arrow

उपेन्द्रलाई मानसिक दबाब, यस्तो छ त्रिपक्षीय भिडन्त

logo
विनय कर्ण,
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
upendra-yadav-ck-raut-jayprakash-thakur.jpg

सप्तरी । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर २ मा त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । यहाँबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत संगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । दुईजना राष्ट्रिय अध्यक्ष सप्तरी २ बाटै उम्मेदवारी दिएपछि सबैको चासो बढेको हो ।

२०७४ को चुनावमा यादव यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने राउतले पहिलो चोटी निर्वाचनमा भाग लिएका छन् । जसपा अध्यक्ष यादवले गएको ५ वर्षमा गरेको विकासलाई मुख्य आधार बनाएर जनता माझ उत्रिएका छन् भने राउतले किसान आन्दोलनको मुद्दालाई अगाडि सारेका छन् । 

यता सत्ता गठबन्धनका उम्मेदवार ठाकुर पनि प्रतिस्पर्धामा बलियो नै देखिएका छन् ।

उपेन्द्रलाई चुनौती
तीनै उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भए पनि ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनको आधारमा उपेन्द्रलाई यसपालि जित निकाल्न सजिलो भने छैन । ३० बैशाखमा भएको स्थानीय चुनावको मत परिणामलाई आधार मान्ने हो भने एमाले–जसपा गठबन्धनबाट उम्मेदवार भएका यादवलाई चुनाव जित्न कठिन हुने देखिन्छ । 

स्थानीय तहको चुनावमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सप्तरी २ मा सत्ता गठबन्धन १२ हजार बढी मतले अगाडि छ ।

सत्ता गठबन्धनमा रहेका दलका वडाध्यक्षहरुले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतमा कांग्रेसको वडाध्यक्षका उम्मेदवारहरुले १० हजार ८ सय ७ मत, लोसपाका वडाध्यक्षका उम्मेदवारहरुले १० हजार ४ सय ३५ मत, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले ९ हजार ५ सय ३४ र एकीकृत समाजवादीका उम्मेदवारहरुले  २ हजार ४ सय ८ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत एक ठाउँमा राख्दा ३३ हजार १ सय ८४ मत हुन आउँछ ।

यसैगरी स्थानीय तहकै निर्वाचनमा जसपाका वडाध्यक्षहरुले प्राप्त गरेको मत १४ हजार ४ सय ३ मत रहेको छ भने एमालेका वडाध्यक्षका उम्मेदवारहरुले  ५ हजार ९ सय ५१ मत प्राप्त गरेका थिए । 

यसरी दुवै दलको मत एक ठाउँमा राखेर हेर्ने हो भने २० हजार ३ सय ५४ मत हुन आउँछ । यस आधारमा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धन मत १२ हजार भन्दा बढी मतले अगाडि छ ।

स्थानीय तहको चुनावमा दुवै गठबन्धनका वडाध्यक्षहरुले प्राप्त गरेको मतमा सत्ता गठबन्धनले पाएको मत ३३ हजार १ सय ८४ रहेको छ भने एमाले–जसपा गठबन्धनले प्राप्त गरेको मत २० हजार ३ सय ५४ रहेको छ । र, यसको आधारमा उपेन्द्रलाई चुनाव जित्न कठिन देखिएको हो । 

एकातिर २०७४ को मधेश आन्दोलनदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेस र मधेसीको मुख्य शत्रुको रुपमा प्रस्तुत गर्दै आएका यादवले ओलीसँग गठबन्धन गर्दा उनको पार्टीभित्रै पनि कार्यकर्ता असन्तुष्ट छन् भने ६ वर्षअघि भएको मलेठ घटनापछि एमालेसँग झनै सम्बन्ध बिगारेको जसपाले उसैसँग गठबन्धन गर्नुले आम जनतामा पनि असन्तुष्टि बढेर गएको हो । 

अहिले सप्तरीमा एमालेसँग गठबन्धन किन ? सत्ता गठबन्धनमा कुरा नमिले जसपा एक्लै चुनावमा जानु पथ्र्यो जस्ता कुरा चौतर्फी चर्चाको विषय बनेको छ ।

विगतको चुनाव
२०७४ को चुनावमा उपेन्द्र यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसको समर्थनमा सप्तरी २ बाट उम्मेदवार भएका थिए । 

उनी २१ हजार ६२० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए भने राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले भने ९ हजार ४५८ मत ल्याएका थिए । 

यसपालि ठाकुर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका छन् भने उमेश क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट ठाकुरसँगै उम्मेदवार बनेका छन् । 

विगतको हिसावले हेर्दा २०७४ को चुनावमा उपेन्द्रविरुद्ध चुनाव लडेका दुई प्रतिस्पर्धी यसपालिको चुनावमा सत्ता गठबन्धनका कारण एकै ठाउँमा छन् । यसले पनि जसपा अध्यक्ष यादवलाई चुनौती थपिएको स्थानीयहरु बताउँछन् । 

राउतको एजेण्डा
जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कारण उपेन्द्र, सीके र जयप्रकाश ठाकुरबीच यहाँ त्रिकोणात्मक रोमाञ्चक प्रतिस्पर्धा हुनेमा दुईमत छैन ।

यसै निर्वाचन क्षेत्रको महदेवा गाउँपालिका वार्ड नम्बर २ घर भएको राउत पहिलो पटक आम निर्वाचनमा उम्मेदवार भएकाले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा प्रस्तुत गरेका छन् । 

उनी जनमत पार्टीले पछिल्लो पटक गरेको किसान आन्दोलनलाई चुनावको प्रमुख एजेण्डा बनाएर जनता माझ उत्रेका हुन् ।

राउतले एमालेसँग गठबन्धन गरेका कारण जसपाभित्र देखिएको असन्तुष्टि, नागरिकता विधेयक र जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा भएका भ्रष्टाचारका मुद्दालाई मुख्य चुनावी मुद्दा बनाएर जनताको घरदैलोमा पुग्ने छन् ।

मानसिक दबाब
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६ साल यता अहिलेसम्म एउटै व्यक्तिले दुई पटक कसैले पनि चुनाव नजितेको इतिहास छ । 

यसले पनि उपेन्द्रमाथि मानसिक दबाब बनाएको हुन सक्छ । २०५६ को निर्वाचनमा तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए । 

सिंहलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार रामकुमार चौधरी निर्वाचित भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ