arrow

घरजम हैन देश बनाउने हुटहुटीले तानिएकी कालीकोटकी शान भावना शाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
bhawana-shahi-kalikot-congress.jpg

कालिकोट । आउँदो आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा चार वटा मतपत्र हुन्छन् । जसमा दुई वटा मतपत्र (एउटा प्रतिनिधि सभा र अर्को प्रदेश सभा) मा प्रत्यक्ष चुनावमा उम्मेदवारी दिएका उम्मेदवारलाई मत दिनुपर्ने हुन्छ । 

बाँकी रहेका दुई वटा (प्रतिनिधि सभा र प्रदेश सभा) मा पार्टीलाई मत दिनुपर्ने हुन्छ । त्यही मतका आधारमा पार्टीले समानुपातिकबाट सांसद चुन्न पाउँछन् । समानुपातिकबाट सांसद बन्नु सिंगो पार्टीप्रतिको विश्वास र गरिमा हो । 

यो समानुपातिक मत पार्टीप्रतिको लोकप्रियता पनि हो । यही लोकप्रिय मतबाट सांसद बन्नका लागि कालिकोटकी नेपाली कांग्रेसकी नेतृ भावना शाही पनि प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवार रहेकी छिन् ।  

एक पार्टीले एक सय १० जना उम्मेदवार खडा गर्न पाउँछ । त्यसमा भावना पर्नुलाई सामान्य रुपमा लिन सकिएला । तर उनको कर्मले भने उनी अगाडि नै समानुपातिकबाट सांसद हुने निश्चित जस्तै छ । 

कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेकी उनी कालिकोटबाट पहिलो पटक समानुपातिकमा चुनिएकी नेतृ हुन् । पिछडिएको वर्गबाट पनि उनी अगाडि नै पर्छिन् । सम्भवतः उनलाई संघीय संसदले कुरिरहेको छ । 

यसपटक उनी समानुपातिकमा परेर एउटा रेकर्ड भएको छ । त्यो हो उनी कांग्रेसले यसपालि समानुपातिकमा उम्मेदवार बनाएकाहरुमा सबैभन्दा कान्छी हुन् । 

यसलाई उनी गौरवको रुपमा लिन्छिन् । 

खासमा उनी प्रत्यक्षमै लड्ने तयारीमा रहेकी थिइन् । तर पार्टीलाई योगदान गरेका सिनियर नेताहरु पनि रहेकाले उनले सिनियरहरुलाई सघाउनु पर्ने स्थिति आइपर्यो । 

उनी भन्छिन्, ‘यहाँ केबाट छानिने भन्दा पनि राजनीति गरेपछि आफ्नो क्षेत्रलाई कसरी विकसित गर्न सकिन्छ भन्ने हो । आफ्नो क्षेत्रका बासिन्दालाई कसरी सहज वातावरण बनाउन सकिन्छ भन्ने हो । त्यसमा म लागिरहेकी छु र लाग्ने नै छु ।’

उनको राजनीतिप्रतिको लगाव भने अचम्मको छ । राजनीतिशास्त्रमा स्नातक उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समन्वय गर्न सफल छिन् । 

उनको राजनीतिमा खटाइ पनि उत्तिकै छ । कालिकोटदेखि काठमाडौंसम्म पार्टीलाई परेका बेलामा तत्काल उपस्थित हुन्छिन् । जीवन नै पार्टीलाई समर्पण गरेको बताउने उनलाई घरजम हैन देश बनाउने हुटहुटीले तानेको छ । 

उनी भन्ने पनि गर्छिन्, ‘म सीमित चार खाँबा भएको घरलाई सीमित गर्न चाहन्न । मेरो घर नै देश हो । देश नै घर हो । युवालाई स्वदेशमै रोजगारी दिएर कर्णालीलाई विश्वमा चिनाउनु छ ।’ 

उनी २०४४ सालमा जन्मेकी हुन् । ३५ वर्षमा चलिरहेकी उनको राजनीतिक करियर धेरै नै बाँकी छ । तर भन्ने गर्छिन्, ‘युवाहरुले काम गर्ने अवसर पाए भने पो देश विकास छिटो गर्न सकिन्छ । पालो पर्खेर पनि कहीँ विकास हुन्छ र ?’

उनी आफू समानुपातिककी उम्मेदवार भए पनि चुप लागेर भने बसिनन् । उनी निरन्तर खटिइरहिन् । भन्छिन्, ‘म उम्मेदवार भएरमात्र त पुगेन नि । मेरो जिम्मेवारी भनेको त प्रत्यक्षमा उठेका गठबन्धनका उम्मेदवारलाई पनि जिताउन लाग्नु हो । मलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुछ ।’

उनी एक महिना भन्दा बढी समय त प्रत्यक्षबाट गठबन्धनलाई जिताउनका लागि दिन रात नभनी कर्णालीभर भोटमाग्दै हिँडिरहिन् । उनी आफूमात्र हिँडिनन् युवाहरुलाईसमेत समेटेर नेतृत्व गरिरहिन् । उनी साँच्चिकै कालिकोटको शान बनेर हिँडिरहेकी छिन् । 

उनले चुनावका क्रममा दिएका भाषणले युवालाई केही गरेर देखाउँछु भन्ने हुटहुटीसमेत पैदा गराउँछ । निडर स्वभावकी उनी युवाहरुलाई काँधमा काँध मिलाएर हिँड्नमात्र हैन समाजसेवामा लाग्न पनि प्रेरित गरिरहन्छिन् । साँच्चिकै उनलाई घरजम हैन देश बनाउने हुटहुटीले तानेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ