arrow

यसरी पनि हुँदोरहेछ दुर्व्यवहार !

logo
अनु पोखरेल,
प्रकाशित २०७९ भदौ १८ शनिबार
anu pokharel.jpg

स्नातक तह पहिलो वर्ष पहिलो दिन बिहानै ५ बजे नै कलेजको लागि तयार हुँदै थिएँ । मलाई सबैभन्दा बढी मन पर्ने सुन्तला रङ्गको कुर्तामा आफूलाई निकै आकर्षक देखिरहेकी थिएँ । 

हतार हतारमा गाजल लगाउँदै आफैसँग भनेँ, ‘कसैको नजर लाग्यो भने ?’ अनि मुस्कुराउँदै कलेजको लागि निस्किएँ । एक्लै ५ः३० को मिर्मिरे उज्यालोमा साँघुरो गल्लीहरू हुँदै हिँडिरहेकी थिएँ । 

यत्तिकैमा पछाडिबाट कसैको आवाज आयो । रोकिएर पछाडि फर्किएँ । करिब २ फुटको दूरीमा आएपछि देखियो कतै देखेको तर चिन्न नसकिएको करिब ४४–४५ वर्षको जस्तो देखिने एउटा अनुहार । 

नजिकै आएर परिचितसँग झैँ कुरा शुरु गरे –‘नानी कलेज जान लागेको ?’ मैले सहमति जनाउँदै भनेँ –‘हजुर !’ 

कुन कलेज पढ्छौ नि ?  

यही ग्रामीण नै हो ।

ए नानीको घर त नुवाकोट नै हैन र ?

हजुर हो चिन्नु हुन्छ र हजुरले ?

देखें देखें जस्तै लागेउ र सोधेको । नुवाकोटको कुन ठाउँ नि ? 

यस्तै यस्तै ठेगाना पढाई घर परिवारसँग सम्बन्धित प्रश्न सोधिसकेपछि उनले भने – तिम्रो बाबा मामुलाई राम्रोसँग चिन्छ । आफ्नै मान्छे रैछौ तिमी त । केही सहयोग चाहियो भने भन है । 

म मुस्कुराएँ मात्र ।

गल्ली हुँदै मुख्य सडकमा आइपुगेर बाटो काट्न लाग्दा उनले च्याप्प मेरो हात समाते । 

म झसङ्ग भएँ  । यस्तो लाग्यो कि मानाँै मेरो सबै इन्द्रियले काम गर्न छोडे । 

बाटो काटिसक्दा पनि उनले हात छोडेनन् । मैले छुट्याउने प्रयास गर्दा पनि छुटेन । लाग्यो मैले नराम्रो सोचेर उनलाई केही भन्दा मेरो बाबा मामुलाई नै नराम्रो हुने हो कि ? 

अझै साहस गरेर उनले भने – ‘कलेज जानै पर्ने हो र ? कतै चिया खान जाउँ न । एकछिन बसेरै कुरा गरौं ।’

अब प्रतिकार गर्नै पर्ने समय आयो भन्ने सोचेर भने हैन अंकल ६ बजे कलेज पुग्न छ । अनि अगाडि साथी पर्खिरा’को छ । 

एउटा हात त उनले छोडेकै थिएनन् अर्को हातले मोबाइल निकालेँ र कन्ट्याक्टमा कसैको नम्बर खोज्न थालँे । 

खोज्दा खोज्दै एउटा १२ पढ्दाको केटा साथीको नम्बर भेटेँ र उनकै अगाडि नम्बर डायल गरँे । अन्तिम घण्टीमा फोन उठ्यो हेल्लो ! 

मैले हतासमा भने कता आइपुगिस् ?   

अनि मोबाइलको भोल्युम कम गरेँ । 

ऊ सायद निन्द्रामा थियो । के के बर्बराउँदै थियो । फोन राखेर भनेँ  अंकल साथीले यही अगाडि पर्खिरहेको छ रे । सायद साथीसँग लगाएको पुरुषवाचक क्रियापद सुनेर होला उनले हात छोड्दै भने –बेलुकातिर भेटेर चिया खाउँ न त नम्बर दिइराख ।

उनको यो कुराबाट पन्छिन मैले भनेँ हजुरको नम्बर दिइराख्नुस् । भरे बाबालाई पनि लिएर आउँछु । उनको अनुहारमा परिवर्तन देखियो । तर स्थिति सहज बनाउन उनले नम्बर दिए । 

मैले नम्बर सेभ गरेँ – ब्याड अंकल । आफ्नो बुबाको उमेरको उनकै साथीले आफूलाई दुव्र्यवहार गर्न खोज्छ भन्ने कसरी स्वीकार गर्न सकिन्छ । 

के एउटा पुरुषको लागि आफ्नो आमा छोरी दिदीबहिनीको इज्जत मात्र महत्वपूर्ण हो ?
 
त्यसपछि आफ्नै वरिपरिको पुरुषसँग पनि शंका लाग्छ ।

के मेरो दाजुभाइ जसलाई म आफ्नो रक्षक सम्झिन्छु के उनीहरूले अरूको दिदीबहिनिलाई राम्रै नजरले हेर्छन् त ? 

के मेरो साथी जसलाई म आफ्नो सुख दुःख बाँड्छु के उसले मलाई सधै राम्रै नजरले हेर्छ त ? 

के आफ्नो छोरीचेलीको इज्जतलाई माया गर्नेहरुले अरूको छोरीलाई पनि सम्मानपूर्वक हेर्छन् त ? 

अनि के बलात्कृत भएर हत्या भएमात्र त्यसलाई दुर्व्यवहारमा गनिने हो त ? 

कसैको मानसिकतामा असर पर्ने गरी गरिने क्रियाकलाप दुर्व्यवहारमा पर्छ कि पर्दैन ?



नयाँ