बागमतीका मुख्यमन्त्रीले भने- युवालाई ५० हजार कमाउने बनाउँछौँ
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
921
Shares
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक रु ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताएका छन् ।
बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उनले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रम राखेको जानकारी दिए ।
उनले उच्च प्रविधिको मेसिन सञ्चालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको प्रष्ट्याए ।
अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उनको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उनको भनाइ छ । कच्चा पदार्थ टाढाबाट ढुवानी गरेर उत्पादन गर्दा लागत मूल्य बढ्ने मुख्यमन्त्री पाण्डेले जनाए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले औद्योगिक क्षेत्र, करको दायरा, ऊर्जा, नापतौल सबै सङ्घीय सरकारको मातहतमा नै हुनुले प्रदेश सरकारले अधिकार नपाएको बताए । प्रदेश सरकारले छोटो समयमा उपलब्धिमूलक काम गर्नुपर्ने र सोही दिशामा आफूहरु लागेको उनको भनाइ थियो ।