arrow

मधेस सहकार्यः जसपालाई विलाप, एमालेलाई लाभैलाभ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
oli-upendra-yadav.png

काठमाडौं । कुनैबेला मधेसमा पस्न नेकपा (एमाले) लाई मुश्किल थियो । खासगरी ६ वर्ष अघिको सप्तरीको मलेठ घटनाले मधेसमा एमालेको आधार गुमेको थियो, २०७४ को प्रतिनिधि सभामा एमालेले ल्याएको सिट संख्याबाट पनि यो पुष्टि हुन्छ । त्यतिबेला एमाले मधेस प्रदेशमा २ सिटमा मात्र विजयी भएको थियो । 

तर अहिले एमाले मधेसमा पसेको छ । प्रदेश सभातर्फ मधेसमा सबैभन्दा ठूलो दल बनेको छ । यसको कारण हो एमाले र जसपाबीच भएको सहकार्यबाट एमालेले हुनसम्म फाइदा लियो । 

अन्तिम समयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गरेको सहकार्यले यादवलाई मात्र नोक्सान पुर्‍याएन, सिंगो पार्टीलाई गम्भीर क्षति पुगेको छ । त्यसको विपरीत एमालेले मधेस प्रदेशमा जसपाबाट प्रचुर फाइदा उठाएको छ । 

यसपटक एमाले मधेस प्रदेशमा सबैभन्दा ठूलो दल या नेपाली कांग्रेसको हाराहारीमा पुग्ने अवस्थामा छ । मतगणना भइरहेको क्षेत्रमध्ये एक सिटमा नेपाली कांग्रेस एक सिटमा एमाले विजयी भयो भने मधेसमा दुवैको बराबरी सिट आउने छ । 

प्रतिनिधि सभामा मधेस प्रदेशबाट राजकुमार गुप्ता, अच्युत मैनाली, ज्वालाकुमारी साह, हरि उप्रेती, लक्ष्मी महतो, जुली महतो, रामशंकर यादव र लिलानाथ श्रेष्ठ विजयी भएका छन् । 

अहिलेसम्म एमालेले मधेस प्रदेशमा ८ सिटमा विजयी भइसकेको छ । प्रदेश सभामा त मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल बनिसकेको छ । 

अहिलेसम्मको परिणाम अनुसार मधेस प्रदेशमा एमालेले १२ सिट जितेको छ भने २ सिटमा अगाडि छ । जबकि मधेस प्रदेशमा जसपा ८ सिटमा विजयी भएको छ भने १ सिटमा अगाडि छ । मधेस प्रदेशमा अहिलेसम्म नेपाली कांग्रेस १२ सिटमा विजयी भएको छ भने १ सिटमा अगाडि छ । २०७४ को प्रदेश सभाको निर्वाचनमा मधेस प्रदेशमा एमाले प्रत्यक्षतर्फ ९ सिटमा मात्र विजयी भएको थियो । 

बाँके २ मा एमालेले राप्रपाका उम्मेदवार धवलशमशेर राणालाई सहयोग गर्यो, त्यहाँ जसपाका उम्मेदवार इस्तियाक राई पराजित भए । 

सुनसरी १ मा जसपाका दोश्रो नेता अशोक राइलाई एमालेले भित्री रूपमा सहयोग गरेन । 

मोरङ ५ मा जसपाले उम्मेदवारी दिएको सिटमा एमालेले स्वतन्त्र उठायो । त्यहाँ योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेका कार्यकर्ताहरुले योगेन्द्रलाई भोट दिएका थिए । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेसको मसिहा ठान्ने गर्थे  । उनको नेतृत्वमा मधेसमा दुई पटक ठूलो ठूलो आन्दोलन भएको थियो । त्यसैले यादवलाई मधेस आन्दोलनको हिरो भनेर जसपाका कार्यकर्ताहरुले भन्ने गर्थे । 

तर यसपटक यादवको यो दाबीलाई मधेसी जनताले विश्वास गरेनन् । खासगरी एमालेसँगको सहकार्यले यादवले आफूलाई मधेसको मसिहा भन्ने आधार बन्द भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली मधेसमा पस्न जसपाको सहयोग चाहन्थे । त्यसैले उनले शुरुमै जसपालाई सरकारमा ल्याए ।  र अहिले जसपासँग नै चुनावी सहकार्य गरे । तर जसपा ठूलो भाग पाउने लोभमा जित्ने सम्भावना भएको सिट पनि गुमाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ