arrow

केन्द्रमा नेताहरुका घरमा भीड, उम्मेदवारका लागि भक्तिगान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
netaka-gharma-karyakarta-election-2079-parliament.jpg

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । त्यसअघि आगामी असोज २ र ३ गते दुवै सभाका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । 

अब केही दिनमात्र बाँकी रहँदा समानुपातिकमा सिफारिस भएका जिल्लाजिल्लाका नेताहरु केन्द्रमा आएका छन् । काठमाडौं उपत्यकामा रहेका शीर्ष दलका शीर्ष नेताहरुका घर तथा सम्पर्क कार्यालयहरुमा भीड बाक्लिएको छ । 

बिहानदेखि रातिसम्मै जिल्लाबाट आएका नेताहरुको भीडले केन्द्रीय नेताहरुलाई सकस भइरहेको छ । 

निर्वाचन आयोगको कार्यक्रमअनुसार दलहरुले २–३ असोजमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ । 

४ देखि ९ गतेसम्म उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन दलहरुलाई सूचित गर्न समय तोकिएको छ । अर्थात् दलहरुले उम्मेदवारको बन्द सूची संशोधन गरी पेश गर्न असोज १० देखि १६गतेसम्मको अवधि निर्धारण गरिएको छ । 

यो आयोगको कानूनी प्रक्रियालाई यहीँ थाँती राखेर उम्मेदवारहरुको बारेमा चर्चा गर्ने हो भने अहिले हरेक दलले हरेक क्षेत्रका लागि समानुपातिक उम्मेदवारको सिफारिस गरेका छन् । 

जसमा हरेक क्षेत्रबाट एक जनामात्र नभइ १० देखि १५ जनासम्मको नाम परेको छ । निर्वाचन क्षेत्र तहबाट सिफारिस भएर आएका नामहरुलाई केन्द्रले अन्तिम रुप दिँदैछ । 

आफ्नो नाम एक नम्बरमा पार्नका लागि अहिले गाउँगाउँबाट नेताहरु शहर पसेका छन् । उनीहरुमात्र छैनन् उनीहरुले नेताका घरमा जानका लागि गाउँबाट गाडीमा राखेर केही कार्यकर्ता पनि उठाएका छन् । उनीहरुका शहरमा भएका आफन्त पनि उनीहरुको पछि लागेर आएका छन् । 

अर्थात् अहिले काठमाडौं उपत्यकामा जिल्ला नेताहरुको भीड जम्मा भएको छ । जति बढी भीड जम्मा गरेर शीर्ष नेताहरुका घरमा पुग्न सकियो त्यति नै नेताहरुले विश्वास गरेर आफूलाई एक नम्बरमा सिफारिस गरेर समानुपातिक उम्मेदवार बनाउने विश्वासमा नेताहरु साम, दाम, दण्ड, भेदको नीति अपनाइरहेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलामात्र होइन महामन्त्री गगन थापाको घरमा झनै ठूलो भीड देखिएको छ । 

यो कांग्रेसका नेताहरुका घरमा मात्र हैन प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटसहितका एमाले नेताहरुसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वर निवासदेखि अन्य नेताहरुका घरमा नेता तथा कार्यकर्ताको भीड देखिएको छ । 

यतिबेलासम्म निर्वाचन आयोग केबल रमिते बनिरहेको छ । समानुपातिककका लागि लोकसेवा आयोगको जस्तो कुनै सूत्र छैन । ‘मन परेको फूल ओइलाए पनि रसिलो’ भनेझैं आफूले चाहेको व्यक्ति जस्तोसुकै भए पनि उसलाई प्राथमिकतामा राख्ने नेताहरुको बानी यद्यपि छ । अहिले उपत्यकामा देखिएको भीड केबल त्यसको नमूना मात्र हो । 

कम्तीमा प्रदेशको टुङ्गो प्रदेशले नै लगाउन सकेको भए सुदूरपश्चिमबाट नेताहरुले पोका पुन्तुरा बोकेर काठमाडौं धाउनु पर्ने थिएन । समानुपातिक उम्मेदवार बन्नुअघि नै उनीहरुको लाखौं रुपैयाँ खर्च भइसक्छ । 

आफू ठाँटबाँटले बसेरमात्र भएन नेता कार्यकर्तालाई पनि होटलमा व्यवस्थासहित राख्नुपर्दा उनीहरुको खर्चको पारो बढिसकेको हुन्छ । यसलाई रोक्नेतर्फ आयोगले कुनै निश्चित सूत्र लगाएको पाइँदैन । 

यो भीड एक दुईदिन मात्र देखिने पनि होइन । निर्वाचन आयोगले पुनः सच्याएर दिन गरेको दिनसम्मै देखिने छ । आफू अग्रस्थानमा रहनका लागि सिफारिस भएका नेताहरुले शीर्ष नेताहरुलाई रिझाउने गतिविधि पनि उत्तिकै बढी छ । 

इमानपूर्वक गरिने राजनीतिले पो जनताको सेवा होला । जब ब्यापार व्यवसायका लागिजस्तै लगानी गरेपछि त्यसको प्रतिफल पाउन पनि अर्को भ्रष्टाचारको ठूलो दलदलमा नेताहरु फस्ने निश्चित छ । 

यहाँ न आयोग बोल्छ । न त नेताहरु नै बोल्छन् । चुनावलाई खर्चिलो र भड्किलो बनाउने अनेक बहानामध्ये यो पनि प्रमुखतामा परेको छ । 

अहिले जसको शक्ति छ उसकै भक्तिका लागि नेताहरु शीर्ष नेताहरुका घरघरमा धाइरहेका छन् । 


 

300375855_1033245247355498_58032534059422733_n.jpg
नेताहरुको भक्तिगान
300429614_5298746050222014_2916161424688198028_n.jpg
300748451_461574009171744_5396603224192902477_n.jpg
301121543_5376483549139529_6719291553787174282_n.jpg
306105670_1252783778813467_3241411265648147785_n.jpg
306293405_758124745298142_5248228223147154054_n.jpg
306372092_1030239394313150_8381836984925328160_n.jpg
306535474_1034124683924907_5194871166749807480_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ