arrow

कर्णालीको चुनावः १२ संघीय सांसदका लागि ८५ को भिडन्त, को कहाँबाट ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
election-2079-final1.jpg
तस्बिर – फाइल ।

कर्णाली । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी सरगर्मी बढिरहेको छ । निर्वाचनमा जीत हात पार्न गठबन्धन दलसहित देशका प्रमुख पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । यो पटक कर्णालीमा मङ्गोल नेशनल अर्गनाइजेशन, नेश्नलिष्ट पिपल्स र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन जिल्लामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
 
विगतमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ११ जना सांसद यो चुनावमा पनि दोहोरिएका छन् । दोहोरिनेमा सुर्खेत क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र नेकपा एमालेबाट ध्रुवबहादुर शाही, सुर्खेत क्षेत्र नं २ मा नेपाली कांग्रेसकै हृदयराम थानी, सल्यानमा नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला, रुकुमपश्चिम र जाजरकोटमा नेकपा माओवादी केन्द्रबाट क्रमशः जनार्दन शर्मा र शक्ति बस्नेत छन् । 

त्यस्तै, दैलेख क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा, नेकपा एमालेका रवीन्द्रराज शर्मा र दैलखे क्षेत्र नं २ मा एमालेकै लक्ष्मीप्रसाद पोखरेल, कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र डोल्पा समाजवादीका उम्मेदवार धनबहादुर बुढा रहेका छन् ।  

उनीहरुमध्ये यसअघि कसैले संविधानसभा त केहीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जितिसकेका छन् । निर्वाचन आयोगका अनुसार आसन्न मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र नं १ मा एक स्वतन्त्रसहित नौ र क्षेत्र नं २ मा नौ गरी १८ जनाको उम्मेदवारी परेको छ । 

त्यस्तै दैलेख १ नं क्षेत्रमा तीन स्वतन्त्रसहित नौ र २ नं क्षेत्रमा पाँच गरी जम्मा १४ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा छ ।  निर्वाचन क्षेत्र नं १ मात्र भएका आठ जिल्लामा सल्यान र रुकुमपश्चिममा तीन–तीन स्वतन्त्रसहित आठ÷आठ जना, जाजरकोटमा एक स्वतन्त्रसहित छ जना, कालीकोटमा तीन स्वतन्त्रसहित नौ, जुम्लामा एक स्वतन्त्रसहित पाँच, मुगुमा दुई स्वतन्त्रसहित पाँच, हुम्लामा तीन स्वतन्त्रसहित छ र दुई स्वतन्त्रसहित डोल्पामा छ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको सूचीमा छ । गठबन्धनसहित अन्य प्रमुख दलबाट स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या कर्णालीमा २२ पुगेको छ ।

यो चुनावमा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले त कतै राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । कर्णालीको दैलेख क्षेत्र नं १ र जुम्लामा राप्रपा अन्य दलसँग प्रतिस्पर्धीका रुपमा देखिएको छ । 

सुर्खेत १ नं क्षेत्रमा गठबन्धन दलका साझा उम्मेदवार पूर्णबहादुर खड्का र नेकपा एमालेका ध्रुवबहादुर शाहीबीच प्रतिस्पर्धा हुँदैछ । सुर्खेत क्षेत्र नं २ मा पनि गठबन्धन दलका साझा उम्मेदवार हृदयराम थानी र नेकपा एमालेका अमृतबहादुर बिसीबीच नै प्रतिस्पर्धा हुनेछ । विसं २०७० को संविधानसभा निर्वाचित कांग्रेस नेता थानी पूर्वमन्त्री हुन् ।

दैलेख क्षेत्र नं १ मा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्षसमेत रहेका अम्मरबहादुर थापा र नेकपा एमालेका रवीन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुनेछ । दैलेख क्षेत्र नं १ बाट राप्रपाका कुन्ती शाही पनि चुनावी प्रतिस्पर्धामा उभिएका छन् । त्यस्तै क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नेता दिक्पाल शाही र नेकपा एमालेका नेता लक्ष्मी पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

सल्यानबाट एकीकृत समाजवादीका प्रकाश बुढाथोकी ‘ज्वाला’ले गठबन्धनबाट उम्मेदवारी दिएका छन् । यसअघि प्रदेशसभा सदस्य रहेका ज्वाला यो चुनावमा भने सङ्घीय सांसद पदको चुनावका लागि मैदानमा होमिनुभएको छ । ज्वालाको प्रतिस्पर्धीको रुपमा एमालेका राजेन्द्रवीर राय उम्मेदवार छन् ।
 
जाजरकोटमा सत्ता गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेत र नेकपा एमालेका नेता निरज आचार्यबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय राजनीतिका हिसाबले नेता बस्नेत यसअघि स्वास्थ्य तथा जनसङ्ख्या, गृह तथा वनमन्त्री भइसकेका छन् । 

रुकुमपश्चिममा भने नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । उनी अर्थमन्त्री हुन् । शर्मासँग नेकपा एमालेका नेता नन्दराम देवकोटा मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा होमिएका छन् । 

कालीकोटमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही रहेका छन् । शाही विसं २०७४ को चुनावपछि कर्णाली प्रदेशको मुख्यमन्त्री र त्यसअघि सङ्घीय मन्त्री थिए । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता नगिन्द्र शाही हुन् । 

त्यस्तै जुम्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्र महिला नेत्री गोमा कुँवर, नेकपा एमालेका नेता रतननाथ योगी र राप्रपाका नेता ज्ञानेन्द्र शाहीबीच प्रतिस्पर्धा हुनेछ । 

नेपाल मजदुर किसान पार्टीका नेता डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा उत्रिएका छन् । नेता काफ्लेले विसं २०७० मा नेमकिपाको समानुपातिक सभासद् भएर संविधानसभामा भाग लिइसकेका छन् । 

जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका डा कलबहादुर रोकायले चुनाव नलड्ने जनाइसकेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्यसमेत रहेका उनले उम्मेदवारी नझिके पनि प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिएका छन् । 

सत्ता गठबन्धनले मुगुमा साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीलाई उठाएको छ । यहाँ पनि शाही र एमालेका उम्मेदवार राजबहादुर कार्कीबीच नै चुनावी प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिभसा सदस्यका लागि डोल्पाबाट गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा र नेकपा एमालेका गणेशबहादुर शाही प्रतिस्पर्धामा छन् ।   

हुम्लामा पनि गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धा भइरहेको छ । गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा कार्चेन र एमालेका दल रावल चुनावी मैदानमा छन् । लामा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र रावल सामाजिक विकासमन्त्री भइसकेका छन् । 

कर्णालीका स्वतन्त्र उम्मेदवार 

कर्णाली प्रदेशका १० जिल्ला गरेर प्रतिनिधिसभा सदस्यका लागि १२ वटा निर्वाचन क्षेत्र छन् । बाह्र सिट मात्र भएको प्रतिनिधिसभा सदस्य पदका लागि २२ जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ ।
    
स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सल्यानबाट राजेन्द्रबहादुर शाह, डिल्लीबहादुर बुढाथोकी र जुद्धबहादुर सिंह रहेका छन् । डोल्पाबाट बद्मीक्वारी बोहोरा र वीरबहादुर रोकाय, मुगुबाट भीमचन्द्र हमाल र कृष्णबहादुर सेजुवालको स्वतन्त्र उम्मेदवारी परेको छ । 

त्यस्तै जुम्लाबाट डा कलबहादुर रोकाय, कालीकोटबाट काशीचन्द्र बराल, धनप्रसाद पाण्डे र लक्षु चौलागाईं, जाजरकोटबाट नरबहादुर कार्की, दैलेख क्षेत्र नं १ बाट गणेशबहादुर शाही, गोपाल नेपाली र निरबहादुर थापा तथा सुर्खेत क्षेत्र नं १ बाट मानसिंह ठकुरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यता रुकुमपश्चिमबाट राजन पाण्डे, तारक केसी र लालबहादुर महतको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिएकामध्ये जुम्लाका रोकायले यस अघि नै सत्ता गठबन्धनलाई सघाउने प्रेस विज्ञप्तिमार्फत जानकारी गरासक्नुभएको छ भने रुकुमपश्चिमका तीनै स्वतन्त्र उम्मेदवारले गठबन्धनलाई नै समर्थन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

निर्वाचन आयोगको सार्वजनिक तथ्याङ्कअनुसार हाल कर्णालीका १० जिल्ला गरेर १० लाख ८५ हजार चार सय तीन मतदाता छन् । यसमध्ये डोल्पामा २२ हजार चार सय ४०, हुम्लामा ३२ हजार आठ सय ५७, मुगुमा ३४ हजार नौ सय ६२, जुम्लामा ६८ हजार तीन सय ४४ र कालीकोटमा ७२ हजार ८० मतदाता छन् ।

त्यस्तै रुकुमपश्चिममा ९२ हजार तीन सय ४७, जाजरकोटमा एक लाख तीन हजार तीन सय ६३, सल्यानमा एक लाख ५७ हजार सात सय एक, दैलेखमा एक लाख ४८ हजार छ सय ७६ र सुर्खेतमा दुई लाख ४३ हजार छ सय १४ जना मतदाता रहेका आयोगको तथ्याङ्कमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ