arrow

झान्सुले नेताहरुको कानमा भरेको एउटामात्र साझा विषय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
li-vidya-deuba-agni-ganesh-oli-prachanda.jpg

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि झान्सु उच्चस्तरीय राजनीतिक भेटघाटमा सकेर बिहीबार स्वदेश फर्केका छन् । चार दिने नेपाल बसाइको क्रममा उनले राजनीतिक तहका उच्च अधिकारीलाई चीनको  चासो र चिन्ताबारे प्रकट गरे ।
 
लि सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिवसीय औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरे । त्यतिमात्र  होइन उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरेर चीन फर्किए । 

यसपल्ट चिनियाँ अधिकारीहरुले नेपालसँग दुई वटा विषयहरुमा मात्रै सरोकार राखेको पाइन्छ । चिनियाँ टोलीले दुईपक्षीय सम्बन्ध मात्र नभएर नेपालको बहुपक्षीय सम्बन्धबारे पहिलो चासो राखेको थियो । 

त्यस्तै प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूसँगको भेटका क्रममा लिले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतामा कमी आउन नहुने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको दुरुपयोग हुन नहुने आशय व्यक्त गरेको थियो । यी दुई वटा चासोमा स्पष्ट रुपमा चिनियाँ पक्षको लगानी रहेको बीआरआई र अमेरिकी पक्षको एमसीसीमै गएर ठोक्किएको थियो । 

प्रधानमन्त्री देउवासँग भएको भेटमा लिले नेपालको भूमि प्रयोग गरी चीनको राष्ट्रिय स्वार्थविरुद्ध गतिविधि हुन सक्नेतर्फ चासो व्यक्त गरेका थिए । उनले एमसीसीको दुरूपयोग हुन सक्नेतर्फ पनि चासो व्यक्त गरेको थिए । ‘एमसीसी कार्यान्वयनमा आइसकेको अवस्थामा त्यसको दुरूपयोग हुन सक्नेतर्फ चीनको चासो थियो,’ स्रोतले भन्यो ।  

बीआरआईको सम्बन्धमा पनि चिनियाँहरुले कडा रुपले चासो राखेका थिए । एमसीसी कार्यान्वयन हुने अवस्था आउँदा पनि बीआरआईको बारेमा सरकारले प्रकृया नै अघि बढाउन नसक्नुको कारणसमेत मागिएको थियो । 

अमेरिकी राज्य साझेदार कार्यक्रम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको विषयमा भने चिनियाँ पक्षले धन्यवाद दिए पनि बीआरआईको बारेमा समान धारणा र चासो थियो । चिनियाँ पक्षले नेपालमा अमेरिकालगायत देशको चासो र स्वार्थबारे पनि चासो राखेको थियो । 

प्रधानमन्त्रीसँगको भेटमा लिले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता र अडानको सराहनासमेत गरेका थिए । भेटमा दुईपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, शैक्षिक मामिला, हवाइ सेवालाई पुनः निरन्तरता, सीमानाका सञ्चालनलगायतका विषयमा छलफल भएको थियो । 

नेपालले सीमानाका बन्द भएको विषय उठाएपछि चिनियाँ पक्षले तिब्बतमा कोरोना महामारी नियन्त्रण भएलगत्तै पुनः सञ्चालन गर्ने र मालबाहक कन्टेनर आवतजावतलाई सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

 ‘यो विषयलाई उनीहरुले बीआरआईसँग जोडेको आभाष हुन्छ’, स्रोतले भन्यो,  ‘नाका चालु हुन केही ढिलाइ भएको विषयमा उनीहरु सचेत देखिन्छन् । यद्यपि बीआरआईको प्रकृया अघि नबढ्दासम्म घच्याकघुच्चुक हुने अवस्था देखिन्छ ।’
 
चिनियाँ जनकंग्रेसका अध्यक्ष लिले नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डसँगको भेटमा पनि नेपाली भूमिबाट हुनसक्ने चीनविरोधी गतिविधिबारे चासो राखेका थिए । 

ओलीसहितका नेताहरूसँगको भेटमा लिले नेपालबाट चीनलाई अप्ठेरो नहोस् भन्ने धारणा व्यक्त गरेको थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा पनि लिले नेपाली भूभागबाट चीन विरोधी गतिवधि नहोस् भनेका थिए । 

प्रचण्डले नेपालबाट चीन विरोधी गतिवधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । लिले बिहान राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र परराष्ट्रमन्त्री खड्कासँग भेट गरेका थिए । दुवै भेटमा दुईपक्षीय हित बारेमा कुराकानी भएको भनिए पनि चिनियाँ टोलीले दुईपक्षीय सम्बन्ध मात्र नभएर नेपालको बहुपक्षीय सम्बन्धबारे बढी चासो राखेको भेटघाटमा संलग्न एक अधिकारीले बताए । 

पछिल्ला ६ महिनाको अवधिमा चिनियाँ जनकंग्रेस प्रमुख लीसहित चीनबाट तीन उच्चस्तरीय भ्रमण भएका छन् । ती भ्रमणका क्रममा चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । 

विशेषगरी नेपालको संसद्बाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि चीन थप सशंकित देखिन्छ । वर्तमान सरकार बनेपछि हुम्लामा सीमा विवादको कुरा, संसद्बाट एमसीसी अनुमोदन तथा नेपाल भ्रमणमा आएका उच्च अमेरिकी अधिकारीले तिब्बती क्याम्पमा भ्रमण गरेको विषयले चीन नेपालप्रति विश्वस्त हुन सकिरहेको छैन ।

झान्सुले राष्ट्रपतिदेखि नेताहरुसम्मको कानमा विशेषगरी एउटैमात्र विषयलाई साझा गरेका छन् । त्यो हो एमसीसी । एमसीसीलाई लिएर नै चीन सशंकित देखिन्छ । त्यसैले पनि चीनको आफ्नो मनशान्ति गर्नका लागि झान्सुले भूमिका खेलेर गएको स्पष्ट हुन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ