तनहुँ । डेंगी सङ्क्रमणको जोखिम बढेपछि तनहुँका स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । डेंगी नियन्त्रणका लागि गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित आँबुखैरेनी गाउँपालिकाले ‘खोज र नष्ट गर’ अभियान शुरु गरेको हो ।
नेपालका विभिन्न ठाउँमा डेंगीको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान शुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
डेंगीको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरेको हो ।
डेंगीका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको र विभिन्नस्तरमा डेंगी नियन्त्रणका उपायका बारेमा विशेषज्ञसँग नियमित बैठक गरिएको उपाध्यायले बताए ।
“डेंगी लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उपाध्यायले भने, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।”
यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिनेछ ।
आँबुखैरेनी गाउँपालिकामा हालसम्म डेंगीबाट कोही पनि सङ्क्रमित नभए पनि बच्नका लागि पूर्वतयारी अपनाउन आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । “गाउँपालिकाभित्र डेंगी सङ्क्रमित भएको आधिकारिक तथ्याङ्क छैन, जोखिम बढ्दै गएकाले सचेतना अपनाउन आवश्यक छ”, उनले भने ।
यसैबीच देशभर फैलिरहेको डेंगीको प्रकोप तनहुँमा पनि बढेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगीको जोखिम यहाँ पनि पनि बढेको हो । डेंगीको सङ्क्रमणपश्चात् जिल्लास्थित अस्पतालमा भर्ना भएर उपचार गराउनेको संख्या बढ्दो छ ।
शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गरिएकामध्ये ७८ जनामा डेंगी पुष्टि भएको छ । भदौमा दुई सय १८ जनाको डेंगी परीक्षण गरिएकामा एक सय ४० जनामा भने सङ्क्रमण पुष्टि भएन ।
डेंगी पुष्टि भएकामध्ये २७ बिरामी अस्पतालमा भर्ना भएर उपचार गराएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबै बिरामी उपचारपश्चात् घर फर्किएका छन् ।
“डेंगीसँग सङ्क्रमण मिल्दोजुल्दो बिरामी दैनिकरुपमा आउने गरेका छन्”, उनले भने, “परीक्षण गर्दा पुष्टि भएका र जोखिम भएकालाई भर्ना गरेर उपचार गर्छौ ।” उहाँका अनुसार हाल अस्पतालमा डेंगीका बिरामी भर्ना भएर उपचाररत छैनन् ।
अस्पतालले किटमार्फत डेंगीको परीक्षण गरेको र किट पर्याप्तमात्रामा रहेको डा श्रेष्ठले बताए । “डेंगीको परीक्षण गर्दा बीमा गरेकाको हकमा निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ”, डा श्रेष्ठले भने ।
सदरमुकामस्थित दमौली अस्पतालमा भने डेंगीको बिरामी नरहेको जनाइएको छ । अस्पतालका डा राजु रानाले डेंगी पुष्टि भएर अस्पतालमै भर्ना गरेर बसेका बिरामी नरहेको बताए । “डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी दैनिकरुपमा आउने गरे पनि डेंगी नै पुष्टि भएको छैन”, उनले भने ।
स्वास्थ्य कार्यालय तनहुँले डेंगीको जिल्लाभरको यकीन तथ्याङ्क नरहेको जनाएको छ । कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थासँग डेंगीका बिरामी भएको भए तथ्याङ्क पठाउन अनुरोध गरिएको जानकारी दिए ।
लामखुट्टेको टोकाइबाट डेंगी हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताए । डेंगीको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेंगी ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेंगी ज्वरोको प्रकोप बढ्न थाल्दछ ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीको लक्षण हुन् ।
चिकित्सकका अनुसार डेंगीबाट जोगिनका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।