arrow

पार्टीका प्रमुखहरुको कस्तो छ चुनावी सम्भावना ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
party-presidents-election-2079.jpg

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा जितहारको जोडघटाउ शुरु भएको छ । दलहरुको समीकरण भइरहँदा मुख्य दलका प्रमुखहरुको अवस्थाबारे व्यग्र प्रतिक्षा भइरहेको छ । 

पार्टीका प्रमुखहरु कोही सेफ जोनमा छन् भने कोही यसै भन्न नसकिने अवस्थामा छन् । कोही परीक्षणकै घडीमा छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सेफ जोनमा देखिएका छन् । 

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सुरक्षित नै देखिन्छन् । 

यद्यपि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादवको यसै भन्न सक्ने अवस्था छैन । 

राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्ह लिएर मैदानमा उत्रिएकाले परीक्षणमै रहेको भन्न सकिन्छ । 

त्यस्तै नयाँ दल खोलेर तात्तातै चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि परीक्षणमै छन् । 

शेरबहादुर देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भाग्यले पनि निरन्तर साथ दिएको छ । संसदीय निर्वाचनमा सहभागी भए यता उनले कहिल्यै पराजय भोग्नु परेन । अझ ज्योतिषी समेतले ७ पटक प्रधानमन्त्री बन्ने योग छ भनेपछि थप उत्साही भएर यसपटको निर्वाचनमा सहभागी भैरहेका छन् । 

२०४८ सालदेखि अविजित रहेका देउवालाई स्वतन्त्र युवा उम्मेदवार सागर ढकालदेखि विगतमा देउवाकै कार्यकर्ता रहेका कर्णबहादुर मल्लले चुनौती दिए पनि त्यसको असर खासै देखिन्न । २०७४ सालमा वामपन्थी गठबन्धन बनाएर घेराबन्दी हुँदासमेत चुनाव जितेका देउवा माओवादीको साथ पाएका कारण चुनाव जित्नेमा ढुक्क छन् ।  

२०७४ सालको चुनावमा देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा माओवादीका खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए । यसपटक कांग्रेस र माओवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको विश्वास छ ।

स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेस पहिलो र माओवादी दोस्रो दल बनेका छन् । कांग्रेसले २१ हजार ७ सय ३५ र माओवादीले १२ हजार ८ सय ७८ मत पाउँदा एमालेले १० हजार ४ सय ४९ मत पाएको छ । 

नेकपा एसलेसमेत ५ हजार ४१ मत पाएको छ । प्रतिस्पर्धी भन्दा देउवा झण्डै ४ गुणाले अगाडि छन् । गठबन्धनको कुल भोट ३९ हजार ८ सय १० छ भने एमालेको १० हजार ४ सय मात्र छ ।

राप्रपाको ७ सय १४ भोटसमेत गर्दा विपक्ष गठबन्धनको ११ हजार १ सय ६३ को हाराहारीमा मात्र मत पुग्छ । यो अवस्थालाई हेर्दा उनी विजयका लागि सुरिक्षत अवस्थामा छन् । 
 
केपी शर्मा ओली
 एमाले अध्यक्ष केपी शर्मा ओली एक पटक फेरि प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका साथ निर्वाचनको मैदानमा छन् । मंसिर ४ गते हुने चुनावपछिको प्रधानमन्त्रीका रूपमा एमालेबाट अघि सारिएपछि एमाले अध्यक्ष ओलीको क्षेत्र झापा– ५ को चुनावी रौनक र माहोललाई देशभरबाट चर्चा र चासोका साथ हेरिएको छ ।
 
२०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीले हराएको बाहेक ओली झापाबाट विजयी हुँदै आएका छन् । राप्रपासँग चुनावी तालमेल गरेका ओली चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै ओली विजयी भएका थिए ।

ओलीले ७५ हजार १ सय ३९ मत पाउँदा कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए । विगतमा ओलीसँग एक्लै लडेका अधिकारीले यसपटक माओवादीको साथ पाएका छन् । 

२०६४ सालमा ओलीलाई पराजित गरेरका विश्वदीप लिङ्देन पनि अहिले कांग्रेसमा सक्रिय छन् । तर पनि ओली सुरक्षित अवस्थामा देखिएका छन् । गत स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मतलाई विश्लेषण गर्दा एमाले एक्लैको बहुमत छ ।

एमालेले ४१ हजार ६१९ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार २२ तथा  माओवादीले १० हजार ७८८ मत पाएका थिए । चौथो स्थानमा रहेको राप्रपाले ८ हजार ३५३ मत पाउँदा नेकपा एसले १ हजार ९८८ मत पाएका थिए ।
 
पुष्पकमल दाहाल प्रचण्ड 
औपचारिक रुपमा गठबन्धनको प्रधानमन्त्रीको दाबी नगरे पनि डा. बाबुराम भट्टराईले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेपछि सुरक्षित रुपमा निर्वाचन जित्ने अवस्थामा छन् । 

चितवनमा चुनाव हराउने षड्यन्त्रको सुइँको पाएपछि प्रचण्ड सुरक्षित स्थान खोज्दै अन्तिममा गोरखा– २ पुगेका थिए । डा. बाबुराम भट्टराईले चुनाव जितेको क्षेत्रमा प्रचण्डको प्रतिस्पर्धा नेकपा एमालेका नवप्रवेशी अब्दुस मियाँसँग हुँदैछ ।
 
२०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेसको समर्थनमा भट्टराई गोरखा– २ बाट निर्वाचित भएका थिए । बाबुरामले ३१ हजार ८ सय ७ भोट पाउँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोरखा– २ मा माओवादीले २२ हजार २५० मत पाउँदा कांग्रेसले २१ हजार १३६ मत पाएको थियो । एमालेको ७ हजार ९२६, बाबुरामको पार्टीको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ । 

गोरखा– २ मा गठबन्धनको भोट ५० हजार छ भने एमाले र राप्रपाको भोट जोड्दा झण्डै साढे ८ हजार हुन्छ । स्थानीय तह चुनावको मतलाई आधार मान्दा पनि प्रचण्ड सबैभन्दा सुरक्षित उम्मेदवार हुन् ।  
 
माधवकुमार नेपाल
१५ वर्ष एमाले हाँकेको र वामपन्थीहरुलाई एकता गरेर एमाले निर्माण गरेको अनुभवसहित नयाँ पार्टी खोलेका माधवकुमार नेपाल काठमाडौको क्षेत्र – २ छाडेर रौतहटको क्षेत्र – १ मा निर्वाचन लड्न पुगेका छन् । 

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा निर्णायक मानिएका नेपाललाई पनि भावी प्रधामनन्त्रीको रुपमा हेरिएको छ । तर उनको उम्मेदवारी सिट संख्या नै १९ भएकाले यसै भन्न सकिने अवस्था छैन । सत्ता गठबन्धनले हालै देशका विभिन्न ठाउँमा गरेको सभाका क्रममा देउवाले ‘अहिले पो म प्रधामनन्त्री छु, भोलि प्रचण्ड र माधवजी पनि हुनुहुन्छ’ भनेर अभिव्यक्ति दिएका थिए । उनको प्रधानमन्त्री हुने आधार देउवाको बोली मात्रै हो ।

यसअघि चुनाव जितेको काठमाडौं – २ छाडेर रौतहट – १ मा पुगेका नेपालसँग मुख्य प्रतिस्पर्धा विगतमा उनकै प्रतिस्पर्धी अजयकुमार गुप्तासँग हुँदैछ । स्थानीय तह निर्वाचनमा गठबन्धनले पाएको मतले माधव नेपाललाई सहज देखाउँछ । 

स्थानीय तह निर्वाचनमा दुई वटा पालिका जितेको एसले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २४१ र माओवादी ८ हजार १९१ मत पाएका छन् । 

माधव नेपालका प्रतिस्पर्धी एमालेको ७ हजार ३८५ मत छ । त्यस आधारलाई मान्ने हो उनी पनि सबैभन्दा सुरक्षित रुपमा निर्वाचन जित्ने नेतामा मध्ये एक हुनेछन् ।  

उपेन्द्र यादव
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीबाट मन्त्रीमा घटुवा भएका उपेन्द्र यादव  सरकार बनाउने बेला शेरबहादुर देउवासँग टाँसिएका थिए । अहिले उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँगै चुनावी तालमेल गर्न पुगे पनि उनलाई  सप्तरी– २ मधेश त्यति सहज देखिएको छैन । 

जसपा अध्यक्ष यादव लडेको निर्वाचन क्षेत्र सप्तरी– २ मधेश प्रदेशकै हट निर्वाचन क्षेत्र मध्येको एक भएकाले त्यहाँ सर्वत्र चासोको विषय बनेको छ ।

पृथकतावादी राजनीति त्यागेर मूलधारको राजनीतिमा आएका डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर पनि यही क्षेत्रमा उम्मेदवार छन् । उपेन्द्र, सीके र जेपीबीच यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाको आँकलन गरिएको छ । 

सत्ता गठबन्धनका तर्फबाट लोसपाका ठाकुर साझा उम्मेदवार छन् । ठाकुरलाई सत्ता गठबन्धनले साझा उम्मेदवार घोषणा गरेपछि यादवलाई झन अप्ठेरो परेको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीका उमेशकुमार यादवलाई पराजित गरेर यादव विजयी भएका थिए ।

स्थानीय तहको वडाहतको मतका आधारमा जसपा अगाडि छ । तर दोस्रो, तेस्रो र चौथो दल एक ठाउँमा उभिँदा उपेन्द्रलाई अप्ठ्यारो पर्ने अवस्था देखिएको छ । स्थानीय तह निर्वाचनमा सप्तरी– २ मा जसपाले १४ हजार ४०३, नेपाली कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५ र माओवादीले ९ हजार ५३४ मत पाएका थिए । साथै, नेकपा एमालेले ५ हजार ९५१, जनमत पार्टीले ४ हजार ५४२, नेकपा एसले २ हजार ४०८ मत प्राप्त गरेका छन् । 

स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपनि अध्यक्ष सीके राउतले उपेन्द्रले जितेको क्षेत्र नै रोजेका छन् । सीकेको जन्मथलो पनि यही क्षेत्रमा पर्छ । उपेन्द्रले निर्वाचन क्षेत्र फेरिराख्ने भएपनि आफू जन्मथलो नछाड्ने सीकेले बताएका छन् । २०६४ सालको संविधानसभादेखि लगातार चुनाव जित्दै आएका उपेन्द्रको अग्निपरीक्षाका कारण सप्तरी– २ चर्चाको शिखरमा छ ।

महन्थ ठाकुर
मधेश प्रदेशमा सम्मानित नेताको रुपमा परिचय बनाएका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरको चुनावी क्षेत्रलाई पनि महत्वका साथ हेरिएको छ । 

सत्ता गठबन्धनसँगको तालमेलमा महन्थ महोत्तरी– ३ बाट साझा उम्मेदवार बनेका कारण उनको चुनावी क्षेत्रको चर्चा बढी नै हुन थालेको हो । महन्थलाई टिकट दिएर आफूमाथि अन्याय गरिएको भन्दै नेकपा माओवादी केन्द्रका रामकुमार शर्माले पार्टी त्याग्नेसम्मको घोषणा गरे ।
 
प्रतिनिधिसभा विघटनको निर्णयमा एमाले अध्यक्ष केपी ओलीलाई साथ दिएका महन्थ एमालेसँग चुनावी तालमेल गर्ने प्रयास गरेपनि अन्तिममा सत्ता गठबन्धनको शरणमा पुगेका थिए । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार विजयकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै महन्थ विजयी भएका थिए । स्थानीय तह निर्वाचनको मत विश्लेषणको आधारमा महोत्तरी– ३ मा लोसपाभन्दा जसपा अगाडी छ ।

जसपाले १४ हजार ३५७ मत पाउँदा लोसपाले १२ हजार ७३५ मत पाएको थियो । नेकपा एमालेले १० हजार ८२० मत पाउँदा कांग्रेसले ९ हजार ४३, माओवादीले ५ हजार १९५ र एसले २ हजार ५७० मत पाएका थिए । सत्ता गठबन्धनका कारण सो क्षेत्रमा महन्थलाई सहज हुने अवस्था छ ।

राजेन्द्र लिङ्देन
प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने तयारीको विरोधमा सांसद पद त्याग गरेर हिँडेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुँदैछ । 

विगतमा जस्तो यसपटक लिङदेनलाई सहज नभएका कारण झापा– ३ को चुनावी भिडन्तलाई रोचक ढंगले हेरिएको छ ।

राजनीतिका चतुर खेलाडी कमल थापालाई राप्रपा अध्यक्षमा पराजित गरेर लिङ्देन चर्चामा आएका थिए । २०७४ सालको प्रतिनिधि सभामा पूर्वपञ्चको पार्टी राप्रपाको तर्फबाट बिउ जोगाएका लिङ्देन यसपटक पनि नेकपा एमालेको समर्थनमा संसदमा आउने योजना बनाए पनि उनलाई सहज देखिएको छैन । 

एमालेका डम्बर गिरीले बागी हालेपछि लिङदेनका लागि असजिलो भएको हो । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं समेतले ताकेको झापा– ३ मा रवि लामिछानेको पार्टीबाट प्रकाश पाठक पनि उम्मेदवार बनेपछि झन् लिङदेन अप्ठेरोमा छन् । 

२०७४ सालको चुनावमा एमाले समेतको समर्थनमा लिङ्देनले ४४ हजार ६ सय १६ मत प्राप्त गर्दा सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरेका थिए । 

सत्ता गठबन्धनका सीटको बाँडफाड मिलाउने जिम्मा पाएका सिटौलालाई यसपटक माओवादीका पूर्णसिंह राजवंशीको साथ छ । उनी सिटौलाकै प्यानलबाट प्रदेशसभामा उम्मेदवार छन् । 

२०६४ सालको संविधानसभा निर्वाचनमा बहालवाला गृहमन्त्री सिटौलालाई पराजित गरेर राजवंशी चर्चामा आएका थिए । स्थानीय तह निर्वाचनको वडागत मतको आधारमा झापा– ३ मा कांग्रेसले २५ हजार ९४९ प्राप्त गर्दा दोस्रो स्थानमा रहेको राप्रपाले २१ हजार १५९ मत पाएको थियो । तेस्रो स्थानमा रहेको एमालेले २१ हजार ८५ मत पाउँदा माओवादीले ६ हजार ६८८ मत प्राप्त गरेको थियो । तर स्थानीय निर्वाचनको मतमा एमालेको मत विभाजन हुने अवस्थाले लिङ्देनलाई असजिलो भएको छ ।

चित्रबहादुर केसी 
बागलुङ क्षेत्र नम्बर १ मा २०७४ सालको निर्वाचनका सहयात्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका सूर्यप्रसाद पाठक नै मैदानमा उत्रिएका छन् ।

८० वर्षीय केसीका मुख्य प्रतिस्पर्धीका रुपमा ४६ वर्षका पाठक हुन् । गएको चुनाव जितेका पाठक युवा पुस्तामा प्रिय नेताका रुपमा परिचित भए पनि गठबन्धनले गर्दा पाठकलाई असजिलो हुने अवस्था छ । 

बाग्लुङ क्षेत्र नम्बर १ मा चार वटा स्थानीय तहका ३७ वडा छन् । जसमध्ये गएको स्थानीय तहको चुनावमा गठबन्धनले २९ वडा जितेको थियो भने आठ वडामा मात्रै एमालेका उम्मेदवार विजयी भएका थिए । 

गठबन्धनले ३१ हजार ६ सय ३७ मत पाएको थियो भने नेकपा एमाले २२ हजार ३७६ मत पाएको थियो । 

यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २ सय ६१ मतले अगाडि देखिन्छ । 

अहिलेको अवस्थामा गठबन्धन भएको कारण केसीलाई सहज हुने अवस्था छ । 

कमल थापा 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनले राप्रपा नेपालको आफ्नै नभइ नेकपा एमालेको सूर्य चिन्ह लिएर उनी मकवानपुरको पुरानो क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
 
नेकपा एमालेको सहयोगमा उनी संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । थापा यसअघि २०४८ सालदेखि अहिलेसम्म उनले लडेका चुनावमा पाँच पटक एमालेकै उम्मेदवारसँग पराजित भएका थिए । २०५१ सालको चुनाव जितेका थापा २०७० मा भने समानुपातिकबाट आएका थिए । त्यसबाहेकका सबै चुनावमा उनी एमालेसँग हारे । 

उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । थापा तत्कालीन समयमा नेकपा एमालेका उम्मेदवार कृष्ण  दाहालसँग पराजित भएका थिए । अहिले एमालेसँगको सहकार्यमा निर्वाचनमा सहभागी भएका छन् । उनको जित्ने आशा बढी छ । 

तर गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उम्मेदवार भएकाले थापाको सुनिश्चितता कठिन नै छ । अर्कातर्फ एमालेभित्र पनि निरन्तर जितिरहेको क्षेत्र छोड्नु पर्दा विद्रोह भएको बुझिन्छ । 

त्यसो त कुनै बेलाका थापाका सहयात्री तथा राप्रपाका नेता दीपकबहादुर सिंह पनि यसै क्षेत्रबाट चुनाव लडिरहेकाले थापालाई कठिन नै देखिएको छ । 

एउटा पार्टीको अध्यक्ष अर्को पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार लडेपछि उनको पार्टीभित्रै पनि आलोचना भइरहेको छ । यसको प्रमुख कारण हो उनले चुनाव जितिहाले भने पनि संसदमा एमालेकै ह्वीप लाग्छ । 

रवि लामिछाने 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न चितवन झरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ मा पुगेपछि त्यस क्षेत्रको प्रतिस्पर्धा रोचक बनेको छ ।  

प्रचण्ड चितवन – ३ बाट गोरखा सरेसँगै रविले पनि हठात चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका थिए । रविले टेलिभिजन कार्यक्रममार्फत पछिल्लो समय चर्चा बटुलेका कारण उनी राजनीतिमा होमिएका छन् । 

जसले गर्दा उनको चर्चासँगै चितवन २ मा चुनावी माहोल फरक भएको छ ।  स्थापित दल र पुराना नेताप्रति आक्रोश व्यक्त गर्ने समूहलाई समेटेर उनले देशका अधिकांश ठाउँमा उम्मेदवारी दिएका छन् । 

रविले कुनै साइनो नरहेको चितवन– २ किन रोजे भन्ने कुराको जवाफ नभए पनि विक्रम पाण्डेलाई ३ मा सहयोग गर्ने गरी उनी २ मा झरेका थिए । रविसँगै कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बनेका कारण पनि यो क्षेत्र चर्चामा छ । 

नेकपा एमालेका कृष्णभक्त पोखरेलले चुनाव जित्दै आएको क्षेत्रमा आएका दुई उम्मेदवारलाई एमालेले ‘टुरिस्ट’ को संज्ञा दिएको छ । गत स्थानीय चुनावको वडातहको मतका आधारमा चितवन– २ मा एमाले अगाडि छ । 

एमालेले ३५ हजार ५४३ मत पाउँदा कांग्रेसले २४ हजार ५३१, माओवादीले ७ हजार ३७४ तथा नेकपा एसले ३ हजार ५६९ मत पाएका थिए । स्थानीय तहको निर्वाचनलाई हेर्दा एमाले अघि रहेको छ ।

पहिलो पटक राजनीतिमा होमिएका लामिछाने र प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका उमेश श्रेष्ठको अग्निपरीक्षा चलिरहेको छ । पोखरेललाई भने आफ्नो विरासत गुम्ने चिन्ता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ