भारत र बेलाइतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौँ चरणको वार्ता
एजेन्सी,
प्रकाशित २०७९ साउन ३१ मंगलबार
1.9k
Shares
नयाँ दिल्ली। भारत र बेलाइतले गत महिना भारत-बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौँ चरणको वार्ता सम्पन्न गरेको छ। वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सो बारे जानकारी दिँदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू सम्पन्न गरेको बताएको छ।
भारतको नयाँ दिल्लीमा केही वार्ताकारहरू प्रत्यक्ष र अधिकांश वार्ताकारहरू भर्चुअल रूपमा वार्तामा सहभागी भएका थिए। यस चरणको वार्ताका लागि दुवै पक्षबाट जम्मा ८५ सत्रमा विभिन्न १५ क्षेत्रमा छलफल भएको थियो।
भारतीय र बेलाइती अधिकारीहरूले सन् २०२२ अक्टोबरको अन्त्यसम्ममा व्यापक र सन्तुलित स्वतन्त्र व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याउने लक्ष्य तय गरेका छन्।
भारत र बेलाइतले यस वर्ष जनवरीमा स्वतन्त्र व्यापार सम्झौताका निम्ति वार्ता सुरु गरेका थिए। दुवै देशले द्विपक्षीय व्यवसायहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्न खोजिरहेका छन्। गत महिना वाणिज्य सचिव बीभीआर सुब्रह्मण्यमले भारत र बेलाइत बीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) वार्ता अगस्टको अन्त्यमा पूरा हुने सम्भावना रहेको बताएका थिए।
बेलाइतसँग दुई वटा एमओयु र फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सुब्रह्मण्यमले भारत-बेलाइत एफटीए वार्ता अगस्ट ३१ सम्ममा टुङ्गिने र दुवै पक्षको आन्तरिक स्वीकृतिपछि सम्झौतामा हस्ताक्षर गर्न तयार हुने बताएका थिए।
प्रस्तावित एफटीएमा बेलाइतमा सरकार परिवर्तनको प्रभावको बारेमा सुब्रह्मण्यमले बेलायतमा सत्तामा जुनसुकै दल आए पनि भारतसँगको एफटीए परिवर्तन नहुने बताएका छन्।