arrow

आफ्नै सरकार ढाल्ने जीवनलाई नसघाउने पक्षमा एमाले नेताहरु  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
jeevan-ghimire-pradesh1-uml.jpg


विराटनगर । प्रदेश १ मा साढे तीन वर्षसम्म एमालेका शेरधन राई नेतृत्वको सरकार गतिशील थियो । स्थायी सरकार संचालनका लागि एमालेको एकल बहुमत काफी थियो । तर आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्री पदबाट राजीनामा दिए ।

उनकै चलखेलका कारण अन्ततः राई नेतृत्वको सरकार ढल्यो । निकै ठूलो कार्यजिम्मेवारी र बजेटको नेतृत्व सम्हालेका घिमिरेकै कारण पहिलो कार्यकाल पूरा गरेको प्रदेश सरकारको वाहवाहीको साटो बद्नामी मात्र हुन पुगेको पाइएको छ । 

मोरङको निर्वाचन क्षेत्र नम्बर ४(ख) प्रदेश सभा सदस्य पदमा उठेका घिमिरे आफ्नै पार्टीविरुद्ध घात गर्ने विभिषणको रुपमा परिचित रहेको एमालेका एक जिल्ला नेताले बताए ।

“अहिले गरिएको प्रचार हेर्दा लाग्छ यो प्रदेशमा घिमिरेले जति कसैले केही काम गरेनछ,” ती नेताले भने, “पार्टीलाई गरेको घातका कारण अध्यक्ष केपी ओलीले टिकट नदिने अडान लिएर बस्नु भएको थियो तर ओली निवास दमक पुगेर रोइलो र रुवाबासी गरेर टिकट लिएर आएछन् । पार्टीकै सरकार ढाल्न घात गर्ने नेता अहिले सबैभन्दा ठूलो क्रान्तिकारी नेता बनेर हिंडेको देख्दा उदेक लागेर आउँछ ।” 

प्रदेश सरकारमा मन्त्री रहेका बेला सबैभन्दा बढी आलोचित बनेका घिमिरेले कोभिडका बेला कोसी कोभिड अस्पताल स्थापना गर्दा ‘बजेट ब्रेक ’ गरेर अनियमित तरिकाले स्वास्थ्य सामग्री र औषधि खरिद गराएका थिए । 

“चलखेल गरेको थाहा पाएपछि मुख्यमन्त्री शेरधन राईले कोसीलाई विनियोजन गरिएको पाँच करोड बजेट रोकिदिएका थिए,” सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने,“अहिले कोभिड अस्पतालमा कति बिरामी भर्ना भए, कति औषधि खरिद भयो अनि कति खर्च गरियो भन्ने केही तथ्यांक छैन ।”

घिमिरेले आपूर्ति केन्द्रमार्फत औषधि खरिद प्रकिया मिलाएर भ्रष्टाचार गरेको थाहा पाएरै मुख्यमन्त्री राईले उनलाई अविश्वास गरेको मुख्यमन्त्री कार्यालयमा त्यसबेल नै चर्चा चलेको थियो ।

घिमिरेले मुख्यमन्त्री कप फुटबल प्रतियोगिता मध्य असारबाट शुरु गरी साउन नलाग्दै सक्न निर्देशन दिएसँगै प्रतियोगिता नै विवादमा पर्यो । करोडौं बजेट पन्ध्र दिनमा सक्न आयोजना गरिएको प्रतियोगिताका कारण फुटबलका पुराना प्रशिक्षक र पदाधिकारी समेत विवादको घेरामा परेका थिए । 

यसको छानबिन गर्न लेखासमितले फायल, कागजात मगाएपछि फुटबल क्षेत्रका पुराना हस्ती बसन्त अर्याल र एन्फाका किशोर राई तनावमा परेका थिए । 

सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिह गन्गाईले भने, “मुख्यमन्त्री कप प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अति नै विवादित प्रतियोगिता बनेपछि हामीले छानबिन अघि बढाएका थियौं ।”

घिमिरेले आसेपासे राखेर बनाएको डेढ दर्जन कार्यदलको रिपोर्ट सामाजिक विकास मन्त्रालयमा कहाँ पुग्यो त्यसको लेखाजोखा समेत हुन सकेको छैन । विराटनगरमा आलेसान महल भएका घिमिरे त्यसलाई भाडा लगाएर सरकारी निवासमा बसेका थिए । भान्सेको तलबसमेत आधा बुझ्ने गरेको उनीमाथि आरोप थियो । “आवास र सहयोगी वापतको रकम हिनामिता गरेको” विषयमा घिमिरेले पछि प्रस्टीकरणसमेत दिएका थिए । 

ग्रामथान ज्येष्ठ नागरिक ग्रमको जग्गा स्थानीयले निःशुल्क दिने आह्वान गर्दा गर्र्दै मन्त्रीको इन्टरेस्टमै खरिद गराएर राज्यलाई भार बोकाउने काम भएको थियो । विद्यालय नर्स कार्यक्रममा योग्य उम्मेदवारलाई पाखा लगाएर मन्त्रीको चिनजान, आसेपासेलाई भर्ना गरिएको थियो । सम्बन्धित कर्मचारीले नियम बमोजिम कार्य गर्न खोज्दा जागिर खाईदिने धम्की समेत मन्त्रीले दिने गरेको बताइन्छ । 

राज्यमन्त्री जसमाया गजमेरलाई जिम्मेवारी विहीन बनाएपछि घिमिरे संसदीय दलमा समेत आलोचित भएका थिए । दुई मन्त्रीबीचको विवाद सतहमा आउन पुग्यो । नेकपा एमालेमा ओलीविरुद्ध समूहलाई गुटगत प्रहार गर्ने समूहको नेतृत्व गर्दथे । 

मन्त्रीको काम नगरेर सस्तो लोकप्रियताको लागि चर्पी अनुगमन र सरसफाई सामाजिक सञ्जालबाट देखाएको भए पनि त्यो अभियान अलपत्र मात्र नभई सर्वसाधारणले बिर्सिसकेका छन् । 

सूर्तिजन्य पदार्थको बिक्री वितरण तथा नियन्त्रणको ठोस योजना बिना करोडौं खर्च गरिएको थियो, योगालाई जनस्तरसम्म लग्ने भन्दै नातेदारको एनजीओमार्फत कार्यक्रम गर्दै मन्त्रालयमा ‘मेडम’ को तोक आदेशमा काम भएको मन्त्रालयका त्यसबेलाका कर्मचारीले बताउने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ