arrow

यस वर्षको दधिराज पुरस्कार सनत र अनन्तलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
sanat-regmi-ananta-raj-neupanei.jpg

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार रुपैयाँ राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०७९’ नेपाली भाषा साहित्यको क्षेत्रमा छ दशक भन्दा बढी दिएको योगदानका लागि बाँकेका वरिष्ठ कथाकार सनत रेग्मीलाई दिने निर्णय गरेको छ । 

त्यसैगरी २५ हजार रुपैयाँ राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९’ पत्रकारिताको क्षेत्रमा तीन दशकभन्दा बढी विशेष योगदान दिएका मोरङका वरिष्ठ  पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जनाएका छन् । 

यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्राडा गोविन्दराज भट्टराई , प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला र प्रा चुडामणि बन्धुलाई र त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भुषण दाहाललाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ । 

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी मंसिरमा समारोहको आयोजना गरी समर्पण गरिने महासचिव कान्छोले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ