arrow

प्रतिगमन विरुद्ध, शान्ति, विकास र परिवर्तनका लागि गठबन्धका उम्मेद्वारलाई जिताउनुपर्नेमा जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
kapilvastu.jpg

कपिलवस्तु । सत्ता गठबन्धनका उम्मेदवारहरुले प्रतिगमन विरुद्ध, शान्ति, विकास र परिवर्तनका लागि गठबन्धका उम्मेद्वारलाई जिताउनुपर्नेमा जोड दिएका छन् । 

वाम-लोकतान्त्रिक उम्मेदवारहरुले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी देशलाई बचाउनका लागि भएपनि गठवन्धनका उम्मेदवारले जित्न आवश्यक रहेको स्पष्ट पारे । 

क्षेत्र नं. १ का नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि खनाल वलदेवले दुई तिहाइको दम्भ भएका केपी वली सरकार संविधान विपरीत दुई पटकसम्म सविधान विघटन गर्ने, सत्ताको दुरुपयोग र भष्टचार गरेकै कारण उनको सत्ता गुम्न पुगेको स्पष्ट पारे । खनालले संविधानको रक्षा गर्दै विकासका लागि स्थापित सत्ता साझेदार दलका उम्मेदवारलाई जनताले जिताउने विश्वास व्यक्त गरे ।

क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले नागरिकता समस्या समाधान र अन्य देशहरुसंग समन्वय गरि रोजगारी व्यवस्थापनका लागि गठबन्धनले जित्नुपर्नेमा जोड दिए । नेता आचार्यले कपिलवस्तुका तिलौराकोट लगायत विभिन्न पर्यटकीय स्थलहरुको सरक्षंण, प्रवर्द्धन र प्रचार-प्रसारका साथै कृषि र सिचाइँको व्यवस्था गरि स्वरोजगारका लागि आफूले पहल गर्ने स्पष्ट पारे । 

क्षेत्र नं. ३ का कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहले युवाहरुलाई स्वरोजगार बनाउन र मुलुकलाई विकासको गतिमा अगाडि बढाउन गठबन्धनले नै जित्ने दावी गरे । उनले एमाले र केपी ओलीले गरेका झुटा उखान टुक्का जनताले बुझिसकेकाले जनताले सत्ता गठवन्धनलाई विश्वास गर्ने दावी गरे । 

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका सहशराम यादवले जनता समाजवादी पार्टीले नागरिकता, समानुपातिक व्यवस्था, लोकतन्त्र र गणतन्त्र जस्ता मुद्धा छाडेर एमालेसंग घाँटी जोड्न पुगेकाले आफू जनताका मुद्धा साकार पार्नका लागि नेपाली कांग्रेसमा प्रवेश गरी मधेश प्रदेशसभामा उम्मेदवारी दिएको बताए । उनले निर्वाचन क्षेत्र नं. १ (ख) बाट उम्मेदवारी दिएका छन् । 

क्षेत्र नं. १ (क) का उम्मेद्वार डोलकराम घिमिरले समग्र जिल्लाको विकास र उद्योग-व्यापार जस्ता क्षेत्रमा लगानी गरि स्वरोजगार सिर्जना गर्न आफू चनावी मैदानमा होमिएको बताए । 

क्षेत्र नं. २ (क) का उम्मेदवार विक्रम सिंह थापाले दिगो शान्ति र सामाजिक सद्भावका लागि आफूले विगतदेखिनै काम गर्दै आएको भन्दै यसलाई थप मजबुद कायम गरि समतामूलक समाज निर्माण गर्न आफूले उम्मेदवारी दिएको स्पष्ट पारे । 

क्षेत्र नं. २ (ख) का उम्मेदवार शुधाकर पाण्डेयले मधेशको नागरिकता समस्या र नेपाल भारत सीमा क्षेत्रमा रहेका जनताका समस्या समाधान गर्न आफ्नो उम्मेदवारी भएको बताए । 

गठवन्धनका निर्वाचन परिचालन समिति संयोजक अतहर कमालले पार्टीको विभिन्न तह र तप्काबाट पार्टी निर्देशन अनुसार काम गरि आधिकारीक उम्मेदारलाई  जिताउन सबै लाग्नु पर्ने बताए । स्थिर सरकार, नयाँ अवसर र विकासका लागि गठवन्धनका उम्मेदवार विजयी भई मुलुकमा विकासको गति आउने  उनको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ