arrow

सम्पादकीय

संसदमा नयाँ जोश र गगनको चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
parliament-house.jpg
तस्बिर – फाइल ।

मंसिर ४ गते भएको आमनिर्वाचनबाट निर्वाचित सांसदहरुले आज सामूहिक शपथग्रहण गर्दैछन् । संसदमा पहिलो पटक पाइला टेक्दै गरेका युवा सांसदहरुको जोश बेग्लै छ । जनताका आकांक्षा पूरा गर्ने कसम खाएर चुनाव जितेसँगै उनीहरु ठूलो अभिभारा लिएर संसदमा छिर्दैछन् । 

यसरी नयाँ अनुहार संसदमा छिरिरहँदा जिम्मेवारी निकै ठूलो हुनेछ । सडकमा चिच्याएजस्तै संसदमा आफ्नो गरिमा राखेर बोल्नु कम चुनौती पक्कै हैन । यसपालि अचम्मको संयोग छ । संसदमा उमेरको अन्तर निकै छ । जसरी धेरैभन्दा धेरै युवा छन् त्यसरी वृद्धवृद्धा पनि कम छैनन् । 

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीया सोबिता गौतमदेखि लिएर ८० वर्षीय राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसम्म रहेका छन् । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी २५ वर्षीया निशा डाँगीदेखि ८१ वर्ष लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरासम्म छन् । त्यसो त पटक पटक निर्वाचन लडे पनि पहिलो पटक सफलता हासिल गरेका राप्रपाका ७३ वर्षीय ध्रवबहादुर प्रधानसम्मले पनि संसद शोभायमान बनाएका छन् । सफलताका लागि प्रयास छाड्न नहुने उदाहरण उनैले दिएका छन् ।  

युवाको उल्लेख्य सहभागीताले परिवर्तन खोजेको स्पष्टै हुन्छ । परिवर्तन भनेको अनुहारमा हैन विचारमा हो । पुरानो प्रवृत्तिको अन्त्य हो । निरन्तरता हैन । यसका लागि परिवर्तनगामी नेतृत्व नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गर्न सक्छन् । 

थापाले बुधबारमात्रै पार्टीभित्र निरन्तरताको विरोध गर्दै संसदीय दलको नेतामा लडेर उदाहरण पेश गरेका छन् । ४६ वर्षे गगनले ७७ वर्षे पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा चुनाव लडेर नै निरन्तरता नभइ परिवर्तनको सन्देश दिएका हुन् । 

कांग्रेसको विधानमा संसदीय दलको नेतामात्रै प्रधानमन्त्री बन्न पाउने उल्लेख छ । चौथो पटक संसदमा जाँदै गरेका गगनले आफू प्रधानमन्त्रीको दावेदार भएको भन्दै संसदीय दलको निर्वाचन लडे । हुनत हरेक पार्टीले चुनावमा होमिनुअघि नै पार्टीका एजेन्डा र दलको नेता पहिले नै तोकेको हुन्छ । ताकि मतदाताले पनि त्यो नेता र एजेन्डा हेरेर मत दिन सकुन् । तर कांग्रेसले त्यसो गरेन । गगनले चुनाव लड्नुअघि नै आफू प्रधानमन्त्रीका लागि संसदीय दलको नेतामा लड्ने बताइसकेका थिए । 

उनले संसदीय दलको नेतामा भएको चुनाव हारे । कांग्रेसका ८९ सांसद रहेकामा गगनले २५ मत ल्याए । शेरबहादुर देउवाले ६४ मत ल्याएर छैटौं पटक प्रधानमन्त्रीका लागि योग्य भए । प्राविधिक रुपमा गगनले हारेको भए पनि युवाहरुका लागि उनले जितेका छन् । उनी उदाहरणीय बनेका छन् । 

आफू बाहेक कोही एकजनाको मात्र मत पाएको भए पनि गगन उदाहरणीय बनिसकेका हुन्थे । उनले त आफ्ना अतिरिक्त २४ मत पाएका छन् । त्यो मत भनेको निरन्तरताको विद्रोहको मत हो । 

अर्कातर्फ अन्य दलमा पनि युवा सांसदहरु छन् । उनीहरुले नेतृत्वलाई अभिभावकीय भूमिका खेलेर आफूहरुलाई अगाडि बढ्न दिनका लागि चुनौती पेश गरेनन् । नयाँ नेपालको निर्माण गर्ने हो भने युवाकै नेतृत्व आवश्यक छ । परीक्षण भइसकेका नेताहरुले केबल निरन्तरता मात्रै दिने हुन् भन्ने कुराको पाठ विगतले दिइसकेको छ । अब युवाहरुले उनीहरुलाई झक्झक्याएर अगाडि बढ्नु पर्नेछ ।  त्यो सन्देश सबैका लागि गगनले दिइसकेका छन् । संसदमा हुने संविधान विरोधी र स्वार्थनिहीत कुनै पनि एजेन्डालाई युवाहरुले सुझबुझका साथ रोक्नेछन् भन्ने आशा पनि उनले दिलाएका छन् । 

यस अर्थमा आजदेखि शपथ लिँदै गरेका तमाम युवा सांसदले आफ्नो गरिमा राख्न सकुन् । विगतमा संसदमा हुँदै आएका विकृतिबाट पाठ सिक्न सकुन् । अनुशासनमा रहेर मर्यादित बोली बोल्न सकुन् । संसदमा जनताको सच्चा प्रतिनिधि बन्न सकुन् । देशका साझा मुद्दामा यो पार्टी र त्यो पार्टी भनेर कम्तीमा युवाहरुले नभनी काँधमा काँध मिलाउन सक्ने हिम्मत राखुन् । सांसद पद जनसेवाका लागि दिइएको लाइसेन्समात्रै हो भन्ने बुझे पुग्छ । सफल कार्यकालको शुभकामना ! 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ