौ महिना र दोस्रो कार्यकाल दश महिना खाए । 

२०७४ सालमा एमालेसँग मिलेर चुनाव लडेपछि एमालेसँग पार्टी एकता गरी नेकपा बनाए । तर २०७७ को पुस ५ गते जब तत्कालीन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष (हाल एमाले अध्यक्ष) केपी शर्मा ओलीले प्रचण्डको सल्लाह बिना नै संसद विघटन गरे तबदेखि प्रचण्डले ओलीलाई गाली नगरेको कुनै दिन पनि भएन । 

उनका लागि ओली जीवनको सबैभन्दा खराब र तुच्छ व्यक्ति ठहरिए । समग्रमा प्रचण्डका लागि ओली राजनीतिक अपराधी ठहरिए । तर अचम्मसँगै अहिले तिनै ओलीसँग सहकार्य गरेर प्रधानमन्त्री हुन पुगे । ओलीसँग कहिल्यै सहकार्य हुन नसक्ने र कांग्रेससहितको गठबन्धन वर्षौंसम्म चलिरहने प्रण गरेका प्रचण्डले क्षणभरमै गठबन्धन तोडे । 

त्यतिमात्र होइन उनीसँग लामो समय सहकार्य गर्नकै लागि एमाले पार्टी छाडेर छुट्टै पार्टी बनाउन पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि अलपत्र पारे । 

खैर ! नेपाली राजनीतिमा व्यक्तिगत स्वार्थ हावी भएको यो पछिल्लो उदाहरण हो । जे भयो भैसक्यो । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएका छन् । देशको गरिमामय पदमा तेस्रो पटक जिम्मेवारी सम्हालेपछि अब त प्रचण्ड स्थित हुन्छन् कि ! भन्ने अपेक्षा छ । 

उनको अस्थिर राजनीतिका कारण देशका मुद्दा ओझेलमा परेका छन् । ती मुद्दालाई फेरि मुर्धा बनाइन्छ कि ब्यूँताइन्छ भन्ने विषय अहम् छ । संविधानको पालना गर्ने हो भने उनी कम्तीमा दुई वर्ष सत्तामा रहन पाउँछन् । त्यतिन्जेल उनलाई अविश्वासको प्रस्ताव लगेर हटाउन पाइँदैन । 

प्रचण्ड कम्तीमा दुई वर्ष स्वतन्त्र रहेर काम गर्न सक्छन् । व्यक्तिगत स्वार्थ त्यागेर देशको विकास गर्ने एकमात्र इच्छा छ भनेर चुनावी भाषण गरेका प्रचण्डलाई त्यसको समय पनि यथेष्ट छ । अब साँच्चिकै देश बनाउने हो भने आफैँले रोजेको साढे दुई वर्षको अवधि निकै नै धेरै हो । 

अस्थिर राजनीतिले देश, पार्टी र व्यक्तिगत करियरमा धेरै नै उतारचढाव आयो । अब सच्चिने सही समय आएको छ । अस्थिरता त्यागेर स्थिर हुने यो मौका प्रचण्डको जीवनमा फेरि झुक्किएर पनि आउने छैन । स्थिरताको अपेक्षासहित शुभकामना !



नयाँ