arrow

पुनहिलमा पर्यटकको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
Poon hill.jpg

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुन थालेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल शुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दशैं र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् । 

विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि अहिले हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको संख्यामा वृद्धि हुन थालेको होटल व्यवसायीले बताएका छन् ।

विश्व प्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिए । 

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा  पुनहिल रहेको छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । 

असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखै अगाडि देखिने हिमशृंखलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका वडा नं. ५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताए । 

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले जानकारी दिए । 

पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ। “दशैँसँगै प्रतिदिन तीन सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेका छन्”, प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताए ।

घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । अन्नपूर्ण फन्को मार्न र दशैँतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ