राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
रासस,
प्रकाशित २०७९ असोज ३० आइतबार
1.9k
Shares
फाइल तस्बिर
काठमाडौँ। सर्वोच्च अदालतले रुपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
न्यायाधीश विश्वेश्वरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतले गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेशमा भनिएको छ भने मुद्दामा आगामी कात्तिक २ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
रुपन्देही–२ मा निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गरेका थिए।
गुरुङ विरुद्ध बैङ्किङ कसुरमा दोषी ठहर भएको उल्लेख गर्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले खारेज गर्ने निर्णय गरेको थियो।